विज्ञापन
No data was found

'स्नेहिल आवृतिको मुस्कान '

हात्तिसबर्ग !

विज्ञापन

एउटा सुन्दर नगर ! मिसिसिपी राज्यको । हाम्री स्नेही नातिनी आवृतिको अध्ययनस्थल !

विज्ञापन

मिसिसिपी विश्वविद्यालयको सुन्दर ज्ञानकुण्ड !

बिहान झिसमिसेमै स्नेही नातिनी आवृत्ति भेट्ने सुरमा हामी घरबाट निस्क्यौँ ।

२६ अप्रेल २०२४ (१४बैशाख २०८१)को बिहान ५.१५ बजे घाम पोतिइसकेको थिएन लास लोमास सडकमा । पूर्वमा लालिमा पोतिँदै थियो । वातावरण खुलिसकेको थिएन ।

झिसमिसेमै नाति निभेद र पुत्रबधु सुमित्राले बिदाइको हात हल्लाए । सन्चो भएको भए उनीहरु पनि यात्रामा लम्किने थिए । दुवैलाई सन्चो नभएकोले हामीलाई पनि केही असहज त भैरहेकै थियो । तर पूर्व निर्धारित यात्रा भएकोले सौजनले पनि नाइनास्ती गरेन ।

सौजनले कार हुइँकायो हामीलाई लिएर । पुत्र कर्तव्य निर्वाह गरिरहेको थियो ऊ ।

डेनटनको कार्मेल भिलेजको लस लोमास लेनमा अवस्थित ५५२८ नं.को निजी आवास छो्ड्यौँ । घुम्दैफिर्दै कार डालस लेक, डालस डाउनटाउन आदि सहरबस्ती छिचोल्दै अघि बढ्यो ।

सौजनले आफ्नै सुरमा कार हाँकिरहेथ्यो मज्जाले । कार कहिले पूर्वदक्षिण (आग्नेयकोण), कहिले पूर्वउत्तर (ईशानकोण) हुँदै सिधै पूर्वतिर लाग्दै थियो । पूर्वतिर लाग्नु भनेको सूर्यसँग जोरी खेल्नु हो । तर हामीले खासै जोरी खेल्नुपरेन ।

भर्खर घाम पोतिन खोज्दै थियो सहर बस्तीमा । पूर्वतिर लालिमाको चहक देखिँदै थियो । नेपालमा भएको भए यतिबेला पश्चिमतिर लालिमामय साँझ झरिसकेको हुन्थ्यो । साँझ बिहानको फेरोमा अल्झिरहेको थिएँ म !

ट्वाल्ल आँखैमा झुल्कियो घाम ! सौजनलाई असहज भए छ क्या र ! कारको घाम छेक्ने स्क्रिन तल झा¥यो । पश्चिमबाट पूर्वतिर जानुपर्दा बिहानको घामको किरण आँखामै ठिकिन्छ ट्वाल्ल १ आँखै तिर्मिराएपछि अनि कसरी निर्विघ्न हाँक्न सकोस् कार । तर त्यस्तो हुन पाएन धेरैबेर । बादलसँगको लुकामारीमै अल्झियो घाम । भनौँ घाम चर्को लाग्नै सकेन । पानी पनि परेन । हाइ सन्चो भयो ।

फराकिला र चिल्ला सडक सञ्जाल रहरलाग्दा थिए । सडकहरू एकपछि अर्को जेलिए झैँ लाग्थे, तर कार प्रतिघण्टा साठी सत्तरी माइलको गतिमा हुइँकिरहेथ्यो, कुदाइरहेथ्यो सौजन । कतै रोकटोक थिएन, कतै बाधाअडचन थिएन ।

म सडक र सडक वरपरको वैभवतालाई नियाल्दै थिएँ । विशाल देशको विशाल सडक सञ्जाल अनुभूत गरिरहेँको थिएँ म !

सौजनले कार हाँक्दै भन्यो, “ड्याडी ! यहाँको सडक सञ्जाल बुझी नसक्नु जस्तो गन्जागोल लाग्छ, तर सबै व्यवस्थित छन् । चिन्ता गर्नै पर्दैन गन्तव्यमा सजिलै पुगिन्छ ।”

“अनि कसरी छुट्याउने त ! कुन सडकबाट कहाँ पुगिन्छ भनेर ?”

