काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना शीर्ष पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
बिहीबार उपकुलपति प्रा. डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका हुन् । शिक्षाध्यक्ष केसीका अनुसार उनीहरूले सरकारको आह्वानअनुसार सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।
सरकारले यसअघि राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने तयारी गरिरहेको सन्दर्भमा त्रिविका पदाधिकारीहरूको राजीनामा आएको हो ।
उपकुलपति प्रा. डा. अर्याल २०८२ असार २५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयअनुसार नियुक्त भएका थिए । त्यसअघि उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएपछि अर्याललाई नियुक्त गरिएको थियो ।
त्यस्तै, शिक्षाध्यक्ष प्रा. डा. केसी र रजिस्ट्रार प्रा. डा. रिजाल २०८० चैत ३० गते नियुक्त भएका थिए । उनीहरू तत्कालीन उपकुलपति बरालको सिफारिसमा तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने प्रावधान छ ।