काठमाडौँ । आजबाट नेपाल संवत् ११४६ प्रारम्भ भएको छ । नेपाल संवत् अर्थात नयाँ वर्ष सुरु भएको अवसरमा चन्द्रागिरि नगरमा पनि विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल संवत् (न्हूदँ) ११४६ को अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकाप, सिंर बन्थचा, सिंर बन्थोक जात्रा पर्व संचालन समितिको आयोजनामा नेवाः देय दबुका अध्यक्ष पवित्रमान बज्राचार्यको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य केशव प्रसाद पोख्रेल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठलगायतको विशेष आतिथ्यतामा भव्यरूपमा भिन्तुना कार्यक्रम गरिएको छ ।
एक कथन अनुसार लिच्छवी राजा राघवदेवको पालामा उनको दरबारमा रहेका राजज्योतिषी सिद्घिवन्तले कुनै विशेष साइतमा भचाकुसी र लँ खु तीर्थ (हाल टेकु दोभान) को बालुवा झिक्दा सुन हुने (सुन मिसिएको) जानकारी दरबारलाई दिइयो ।
त्यो जानकारी थाहा पाएपछि भक्तपुरका तत्कालीन महाजन अर्थात् साहू शंखधर साख्वाले तत्कालीन दरबारका कर्मचारीभन्दा पहिले नै भरियाहरू लगाएर उक्त ठाउँको बालुवा उठाएर लगेको भनिन्छ । अर्को कथनमा भरियाहरूले बालुवा बिसाएर बसेको बेला भरियासँग बालुवा किनेर लगेको भनिन्छ ।
त्यसपछि साहू शंखधर साख्वा झनै धनी बने । तर, पछिल्लो भनाइ अर्थात् राजज्योतिषी सिद्घिवन्तले दिएको समयअघि नै शंखधरले लगेको बालुवा सुन भएको र, दरबारका मान्छेहरूले लगेको बालुवा सुन नभएर बालुवा नै भएकोले राजज्योतिषी सिद्घिवन्तले दरबार नै छाड्नु परेको भन्ने भनाइ पनि छ ।
जे होस्, शंखधर साख्वाले लगेको उक्त बालुवाचाहिँ सुनमा परिणत भएपछि सौभाग्यवश र रातारात प्राप्त भएको सुन-धनलाई काठमाडौँ भरिका गरिबहरूलाई बाँडेर ऋणमुक्त गराएको अवसरमा ‘नेपाल संवत्’ चलाएका हुन् भन्ने मान्यता र विश्वास छ ।
मान्छेहरू आफू चर्चित हुन जे पनि गर्ने गर्छन् । तर ‘शंखधर साख्वा’ले आफू चर्चित हुन र आफ्नो नाममा नेपाल संवतको सट्टा ‘शंखधर साख्वा’ राख्न किन मरिहत्ते गरेनन् ? किन देशकै नाममा संवत् चलाउन लगाए ? यसले अवश्य नै उनको निःस्वार्थीपना र महानताको झलक दिन्छ ।
उनको यो पक्षको हामीले खुलेरै प्रशंसा गर्नु पर्नेहुन्छ । हुन त यसरी नेपालबाटै नेपालीले नै चलाएको विभिन्न मौलिक संवतहरू थुप्रै हुँदाहुँदै पनि हामीले अझसम्म भारतको कुनै राज्यको तत्कालीन राजाको नाममा चलेको भारत, वैशालीका राजा विक्रमादित्यको नाममा चलेको विक्रम संवतलाई नै नेपाली संवतको रूपमा चलाई रहेका छौँ, मानी रहेका छौँ ।
अझै पनि नेपालका केही राष्ट्रवादी लेखकहरू विक्रम संवत् भारतको नभएर नेपालकै हो ! भन्ने आशयको लेख लेखिरहेका छन् । तर विक्रम संवतको बहस तीतो वा वा मीठो जे भए तापनि यथार्थ त यर्थाथ हो । यसरी हेर्दा पूर्ण लोकतन्त्र मात्रै होइन, गणतन्त्र नै आईसकेको नेपालमा राज्यद्वारा अझै पनि नेपाल संवतलाई देशव्यापी रूपमा प्रचलनमा ल्याउने पहल भएको छैन ।
नेपाल देशकै नाममा रहेको मौलिक संवत् ‘नेपाल संवत्’लाई जनस्तरमा प्रयोगमा नल्याई अझै पनि विदेशी संवत् अर्थात् भारतको उज्जैन राज्यका तत्कालीन राजा विक्रमादित्यको नाममा स्थापित विक्रम संवतनै सरकारी प्रचलनमा विद्यमान छ ।
विक्रम संवतको थालनी चन्द्र शमशेरको पालामा नेपाल संवतलाई हटाएर सुरु गरिएको मानिन्छ । आयातित विक्रम संवतको स्थानमा नेपाल संवत् प्रचलनमा ल्याएर नेपालकै संवतलाई स्थापित गरि राज्य स्तरमा पुनः लागू गर्ने हो भने ‘नेवार समुदाय’ मात्रै होइन, सम्पूर्ण नेपालीमा गौरवानुभूति हुने थियो ।
त्यसैले, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान कायम गर्दै विदेशी विक्रम संवतलाई विस्थापित गरेर आफ्नै देशको मौलिक संवत् ‘नेपाल संवत्’ लागू गर्ने विषयमा सबैले छलफल गरेर अगाडि बढ्न सके सान्दर्भिक हुने देखिन्छ ।