काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको अग्रणी शैक्षिक संस्था ब्राइट फ्यूचर माध्यमिक विद्यालयले आयोजना गरेको एसइई कप फुटसल प्रतियोगिता विल्सन एकेडेमीले जितेको छ भने दोस्रो उपाधी रिब्स स्कुलले प्राप्त गरेको छ ।
कुल ८ ओटा समूहले भाग लिएको पाचौं फुटसल प्रतियोगितामा गतवर्षको एसइई परिक्षा सकाएर बसेका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा निष्पक्ष खेल टोलीतर्फ जेसिज ईन्टरनेशनल स्कुलले उत्कृष्टता हासिल गरेको छ ।
ब्राइट फ्युचर स्कुलले दिएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुनेले ३५ हजार रूपैयाँ नगद तथा कक्षा ११ को अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछ भने दोस्रो हुनेले २० हजार रूपैयाँ नगद र कक्षा ११ मा अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ ।
त्यस्तै, व्यक्तिगत विधामा उत्कृष्ट ठरिनेले जनही बीस हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेलकुदको माध्यमबाट छात्रवृत्तिको अवसर प्रदान गर्नेगरि आयोजना गरिएको फुटसल प्रतियोगिता आफैमा ब्राइट फ्युचर स्कुलको शैक्षिक क्षेत्रप्रतिको नवीन चिन्तन र प्रयत्न मानिएको छ ।
५ औं ब्राइट फ्युचर फुटसल कपको समापन कार्यक्रमको सभापतित्व स्कुलका अध्यक्ष मोहन कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी रहेका थिए ।