वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलको जीवन अनुभवको संगालो ” साँखेजुङको उकालो” कृतिबाट थानकोटको विगत सम्झाउने लेख प्रस्तुत गरिएको छ ।
“पञ्चायत कालमै थानकोटमा राजनीतिक दल खडा गरिएको थियो “
अहो! कति धेरै जलन ? बोली, व्यवहार र भेटघाटमा पनि एकले अर्कालाई होच्याउने, खसाल्ने र झगडा गर्ने वातावरण तयार हुन्थ्यो । तोकबहादुर लामालाई प्रभात हाई स्कुलको हेड सरमा राखियो । थानकोटमा हर्षदास अमात्य पक्षको सेतो दल बन्यो । तोकबहादुर पक्षलाई रातो दल भनियो । निर्दलीय व्यवस्थाभित्र दुई दल तयार भए थानकोटमा । एक्लैदोक्लै र कमजोर देखे भने अर्को पक्षले पिटिहाल्ने । टोलटोलमा झगडा र घरघरमा फुट भयो । विवाद चर्किएर एक दलको मान्छेले अर्कोको पाली आज भत्काउँथ्यो, भोलि अर्को पक्ष आएर उसको छानो खसाल्ने काम पनि गरे । अनर्थ भयो थानकोटमा । अनेकौँ कुटपिट र रक्तपातका घटना भए । प्रहरीले हस्तक्षेप गर्यो । पुरुषजाति देख्नै नहुने । समातेर हनुमान् ढोका पुऱ्याउने । अन्ततः गाउँ प्रवेशका सबै बाटोमा पुलिसले नाकाबन्दसमेत गर्यो । गाउँका धेरै मानिस घाइते भएर अस्पतालमा भर्ना भए । भेटेजतिलाई समातेर थुनियो । धेरै मानिस गाउँ छाडेर इष्टमित्रका घरमा शरण लिन पुगे ।
थानकोटको पुरानो नाम शोणितपुर हो । रमाइलो के भने त्यो बेलाको सरकारमा घुमिफिरी जोगमेहर श्रेष्ठ शिक्षा या गृहमन्त्रीमा आइहाल्ने । थानकोटमा युद्ध चर्किहाल्ने । प्रभातलाई हाई स्कुलको स्वीकृतिसम्म मिलेको थियो । न कोटाका शिक्षक न सरकारी अनुदान । मङ्गलोदयमा दरबन्दीका शिक्षक पनि दियो । अनुदान सुविधा पनि थप्यो । प्रभातलाई शिक्षकको लहडमा चलेको स्कुल भन्थे। तिनलाई तलब दिन सक्ने स्थिति भएन । तथापि तोकबहादुर लामाको उत्साह उदाहरणीय थियो । उनी स्वभावैले रसिला र मिजासिला थिए । चिनेजानेका थुप्रै साथीलाई स्कुलमा ल्याएर एक या दुई कक्षा भए पनि लिने वातावरण बनाए । ज्यापू साहुलाई भनेर बसमा शिक्षकलाई आउजाउ गर्न भाडा नलिने व्यवस्था मिलाए ।
थानकोटको पुरानो नाम शोणितपुर हो । रमाइलो के भने त्यो बेलाको सरकारमा घुमिफिरी जोगमेहर श्रेष्ठ शिक्षा या गृहमन्त्रीमा आइहाल्ने । थानकोटमा युद्ध चर्किहाल्ने । प्रभातलाई हाई स्कुलको स्वीकृतिसम्म मिलेको थियो । न कोटाका शिक्षक न सरकारी अनुदान । मङ्गलोदयमा दरबन्दीका शिक्षक पनि दियो । अनुदान सुविधा पनि थप्यो । प्रभातलाई शिक्षकको लहडमा चलेको स्कुल भन्थे। तिनलाई तलब दिन सक्ने स्थिति भएन ।
