काठमाडाैं । देशका विभिन्न स्थानमा मनसुनी वर्षा तीव्र बनेको छ। विशेषगरी तराईको रौतहटको महेशपुरमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २८९ मिलिमिटर वर्षा मापन गरिएको छ ।
तराई क्षेत्रमा तुलनात्मक रूपमा हालसम्म बढी पानी परेको जस अनुसार रौतहटकै गौरमा २५९, वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको मौसम विभागका तथ्याङ्कले देखाएको छ ।
तराईबाहेक मकवानपुरमा १३४, काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर तथा काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा पनि ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
वर्षाको घनत्व बढिरहेकै अवस्थामा बाढी पूर्वानुमान महाशाखाले काभ्रेको रोसी खोला, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीमा जलसतह सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेको जनाएको छ। बागमती र मधेस प्रदेश हुँदै बग्ने अधिकांश नदी, नालामा पनि सतर्कता तह नजिक पुगेकाले जोखिम बढेको विभागले जनाएको छ ।
विभागले अझै केही दिन वर्षा तीव्र रहने अनुमान गर्दै नदी किनार तथा डुबान क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।