“सन् १९५० को दशकमा राष्ट्रिय अन्तरराज्य सडक निर्माण गर्ने नीति बनेपछि एक राज्यबाट अर्को राज्य छिचोल्ने राजमार्गहरु प्रशस्त बनेका छन् । अझ भनौँ सडक सञ्जालले ढपक्कै ढाकेको छ । हुन त, अन्तरराज्य सडक अवधारणअनुसार सडकलाई नम्बरको आधारमा विभाजन गरिएको छ । उत्तर दक्षिण लम्बिएको राजमार्गलाई बिजोर अङ्क र पूर्व पश्चिम राजमार्गलाई जोर अङ्क दिइएको छ । त्यही सङ्केतबाट गन्तव्य पहिल्याउन सकिन्छ । अहिले त गुगलले झन् सजिलो पारिदिएको छ !” सौजनले स्पष्ट पार्न खोज्यो ।

अझ भन्दै गयो, “अन्तरराज्य राजमार्ग प्रणाली ‘द इन्टरनल सिस्टम’को योजना सन् १९३० मा नै प्रारम्भ भएको हो । खास भन्ने हो भने सन् १९५६ मा ‘फेडरल एड हाइवे एक्ट’ले यस योजनालाई मूर्तरुप दिइएको हो ।”

अनि म घोत्लिन थालेँ, यस्तै गतिलो सडक र सडक सञ्जालका लागि कानुन कहिले बन्ला खै हामीकहाँ ? राज्यको ढुकुटी सिध्याएर विश्वको कुनाकाप्चा चाहार्ने हाम्रा हुतिहारा नेता–राजनेता र व्यवस्थापकहरुको घैँटोमा कहिले लाग्ला घाम ? सिक्नु नि केही त ! तर खै ? नियास्रिन्छ मन !

हतिसबर्ग सहर डेनटनबाट सिधै पूर्वतिर पर्दोरहेछ । सौजनलाई गुगलले जोर नम्बरको सडक पछ्याउन सहयोग गर्दै थियो । दायाँबायाँ लाग्न दिँदैनथ्यो । यता लाग, उता लाग भनिरहन्थ्यो । विज्ञानको चमत्कार ! गुगल सँगसँगैको यात्रा सजिलो बन्दै थियो । नत्र जेरी झैँ जेलिएका सडक सञ्जालमा कुइरोको काग हुन बेर थिएन ।

फराकिला फाँट, गौचर र रस्तीबस्ती हराभरा थिए । म र प्रतिभा बाहिरको दृश्य हेर्नमै मस्त ! कारले डेनटनदेखि डालस आदि सहरबजार छिचोल्दै टेक्सस राज्य पार ग¥यो । टेक्सस राज्य छिचोल्न नै तीन घण्टाभन्दा बढी लाग्यो । ठुलै रहेछ टेक्सस ! हो नि, संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो राज्य नै हो टेक्सस राज्य !

टेक्सास र लुजियानाको सीमाक्षेत्रमा पर्ने श्रिभपोर्ट हामीलाई नै पर्खिबसेकोरहेछ कौला अर्थात् ब्रेकफास्ट पस्किँदै । कौला कति स्वादिलो लाग्यो थाहा भएन, तर सौजनको मन घरतिरै अल्झिएको थियो । बिरामी छोरा र पत्नीलाई छोडेर आउनु परेको चिन्ता अनुहारमा लपक्कै टाँसिएको देखिरहेको थिएँ म !

उसले फोन गरेर सुमित्रा र निभेदको सन्चो बिसन्चो सोध्यो । कस्तो छ रे ! सोधेँ मैले सौजनलाई । अलिकति मुस्कुरायो । उसको मन अझै स्थीर भएको लागेन ।

मलाई थक थक लाग्न थाल्यो, रिङ्गाउन पनि थाल्यो पश्चातापले । यसरी हिँड्नु हुँदैनथ्यो हामीले । आफै विरामी, विरामी छोरालाई कसरी स्याहारोस् सुमित्राले । हामीले नसके पनि सौजनले त हेरचाह गर्नसक्थ्यो घरमै बसेको भए । विचार पुर्‍याउन सकेन छौँ ।

“ड्याडी ! भोलि बिहान पाँचै बजे हिँड्नुपर्छ ठिक पर्नुहोला,” सौजनको उर्दीलाई काट्न सकेनौँ हामीले । लुसुक्क हिँड्न तम्सियौँ ।

‘दुई दुई जनालाई सन्चो छैन । अहिले नजाऔँ, पछिल्ला कुनै शनिबार जाँदा हुँदैन र ?’ भन्न पनि सकेनौँ । हुस्सु नै बन्यौँ हामी । अविवेकी नै बन्यौँ कि कुन्नि ! हुनेहार दैव नटार भैसकेपछि थक थकाउनको के प्रयोजन !