बिहानको स्कुल थियो । पढ्न वा जागिरमा जानपर्ने शिक्षकलाई त्यहीँको पाटीमा खाना खुवाउने प्रबन्ध गरे । त्यस कार्यमा गाविसले थोरै सहयोग गर्थ्यो । त्यसले नपुग्ने । त्यो बेला चन्द्रागिरिको बाटो गरी राँगाभैंसी, खसीबोकालाई हिँडाएर काठमाडौं ल्याउँथे । राँगाभैंसीका खुट्टामा परालका जुत्ता लगाइएको हुन्थ्यो । यसरी ल्याइने वस्तुका व्यापारीबाट प्रतिराँगाभैंसीको पचास पैसा र खसी बोकाको पच्चीस पैसा कर लिने उपाय पनि गरियो । कर उठाउन लगाइएको व्यक्तिले रकम हिनामिना गर्थ्यो । त्यस्तो व्यक्तिलाई हटाएर स्थानीय शिक्षकले नै तगारो कुरेर बस्ने नियम बन्यो । चार-पाँचपटक मेरो पालो परेर रातभरि तगारो कुरेर कर उठाएको सम्झन्छु ।
त्यतिबेला म डेरामा बस्थें ।
मेरो डेरा बसाइ कष्टकर बन्दै गएको थियो । घरबाट खर्च मिल्ने अवस्था थिएन । स्कुलको जागिर मासिक सय रुपियाँ भनिए पनि दामासाहीमा भाग लगाउँदा दुईतीन महिनामा साठी रुपियाँ हात पर्थ्यो । हतारहतारमा बिहान स्कुलको पाटीमा पाकेको खाना खाएर म त्रिचन्द्र कलेजमा पढ्न पुग्थें । बिहान भाइ एक्लै खाना खाएर स्कुल जान्थ्यो । स्कुल क्याम्पस छुटेर डेरामा पुग्दा दुवै भाइका मुख भोकले नीला हुन्थे । फुको चिउरा किनेर खाने पैसा पनि हामीसँग हुँदैनथ्यो । भोक टार्ने अन्न चामल हुन्थ्यो । त्यही फुको एकएक मुठी चामल आँखा चिम्लेर मरङमरङ चपाउँथ्यौं। दुई गिलास पानी पिउँथ्यौं ।
शिक्षकलाई खर्चले समस्या पारेको कुरामा तोकबहादुर लामा निकै संवेदनशील थिए । उनले सल्लाह दिए, माडसाबहरूलाई तोकिएको तलब दिन सक्ने अवस्थासम्म भएन । अहिले दुई महिनाभित्र चन्द्रागिरिको वनबाट काटी, चिरान गरी २ सय ट्रक दाउरा इन्धन संस्थानलाई बुझाउने शर्तमा बोलपत्र आह्वान भएको छ । ल कसिनोस् सरहरू ।’
विष्णुबहादुर लामा, सूर्यबहादुर नकर्मी र म त्यो काम गर्न कस्सियौं । दुई हजार रुपियाँ धरौटी मागिएको थियो । तीन जनाले दामासाहीमा त्यति रकमको जोगाड पनि बल्लतल्ल गरियो । बोलपत्र ल्याएर अध्ययन पनि गरियो । त्यहाँ समस्या खडा भयो प्रतिमनको दररेट कति राख्ने ? हामी काठ दाउराका काममा अनभिज्ञ थियौँ । चिनजानका साथी पत्ता लगाएर विगतमा चन्द्रागिरि वा फुल्चोकीका वनबाट दाउराको टेन्डर माग हुँदा कति दररेट किटान भएको थियो भनी सोध्यौँ । जानकारी पाइयो, प्रतिमन दुई रुपियाँ दश पैसा । हामीलाई जसरी पनि त्यो बोलपत्र हात पार्नु थियो । पुरानो रेटबाट पनि घटेर एक रुपियाँ उनान्सय पैसा प्रतिमनको रेट राखेर सिल्डबन्दी बोलपत्र दर्ता गरियो ।
ए बाबा ठाकुरे ! हामीसहित सात जनाले बोलपत्र पेस गरेका रहेछन् । हामीभन्दा माथिल्लो दररेट गोदावरीतिरका, यस्ता कामका अनुभवी ठेकेदारको थियो, ६ रुपियाँ उनान्सय पैसा प्रतिमन । बोलपत्र महाप्रबन्धक कोही पुरुष ढकालको कार्यकक्षमा खोलिएको थियो । त्यहाँ त हाम्रो बोलपत्र देखेर हुनै नसक्ने रेट भनेर सबैले हाहाहुहु र खिसी गरे। स्वयं महाप्रबन्धकले पनि, ‘मास्टर नानीहरू हुनुहुँदो रहेछ । खोइ त्यो रेटमा दाउरा दिन सक्नु होला र ?’ भनेका थिए । तपाईं धन्दा नमान्नोस्, हाम्रो नाममा बोलपत्र स्वीकृत होस् । हामी काम गरेर देखाइदिन्छौँ भनेर फुर्ती पनि लगायौँ । अफिसबाट निस्केपछि दोस्रो नम्बरका ठेकदार हाम्रा पछिपछि आए, ‘ए सर हो, यो ठेक्कापट्टाको अनुभव तपाईंहरूसँग छैन जस्तो छ । ठेक्का मिलेपछि पनि अनेक खर्चका कुरा आउँछन् । यहाँ त्यही धरौटी जफत हुने हो । त्यो रकमको साथमा पाँच हजार थप रुपियाँ पनि हामीसँग लिनोस् । भो सरहरू यो झन्झट छोडिदिनोस् ।
तिनका कुरालाई हामीले उपहासपूर्ण शैलीमा हावामै उडायौं । संस्थानले हाम्रो बोलपत्र स्वीकृत गर्यो । साथमा दुई महिनाभित्र दुई सय मन चिरानी दाउरा बुझाउँछौँ भन्ने शर्तनामा पनि गराइयो ।
त्यसपछि सुरु भए ठेकेदारीका चक्कर । वन कार्यालयले टाँचा नलगाई जथाभावी रुख काट्न नमिल्ने रहेछ । टाँचा टोलीलाई वनमा पु-याउनै हम्मेहम्मे पर्यो । तिनलाई खर्चको साथमा विशेष खानपान गराउनुपर्ने भयो । बल्ल तिनले २ सय रूखमा टाँचा लगाइदिए । अर्को चक्कर चल्यो, ती रूख ढालेर गाडी पुग्ने ठाउँसम्म बोकानी र चिरानी गर्ने अलग ज्यामीहरू चाहियो ।
त्यो समयमा कालीमाटी उत्तरको ताहाचल क्षेत्रमा पूरै ईंटा पोल्ने अवाल मात्र थिए । ती अवालमा काठ दाउरा बेच्ने अनुभवी ज्यामी फेला परे । तिनका लागि आरा, बन्चरा, छिना, घनसमेत किनिदिनुपर्ने भयो । यति गर्दा नै एक महिनाको समय त चिप्लिहाल्यो । कहिल्यै यस्ता ठेक्काका अनुभव नभएका मास्टर नानीहरूको सातो जाने नै भयो, बाँकी एक महिनामा २ सय ट्रक दाउरा ढुवानी गरी बुझाउन त कसैगरी सकिने छाँटछनक देखिएन । स्कुल छुटेपछि हामी दिनहुँ वनको छेउमा तयार गरिएको गोदामसम्म पुग्थ्यौँ । गोदाम कुर्न एकजना बूढा तामाङलाई तलब दिएर राखिएको थियो । उनी भन्थे, रूख ढाल्दै छन् । झाडी पन्छाएर भीरबाट मुढा झार्न सजिलो छैन । ज्यामीले काम गरिरहेका छन् । आधा ट्रकजति त यहाँ आइसक्यो ।’
त्यो समयमा कालीमाटी उत्तरको ताहाचल क्षेत्रमा पूरै ईंटा पोल्ने अवाल मात्र थिए । ती अवालमा काठ दाउरा बेच्ने अनुभवी ज्यामी फेला परे । तिनका लागि आरा, बन्चरा, छिना, घनसमेत किनिदिनुपर्ने भयो । यति गर्दा नै एक महिनाको समय त चिप्लिहाल्यो । कहिल्यै यस्ता ठेक्काका अनुभव नभएका मास्टर नानीहरूको सातो जाने नै भयो, बाँकी एक महिनामा २ सय ट्रक दाउरा ढुवानी गरी बुझाउन त कसैगरी सकिने छाँटछनक देखिएन ।
समयलाई ढाल्ने कुनै आरो वा बन्चरो बनेको छैन । न यसलाई रोक्ने कुनै भीर वा झाडी हुन्छ । त्यो बगिरह्यो । बोलपत्रको म्याद दश दिनमात्र बाँकी भयो । हाम्रो होसहवास उडिसकेको थियो । साथीहरू तर्साउँथे, ‘सरकारी कामबाट सजिलै मुक्ति पाइन्न । तिमीहरूबाट हर्जाना असुल गर्छ है, घरखेत जान सक्छ ।’ हामी भन्थ्यौं, मुसलमुनि कपाल थापिसकेका छौं । अब डर के को ?
