काठमाडौं । प्रहरीले माइकिङ गरेपछि काठमाडौंबाट बाहिरिन लागेका लामो र छोटो दूरीका सवारी साधन नागढुंगा चेकपोष्टबाट फर्केका छन् ।
प्रहरीले बिहान माइकिङ गरेर धादिङतर्फ पहिरो खसेकाले उक्त पहिरो तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न माइकिङ गरेर सवारी चालकहरुलाई आग्रह गरेको थियो । त्यसपछि काठमाडौं उपत्यकाबाट नागढुंगा चेकपोस्ट पुगेका सवारी साधनहरु काठमाडौं फर्कन थालेका हुन् ।
नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान करिब १० बजेसम्म करिब २ सय ९० वटा सवारी साधनहरु काठमाडौं फर्किसकेका छन् ।
शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।
अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ ।
काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।