तीन दिनअघिदेखि पुत्रबधु सुमित्राको पेट दुखेर अस्वस्थ थिइन् । सोध्दा रजस्वलाको क्रममा दुखेको भनिन् । हामीले महिनावारीको सामान्य दुखाइ ठानेका थियौँ । महिलाहरुमा यस्तो भैरहन्छ । हिजो मात्र निभेद पनि रुघाखाकीले आक्रान्त बन्यो । यो पनि हामी नेपालीका लागि सामान्य नै लाग्थ्यो । तर यस्तो रोग सामान्य हुँदोरहेन छ यहाँ । के जानौँ !

पूर्वनिश्चित यात्रा ! सौजनले बल्लतल्ल मिलाएको हुनुपर्छ बिदा । पछि के कसो हुने हो ? सायद यसैले त उसले यात्रा स्थगित नगरेको होला । नत्र त उसले पनि विचार पुर्‍याउनु पर्ने हो । अहिले नजाऔँ भन्नुपर्ने हो । हामी त अबुझ बन्यौँ बन्यौँ, उसले पनि केही भनेन । मैले यस्तै सोचेँ, तर के सोचिहोलिन् पुत्रबधु सुमित्राले ? कस्तो प्रतिक्रिया हुने हो, खै ?

थक थक लाग्दालाग्दै यात्रा अघि बढ्यो कौलापछि । बाटोमा भेटिए रस्टन, मोनरो, ज्याक्सन जस्ता सहरहरूका छेउँछाउँ । रमणीय फाँट र बस्तीहरु । सवारी साधनहरुको आवत जावत । मूलसडक छोडेर मूल सहरहरूमा पस्नु हामीलाई फुर्सद थिएन । सोझै हुइँकिरह्यो कार आफ्नै मतावमा ।

रस्टन सहर नजिक पुग्दा युनिभर्सिटी अफ लुजियाना झलक्क सम्झेँ । केही वर्षअघि पुगेको रमाइलो झझल्को आयो । सौजनले त्यहीँ आफ्नो अध्ययन पूरा गरेको हो । उसले पनि आफु पढेको युनिभर्सिटी किन सम्झिन्नथ्यो र !

प्यारो लाग्छ आफुलाई दीक्षित तुल्याउने शिक्षालय !

“समय भएको भए म पढेको युनिभर्सिटी देखाउन लाने थिएँ । अहिले यहाँ अल्मलिन समय छैन । फर्किदा मिल्यो भने घुमौँला !” सौजनले फिसिक्क हाँस्दै भन्यो ।

जाँदाजाँदै मिसिसिपी नदी भेटियो । नदी माथि बनेको विशाल पुल आकर्षक थियो ।

मिसिसिपी अमेरिकाकै दोस्रो लामो नदी मानिन्छ । यो तीनहजार सात सय छैसठ्ठी किलोमिटर भूभाग छिचोल्न कुदिरहेको छ । नदीको गतिशीलता नै त हो जीवन ! हामी पनि हुइँकी रहेका छौँ मिसिसिपी झैँ गन्तव्य भेट्न ।

मिसिसिपी नदीले अमेरिकाकै दश राज्यका बत्तीस स्थान र क्यानाडाका केही भाग छोएर बुकुर्सी मारिरहेछ । उत्तर अमेरिकाका मिनेसोटा, विस्कन्सिन, लोवा, इलिनोस, मिजोरी, केन्टुकी, टेन्नेसी, आकान्सस, मिसिसिपी र लुजियाना राज्यहरु यस नदीबाट उर्बर हुनपाएका छन् ।

एउटा सुन्दर राज्यले त यस नदीकै नामवरण गर्ने सौभाग्य पाएको छ – मिसिसिपी ।

यसै मिसिसिपी राज्यको सुन्दर बस्ती हात्तिसबर्ग भेट्न त कुदिरहेका छौँ हामी । यो नदी मिनेसोटा -Minnesota_को उत्तरमा रहेको इटास्का -Itasca_ तालबाट प्रार्दुभाव भई विभिन्न शाखा नदीहरु समेटेर विशाल बन्दै मेक्सिको खाडीमा पुगेर सागरमा समाहित हुन हुइँकिरहेकोछ ।