बल्लतल्ल दुई महिनामा दुई ट्रक दाउरा बुझाउन लगियो । ज्यामीहरूको ज्याला दिने पैसा छैन भनेर त्यसको भुक्तानी पनि लिइछाड्यौँ । अर्को एक महिना म्याद थप गरिदिन संस्थानसँग कराकानी चल्दै थियो । ज्यामीले खबर ल्याए, अब वनबाट झार्ने दाउरा सकिए । फेरि टाँचा लगाउनुपर्ने भयो । के अचम्म ! भरखर त दुई ट्रक दाउरा झरेको छ । कसरी सकिन्छ २ सय रूखको दाउरा ? आफै निरीक्षण गर्न वनमा गयौँ । हो त छैन दाउरा ! डिपोको चौकीदारले भन्यो होला हजुर, दाउरा सकियो पनि होला । यो बाटो दाउरा तल झरेन ।
अर्कै चोरबाटोबाट दाउराजति तहाचलका अवालमा पुगे हजुर । त्यसै भनिएको होइन, तरुनीलाई मन र अवालेलाई वन नदिनू भनेर ।’
हामी बिलखबन्दमा थियौँ, अब के गर्ने ? म्याद थपको सट्टा संस्थानबाट यस्तो चिठी पो हातमा आयो, ‘चन्द्रागिरिको काठमाडौँतिर फर्केको भागमा रूख कटनी गर्दा हरियाली नष्ट भई वातावरण बिग्रिने हुँदा अब उप्रान्त चित्लाङतर्फको जङ्गलबाट मात्र रूख कटनी गरी दाउरा उपलब्ध गराउनुहोला ।”
हामीले त्यो भुक्तमानबाट उम्किने मौका पायौँ । तत्कालै, ‘यो हामीलाई धोका दिइएको हो । त्यो दररेटमा चन्द्रागिरि दक्षिणको दाउरा कटानी गरी ल्याउनू भन्नु नै अन्याय हो । हाम्रो बोलपत्र रद्द गरी धरौटी फिर्ता पाऊँ ।’ तीन पेज लामो निवेदन लेखेर बुझाइदियौँ । धरौटी जफत गरी बोलपत्र रद्द गरेको खबर पायौँ । धन्न त्यो पिन्डो हामीबाट छुट्यो । आफूलाई राम्रो ज्ञान र अनुभव नभएको काम गर्नुहुन्न भन्ने पाठ हामीले जान्यौँ ।
हरिचरण त्रिचन्द्रमै बिए पढ्थे । उनका नेपाली अनर्स र भूगोल विषय थिए । मेरो आइएका विषय थिए, नेपाली, संस्कृत र भूगोल । अनमेल पर्वको अन्तसँगै उनको डेरावासको कथा पनि समाप्त भयो । घरबाटै पढाउन, पढ्न आउँथे । थानकोटबाट फर्किंदा लाम्पाटीमा झर्थे । घरबाट साइकल लिएर पढ्न जान्थे । क्याम्पसपछि उनी कालीमाटीको जनप्रभात रात्रि स्कुलमा दुई पिरियड पढाउन थाले । उनैले मलाई त्यहाँ पढाउन हिँड भने । सुविधा बताए, निश्चित तलब मासिक तीस रुपियाँ । नियमित खाजा सुविधा दुइटा समोसा र एक कप चिया मिल्ने ।
त्यो सुविधा र खान्की खाएर मैले पनि डेढ वर्ष त्यहाँ पढाएँ । त्यो तीस रुपियाँले पनि धेरै मद्दत गर्यो मलाई । तर, कोर्सका किताब पढ्ने समय मेरो खोइ ? बिहान पाँच बजे थानकोट जाने बस छुटाउन भएन । चार बजे क्याम्पस सकेर रात्रि स्कुलमा पढाउनुपर्ने । नौ बजे स्कुल छुटेर डेरामा पुग्न एक घण्टा लाग्ने । ज्यान गलेर लखतरान हुन्थ्यो। कसरी पढ्ने ?
