काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ। आज हुने खेल साँझ ५:३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। फिफा विन्डो अन्तर्गत आयोजना हुने दुई मैत्रीपूर्ण खेलमध्ये आज पहिलो खेल हुनेछ भने दोस्रो खेल भदौ २३ गते (सेप्टेम्बर ९) हुनेछ।
नेपालको सिनियर टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा प्रतिस्पर्धात्मक खेल खेल्न लागेको हो। टोलीका कप्तान किरण चेम्जोङले लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। मुख्य प्रशिक्षक म्याट रसले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने लक्ष्य रहेको बताएका छन्। “बंगलादेश बलियो टोली हो। प्रतिस्पर्धात्मक खेल हुनेछ,” उनले भने।
यता, बंगलादेश टोलीका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल भ्रमणअघि टोलीले राम्रो तयारी गरिसकेको र खेलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्। कप्तान जमाल भुयाले पनि मैत्रीपूर्ण खेल एसियन कप छनोटका लागि उपयोगी हुने बताएका छन्।
एन्फाका अनुसार दुवै खेलपछि समग्र नतिजाको आधारमा विजेता घोषणा गरिनेछ। यदि खेलहरूबाट स्पष्ट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लगाइनेछ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।