यस्तो लम्बेतान नदीलाई पहिलोपल्ट अमेरिका आउँदा मिजोरी राज्यको सेन्ट लुइस सहरमा र अर्कोपल्ट लुजियाना राज्यको न्यु ओर्लियन्समा भेटेको स्मृति ताजै छ । त्यतिबेला कल्कलाइरहेको मिसिसिपी नदी भेट्दा धीत नमरुन्जेल छामिसकेकाले यतिबेला गतिशील कारबाटै देख्यौँ, हर्‍यौ, चित्त बुझायौँ ।

आम्मै ! नदी पारिबाटै मिसिसिपी राज्य सुरु भैसकेछ त ! सूचनापाटीले यस्तै भनिरहेको थियो । एक राज्यबाट अर्को राज्यमा बेरोकटोक पुगेका छौँ । अब धेरै समय लाग्दैन होला गन्तव्य छिचोल्न ! अनुमान लगाएँ मैले । तर समथल भूभागमा एकनास हुइँकिरहेको कारलाई पनि हात्तिसबर्ग सहर पुग्न ढाई तीन घण्टा नै लाग्यो नि ! हामीले बाटोमा लन्च गर्न भ्याएनौँ, खान मन पनि लागेन । नातिनीलाई भेट्न हत्तारो जो थियो ।

नातिनी आवृतिको डेरामा पुग्दा रमायो मन ! पढ्नकै लागि एक्लै घरबाट यति टाढा आएर बसेकी छिन् । अहिले हामीलाई नै पर्खिबसेकी रहिछन् । दुई वर्षपछि भेट भएकी नातिनीलाई अँगालो मार्न पुग्यौँ । सन्ततिको माया कति गाढा हुँदोरहेछ । एकछिन् त हामी भावुक नै बन्यौँ ।

एक जना सहपाठी पनि सँगै बस्ने भएकाले दैनिकी सहज रहेछ । पढाई र कमाईमा अल्झिनुपर्दा पनि रमाइरहेकी थिइन् आवृत्ति !

सानो चिटिक्कको सहर हात्तिसबर्ग ! सरसुविधामा कुनै कमी देखिन्नथ्यो । उनको निवासकै वरिपरि सुन्दर बजार देख्दा रमायो मन ! किनमेल गर्न टाढा जानुपर्दो रहेन छ ।

साँझको खाना दाल भात तरकारी आफ्नै पौरखले पकाएर खान दिइन् । पाकशास्त्रमा निपूण भैसकिछन् उनी । काठमाडौँमै रहँदा पनि उनले पकाएको मासुका परिकार स्वादिष्ट लाग्थ्यो । अझ जागरिली र हिम्मती बनिछन् । सन्तानको प्रगति देख्दा को नरमाउँदा हुन् ? हामी सन्तुष्ट हुनपुग्यौँ ।

साँझ हामी होटल डेज इनमा विश्राम लिन पुग्यौँ, तर कोठाको ढोकाको छेस्किन काम नलाग्ने भएकोले असुरक्षित लागेर होली डे इनमा शरण लिन पुग्यौँ ।

”ढोकाको एउटा छेस्किन नहुँदैमा के भैहाल्ला र ! भैगो,” भन्दा त्यसो भनेर कहाँ हुन्छ र ! आपत पर्‍यो भने त परिहाल्यो नि ! भन्दै सौजनले मान्दै मानेन । सुमित्राले पनि जोखिम उठाउन मानिनन् र आपूm अस्वस्थ हुँदाहुँदै पनि घरबाटै फोनद्वारा अर्को सुरक्षित होटल बन्दोवस्त गरिदिइन् । छोरा बुहारीको सुझबुझ न्यानो लाग्यो ।

हुन पनि बिरानो ठाउँ सतर्क हुनै वेस ! कहिलेकहीँ लुटपाट र चोरीको घटना भैरहँदोरहेछ अमेरिकी सहरहरुमा । केही दिनअघि मात्र कुन सहरमा हो कुन्नि ! पर्यटक लुटिएको घटना भन्दै थियो सौजन ।