प्रभात स्कुलबाट प्रस्ताव आयो, राम्रा विद्यार्थीलाई स्थानान्तरण गराएर यहाँ पढाउने । स्कुलको पहिलो एसएलसीमै बोर्डमा ल्याएर चमत्कार देखाउनुपर्छ । मेरो भाइ दश कक्षामा परोपकारमा पढ्थ्यो । ऊसहित पाँच-छजना विद्यार्थीलाई प्रभातमा स्थानान्तरण गराइयो । भाइको एसएलसी र मेरो आइएको परीक्षा एकै वर्ष पर्यो । मेरो पढाइ हावातालको थियो । तैपनि आइएमा मैले ४४ प्रतिशत अङ्क ल्याएँ । त्यसलाई हाइयर रोयल डिभिजन भन्थे । भाइले एसएलसीमा राम्रो अङ्क ल्यायो । ऊ बायलोजी विषय लिएर त्रिचन्द्रमै पढ्न थाल्यो ।
प्रभात स्कुलबाट प्रस्ताव आयो, राम्रा विद्यार्थीलाई स्थानान्तरण गराएर यहाँ पढाउने । स्कुलको पहिलो एसएलसीमै बोर्डमा ल्याएर चमत्कार देखाउनुपर्छ । मेरो भाइ दश कक्षामा परोपकारमा पढ्थ्यो । ऊसहित पाँच-छजना विद्यार्थीलाई प्रभातमा स्थानान्तरण गराइयो । भाइको एसएलसी र मेरो आइएको परीक्षा एकै वर्ष पर्यो । मेरो पढाइ हावातालको थियो । तैपनि आइएमा मैले ४४ प्रतिशत अङ्क ल्याएँ । त्यसलाई हाइयर रोयल डिभिजन भन्थे । भाइले एसएलसीमा राम्रो अङ्क ल्यायो । ऊ बायलोजी विषय लिएर त्रिचन्द्रमै पढ्न थाल्यो ।
बिएमा भर्ना भएर पढ्ने मेरो अवस्था बनेन । मनमनै अठोट गर्थे मेरा दुवै भाइ डक्टर बनून् । म स्वतः महाडक्टर हुन्छु । त्यो सोच कालान्तरमा गएर मिथ्या साबित भयो । किनभने कालको अन्तर विचारको अन्तरभन्दा भयङ्कर हुने रहेछ ।
म जागिर र घर व्यवहारकै दलदलमा दब्दै थिएँ । त्यसबाट मुक्ति हुने विकल्प पनि देखेको थिइनँ । २०२७ सालमा जेठी बहिनी लक्ष्मीको विवाह गोकर्णका उपेन्द्र कुइँकेलसँग सम्पन्न भयो । बाले राखिदिनुभएको धन पनि सकियो ।
२०२८ सालमा मेरो पहिलो सन्तान छोरो जन्म्यो । स्कुलको पढाइबाट छुटकारा पाउने उपायको खोजीमा सबै शिक्षक थिए । थानकोटमा पहिलाको जस्तो मारकाटको अवस्था हट्दै थियो । त्यसको कारण तोकबहादुर लामाले गाउँको प्रधानपञ्चको चुनावमा भाग लिए । भारी मतको अन्तरले जिते । रातो दलले बलियो भएको महसुस गर्थ्यो । तर, तोकबहादुरले दलगत पक्ष नहेरी सबैलाई एउटै ढककाँटाले न्याय दिए ।
प्रभात स्कुलमा ध्रुवप्रसाद आचार्यलाई प्रधानाध्यापक बनाइएको थियो । थानकोटमा भव्य गाउँसभा बस्यो । गाउँ माझको झ्यालमपाटी र कोतघरको बीचमा कार्यक्रम सुरु हुँदै थियो । गृह तथा पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ त्यसका मुख्य अतिथि थिए । सुरुमै विष्णुबहादुर लामाले थानकोटको विगत, वर्तमान र भविष्यको बाटो विषयमा प्रतिवेदन पढेर सुनाएका मात्रै थिए, उनको टाउकोमा कसैले लट्ठी हान्यो। त्यो व्यक्ति ट्रकमा चढेर भाग्दै थियो । उसलाई युवाहरूले चेकपोस्टमा रोकेर निर्घात कुटे भन्ने खबर आयो ……।