किशोर किशोरीहरुले समेत पिस्तोल राख्न पाउने देशमा यस्ता छिटपुट घटना भैरहेका समाचार त मैले पनि सुनेकै हुँ । धनी र विकशित देश भनेर के गर्नु र ! शैतानी मगज जता पनि भेटिँदारहेछन् । सतर्कता जायजै लाग्यो ।

रात मस्तले बित्यो । बिहान हात्तिसबर्ग मस्कुराइरहेको थियो घाम ओडेर । आवृत्तिले आफु पढ्ने विश्वविद्यालय अवलोकन गराउन लगिन् । नजिकै रहेछ निवासबाट । अझ भनौँ एक आँगन पल्तिर ! पायक पर्ने ठाउँमा डेरा लिएकी रहिछन् । अझ ढुक्क भयौँ हामी ।

आहा ! कति रमाइलो ठाउँ रहेछ । आवृति पढ्ने विश्वविद्यालय परिसर खुल्ला थियो, सफा थियो । फराकिलो ठाउँमा यथोचित भवनहरू उभिएका थिए । बगैँचाको सुन्दरताले नै मन मुग्ध पार्‍यो । यस्तो सम्पन्नता हाम्रा विश्वविद्यालयहरुमा कहिले देख्न पाइन्छ होला ?

एक मात्र जेठो त्रिभुवन विश्वविद्यालयको हालतले नै नाक खुम्च्याउनु पर्ने अवस्था दर्शाइरहेकै छ । भवनहरु त के ! विश्वविद्यालय परिसर नै उपेक्षित जङ्गल जस्तो देखिन्छ । स्याहार सुसारमा कुनै ध्यान छैन । माल पाएर चाल पाए पो भने झैँ छ ।

आफ्नै जायजेथा र भूमि कति छ ? आप्mनो भूमि ककस्ले अनाधिकार भोगचलन गरिरहेको छ भन्ने सम्म कुनै तथ्याङ्क पाइन्न । धन्य पशुपतिले चलाएको देश ! जग्गाकै हिनामिनामा अल्झिरहेछ मेरो देश ! भ्रष्टाचारमा लत्पतिएको छ मेरो देश ! सम्झनामा रुल्लिँदा नै सन्न हुन्छ मन मस्तिष्क !

घाम लागिरहेछ झलमल्ल हात्तिसबर्गमा । विश्वविद्यालय मुस्कुराउँदै हामीलाई आश्वस्त पार्दैछ ‘खिन्न नहोऊ । तिम्री स्नेही नातिनिलाई दीक्षान्त पारेर पठाउने हाम्रो जिम्मा भयो । तिम्रो देशको शिक्षालयहरु पनि त सुघ्रिँदै जालान् नि ! हामीबाट दीक्षान्त भएका होनहार छात्रछात्राहरुले योगदान पुर्‍याउने नै छन् । ढुक्क होऊ ।’

त्यस्तै भए कति मज्जा हुन्थ्यो । तर दीक्षित भएपश्चात् यहीँ बस्ने रोग सल्केकोले ठ्याम्मै विश्वस्त हुन सक्दिनँ म ।

”बा ! यो मेरो कक्षा कोठा हो । कम्प्युटर साइन्सको कक्षा कोठा ! आज बिदा भएकोले भित्र जान भने मिल्दैन ।” आवृतिले आफु पढ्ने कक्षा कोठा देखाउँदा सतर्क बने म ।

अहा । कति चिटिक्कको कक्षाकोठा ! बसेर पढुँ पढुँ लाग्यो बाहिरबाट देख्दैमा ! आकर्षक थिए सबै कक्षाकोठाहरु ।

त्यो दिन शनिबार परे पनि घुम्यौँ मज्जाले । साउथर्न हल भन्ने भवनको अगाडिको दृश्य गज्जबको थियो । उड्नै लागेको चिलको विशाल प्रतिमा साह्रै आकर्षक लाग्यो । नेपालको राष्ट्रिय चरा नौरङ्गी डाँफे भने झैँ अमेरिकाको राष्ट्रिय चरा चील ! राष्ट्रिय चराप्रति सम्मान दर्शाइएको पाउँदा रमायौँ हामी ।

एउटा गुम्बजसहितको दुई तले भव्य भवनसामु आकाश ताक्दै मुस्कुराइरहेका थिए फोहराका जलकण । यो विश्वविद्यालयको प्रशासकीय मुख्य भवन रहेछ । हामीले त्यहाँ फोटा खिच्यौँ क्लिक्क क्लिक्क ।

घुम्दै जाँदा एक ठाउँमा एउटी महिला कुर्सीमा बसिरहेकी देख्यौँ । उनले हातमा पुस्तक लिएर मुसुक्क हाँस्दै हामीलाई नै बोलाए झैँ लाग्यो । नजिकै गयौँ, त्यो त प्रतिमा पो रहेछ, साँच्चैकी हसमुख महिला जस्ती ।

“यो सुन्दर प्रतिमा ओस्कल म्याक कार्टीको हो । उहाँ शिक्षाप्रेमी महिला हुनुहुन्थ्यो,” आवृतिले चिनाइन् ।

म्याक कार्टीले जीवनभरको आफ्नो कमाइ यस कलेजलाई दान दिएकी रहिछन् । मृत्युपछि उनैको स्मृतिमा यो प्रतिमा स्थापित भएको रहेछ । उनैको नाममा छात्रवृत्ति पनि राखिएको छ रे ! दानी र ज्ञानी शिक्षाप्रमीहरुको सम्मान र स्मृति न्यानो थियो । हामीले नमन गर्‍यौँ र सँगै बसेर फोटो खिच्यौँ ।

विश्वविद्यालयकै कोक्रेन सेन्टरमा एकताका आवृति काम पनि गर्दिरहिछन् । त्यो कक्ष पनि देखाइन् । विश्वविद्यालयले नै प्रवासी छात्रछात्रालाई पढाईमा सजिलो होस् भन्ने उद्देश्यले काम पनि दिँदोरहेछ । कति सुन्दर व्यवस्था ! सुरुका दिनमा आवृत्तिलाई राम्रै सघाउ पुगेको रहेछ ।

अहिले कक्षा सकिएपछि अन्तै कम्प्युटर सम्बन्धी काम गर्दिरहिछन् अलि टाढा । पढ्नका लागि काम गर्नु रमाइलो पक्ष हो । मैले पनि आफ्नो पढाइ सुचालु गर्न सानैदेखि काम गरेको स्मरण भयो । बिहान वा बेलुकीको कक्षामा पढ्ने र दिउँसो जागीर खाएरै पढेको हुँ मैले पनि ।

काम नगरे पढाइ खर्च कसरी पु¥याउनु प्रबासी छात्रछात्राहरुले ? घरबाट खर्च धान्ने अवस्थामै कहाँ छौँ र हामी !

बिचरा नेपाली विद्यार्थीहरु ! यहाँ पनि पढाइ र कामको बोझले थिचिँदा रहेछन् । तर हरेस खाँदा रहेनछन् जसरी आवृत्तिले धानिरहेकी छिन् पढाई र कमाई !

हात्तिसबर्ग स्थित मिसिसिपी विश्वविद्यालयको अवलोकनबाट मन्त्रमुघ्द हुँदै हामी बिहानको लन्चका लागि भारतीय होटलमा भित्रियौँ । भारतीय परिकारका खाना हाम्रा लागि रुचिकर नै हुनेगर्छ । अमेरिकी सहरहरुमा भारतीय र नेपाली रेष्टुराहरु पनि सञ्चालन भएको पाउँदा खुसी नै लाग्छ ।

हात्तिसबर्गको डाउन टाउन अर्थात् सदरमुकाम केही माइल पर मात्रै रहेछ । चिटिक्क परेको डाउन टाउन अन्य सहरभन्दा सानो र सामान्य लाग्यो । गगनचुम्बी भवनहरु देखिएनन्, अमेरिकी सहरहरुमा  प्रायः शोभा बढाउने गर्छन् त्यस्ता भवनहरुले ।

नयाँ ढाँचाका भवनहरु भए पनि केही पुराना ढाँचाका घरहरुले सुशोभित देखिन्थे । सन् १८९६ सम्म निर्माण भएका घरहरु पनि देख्न पायौँ । नगरको एक फन्को मार्दा हात्तिसबर्ग पाकेट म्युजियम लाई भेट्यौ एउटा साँघुरो गल्लीमा ।

मेरा आँखाले भव्य सङ्ग्रहालय खोज्दै थियो, तर हामीले भेट्यो त्यही साँघुरो गल्लीको भुइँ र भित्तामा असरल्ल सङ्ग्रहालय । छक्कै परेँ ।

“यस्तो पनि हुन्छ र सङ्ग्रहालय ?”

हो त ! यस्तै त हो पाकेट म्युजियम अर्थात् सङ्ग्रहालय ! विशेषता नै यही हो । बालबालिकालाई भुलाउने मेलोमेसो । ससाना ढुङ्गाका आकृतिहरु, मानव, जीवजन्तुका मसिना चित्रकारिता नियालेर हेर्नथाल्यौँ हामीहरु पनि । रमाइलै लाग्यो बालबालिकाहरु झुम्मिएको देख्दा ।

बालबालिकालाई के नै चाहिन्थ्यो र मन भुलाउन ? महङ्गा र आकर्षक वस्तुहरु नै चाहिँदोरहेन छ । त्यहाँका झिना मसिना आकृतिहरु नै काफी थिए ।

हामी बालबालिका हुँदा झुम्राका पुतली, झुम्राका भकुण्डो, नाङ्लाका पाङ्ग्राबाट पनि मनोरञ्जन पाइरहेकै थियौँ । सिलौटामा खरीले लेखेर पढेलेखेकै थियौँ । यस्ता पुराना सरसामान सङ्ग्रह गरी सङ्ग्रहालयको रुप दिन सक्दा पनि बेसै हुँदो हो । आधुनिक युगमा त्यस्तै साधारण वस्तुहरुको सङ्ग्रहालयले पनि बालबालिकालाई आकर्षित गराउन नसकिने होइन रहेछ । उनीहरुले पुराना व्यवस्था र अवस्था पनि बुझ्‍न सक्थे । पाकेट म्युजियम हेर्दाहेर्दै सोँच्दै थिएँ म !

हामीले यस्तो सोच बनाउन सकेका छैनौँ खै, किन ?

“ड्याडी ! जाऔँ केही खाऔँ । भोक लागेजस्तो, तीर्खा लागे जस्तो भो । थकाइ पनि मारिन्छ एकछिन ।” सौजनले मैरै मनको कुरा बुझेसरी भन्यो । हामी रेष्टुराँ खोज्दै फनफनी घुम्यौँ र अन्तमा एउटा रेष्टुराँमा सुट्ट पस्यौँ ।

साँझ आवृत्तिले पकाएको स्वादिष्ट रोटी र तरकारी खाएर होटलमा विश्राम गर्न पुग्यौँ । भोलिपल्ट बिहानै आवृत्तिसँग बिदावारी भएर फर्किन थाल्यौँ ।

बाटोमा पर्ने रस्टन सहरको पनि एक फन्को मार्न छोडेनौँ । बाटो काटेर गयो भन्ने गाल थाप्न मन मानेन । रस्टन स्थित लुजियाना विश्वविद्यालयमा सौजन अध्ययन रहँदा  सन्       मा यस सहरमा पहिलो पाइला टेकेका हौँ हामी दम्पतीले । सौजनको दिक्षान्त समारोहमा रमाएका थियौँ मज्जाले ।

सौजनले त चार चार वर्षसम्म बसेर पढेको सहर, अनि विश्वविद्यालय । ऊ झन् किन पुलकित नहुनू ! विश्वविद्यालयको परिसर चाहर्दै पूर्व स्मृतिमा रमायौँ केहीबेर । सौजनले सुरुका दिनमा काम गरेको पसल सम्झियो र हामीलाई देखाउन लग्यो । माया लाग्छ नि हो आफुलाई दुःखसुखमा साथ दिने मित्रहरुको ।

टिनको छानाले छाइएको सामान्य टहरोजस्तो पसल रहेछ । यहाँ पनि यस्ता ससाना पसल हुँदारहेछन् । देखेर रमाएँ । दुर्भाग्य, पसलको मालिक बाहिर गएको बेला परेछ, आफु आएको खबर छोडेर हामी अघि बढ्यौँ ।

डेनटनको लस लोमास पुग्दा दिनको चार बजिसकेको थियो । तीन दिनको निरन्तर कार हकाईबाट हत्तु भएको सौजन र बसी बसी थाकेका हामी ! नाति र पुत्रबधुको कुशलता र मायालु मुस्कानमा चुर्लुम्मै डुब्यौँ ।

३० बैशाख २०८१

लस लोमास, डेनटन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत