मेरा बालसखाहरू अधिकाँश टोटीपाखाकै घर वरिपरिका हुन्थे । खेल्दा होस् या स्कूल जाँदाका साथीहरूमा भाइकाजी महर्जन, हीरा (साहिंला) महर्जन, भीमबहादुर (भिन्द्यः) महर्जन, गोविन्द महर्जन साथमा हुन्थे । त्यस्तै इमाखेलका नारायण बहादुर महर्जन, बसुलाल महर्जन (सुवाल) र आशानारायण महर्जन (सुवाल) पनि हुन् । स्कूल पढ्दाका अरु साथीहरूमा दहचोकका राधाकृष्ण दानी र ध्रुव दानी पनि हुन् ।
स्कूल पढ्दा त धेरै साथीहरू नभएको होइन । यहाँ नाम उल्लेख गर्दा कसैलाई मन पर्दैन पनि होला । फेरि कसैको नाम छुट्न गयो भने रिसाउने पनि होला भनेर सबैलाई मन भित्र अटाइ बसेको छु । त्यसबखत खासै केटीहरू साथी हुँदैन थिए । खेल्दा होस् वा स्कूलमा केटा र केटीहरू बेग्लाबेग्लै हुन्थे । त्यसैले केटीहरू साथी नभएको हो ।
यी साथीहरू मध्येमा पनि भाइकाजी महर्जन अलि टाठो र स्वभावैले चलाक खालको थियो । जुनसुकै कुराकानी होस् वा खेलमा जित्नै पर्ने स्वभावको थियो । तर सहयोगी भावनामा भने अग्रपंक्तिमा नै हुन्थ्यो। अहिलेसम्म पनि मेरो लागि सहयोग गर्न तत्पर नै रहन्छ ।
अरू साथीहरूमा हीरा (साहिंला) महर्जन अलि नरम स्वभावको थियो । कुनै पनि कुराहरूमा जिद्दी गर्ने स्वभावको थिएन । अरु साथीहरू त खासै फरक खालका थिएनन् । त्यसैले, मैले टाठो चलाक र नरम सोझापन भएका साथीहरूसँग संगत गर्न पाएको छु ।
नारायण बहादुर महर्जन र बसुलाल महर्जन आशानारायण महर्जन इमाखेलका साथीहरू हुन् । नारायण बहादुर र बसुलाल महर्जनको मामाघर टोटीपाखामा हो । उनीहरू मामाघर आउँदा कहिले काँहि आशानारायण पनि संगै आउने भएकाले उनीहरूसंग खेल्ने मौका पाएको हो । मैले सबै स्वभावका साथीहरूसँग धूलो माटोमा रमाउँदै विभिन्न खेलहरू खेलेको छु ।
अझ स्कूल पढ्दाका छरछिमेकका साथीहरूमा भीमबहादुर (भिन्यः) महर्जन, गोविन्द महर्जन, राधाकृष्ण दानी र ध्रुव दानी सबभन्दा मिल्ने साथीहरू हुन् । स्कूल पढ्दाका थानकोटका धेरै साथीहरू थिए । यहाँ नाम उल्लेख गर्न सम्भव भएन । यसको लागि म क्षमा याचना पनि गर्दछु ।
बालापनको खेल :
__________________
त्यतिखेर हामीहरू खेल्ने मुख्य खेलहरू कपर्दी, चिप्लेटी (भिरालो परेको घाँसे मैदानमा बाँसको बोका वा काठको फल्याक माथि बसेर चिप्लिएर खेल्ने खेल), भ्वःसुला (लुकामारी), खिचाकथी (हिलामा तिखो पारिएको लठ्ठी गाडेर खेल्ने खेल), कानाकाना पिच्चा (आँखामा पट्टी बाँधेर साथीहरूलाई छोई खेल्न) खेल हो । यस्तै अरु खेलहरू पनि छन् ।
घः कासा :
________________
त्यस्तै अर्को रमाईलो खेल घः कासा हो। यो खेलमा ८ जना खेलाडीहरूको आवश्यकता पर्दछ । अलि फराकिलो ठाउँमा एउटा चेप्टो खालको ढुङ्गा राखेर त्यसमाथि चारैतिरबाट चारजनाले ढुङ्गामाथि दुबै पैताला राखेर खुट्टा पसारेर बस्नु पर्छ । त्यसपछि बाँकी अर्को चारजनाले दुवैतिरबाट उनीहरूको दायाँबायाँ हात समातेर अलिकति माथि उठाएर ढुङ्गालाई घुमाएर खेलिन्छ ।
यो खेलमा एकजनाले मात्र गडबडी गर्नासाथ खेल नै भत्किन्छ । त्यसैले सबैजना इमान्दार भएर खेल्नु पर्छ । यसमा प्रायःजसो केटीहरू खेल्नमा रमाउँछन् । त्यसरी घुमाउँदा रिटा लागेर पनि खेल भत्किने सम्भावना बढी हुन्छ । अझ कुनैबेला केटाहरूको समूहबाट केटीहरूलाई जिस्क्याएर खेल भत्काउने कोशिस पनि गर्दछन् । तापनि सबैजना हाँसिखुसी नै खेलिरहेको हुन्छन् ।
घ्वाईं (याक) कासा :
__________________
यो खेल एक किसिले रमाईलो हो। यो खेल दुई किसिमले खेल्ने गरिन्छ । सानो चेप्टो ढुलाई ढ्याक बनाएर एक अर्काको ढ्याकमा लाग्ने गरी हिर्काएर खेल्ने गरिन्छ । यो खेल प्रायःजसो केटाहरू खेल्ने गर्छन् ।
अर्को घ्वाई कोठा कासा खेलमा चेप्टो खालको ठूलो ढुङ्गा वा समथर परेको जुनसुकै ठाउँमा खेल्न सकिन्छ । यो खेलको लागि कोठा बनाउन मिल्ने गरी लामो तीन वटा धर्सो तानेर त्यसलाई कोठा बन्द गर्नु पर्छ । अनि त्यसलाई तेर्सो धर्काहरू तानेर कोठाहरू बनाउनु पर्छ ।
त्यसरी कोठाहरू बनाउँदा खेल्ने व्यक्तिहरूको इच्छा र ठाउँ अनुसार बनाउन सकिन्छ । अनि त्यो कोठामा घ्वाई राख्दै घ्वाईंलाई अगाडि सार्दै विभिन्न किसिमले खेल्ने गर्दछन् । यो खेलमा पनि प्रायःजसो केटीहरू नै बढी सहभागी हुन्छन् ।
एकंघाला कासा (गट्टा खेल) :
__________________________
यो खेल एक किसिमले ईमान्दारी पूर्वक दुढ विश्वासकासाथ खेल्ने गरिन्छ । सायद यो खेलमा लप्पन छप्पन लाग्दैन । यो खेलको लागि ढुङ्गाको सानासाना गट्टाहरू सङ्कलन गरि ल्याएर खेल्ने गरिन्छ । यो खेल पनि दुई किसिमले खेल्ने गरिन्छ । गट्टाको थुप्रो राखेर खेल्दै गर्दा आखिरीमा कसले धेरै वा सबै जितेर लिन सकिन्छ भनेर खेलिन्छ ।
अर्को खेलमा ५/७ वटा गट्टा लिएर त्यो खेलको नियम अनुसार खेल्ने गरिन्छ । ठाउँ र परिवेश अनुसार खेलको नियम फरक हुन सक्छ । यो खेल पनि केटीहरू नै खेल्न बढी रुचाउँछन् ।
फय्गुलि चाःहिइकेगु (फिरफिरे घुमाउने) खेल :
_____________________________
कागजको फिरफिरेमा सियो, आलपिन वा लामो काँडो छिराएर हावाको वेगतर्फ देखाएर फुरररर…. घुमाउँदै रमाउँदै खेल्ने खेल हो । हावा नचलेको अवस्थामा त्यो फिरफिरे घुमाउन अगााडितिर देखाएर दगुरेर जाँदा पनि घुम्छ । जजसको फिरफिरे बढी घुम्छ उनीहरू निकै रमाउँछन् ।
फय्गुलि स्वाय्गु कासा (फिरफिरे गाड्ने खेल :
____________________________
यो खेलको लागि चार कुना मिलेको एउटा कागज एउटा सियो, निगालो वा कुचोको डाँठ वा नरम खालको एउटा हाँगोको छेस्को आवश्यक पर्छ । त्यो छेस्कोलाई एकापट्टि चार चिरा हुने गरी चिरेर त्यसमा चारपाते हुने गरी सोलीको आकारमा बनाएको कागजको टुप्पोलाई छेस्कोमा घुसारेर च्याप्नु पर्छ । छेस्कोको अर्को पट्टिको छेउमा सियोको टुप्पो बाहिर हुने गरी गाडेर निसाना ताक्दै हावामा फालेर खेल्ने गरिन्छ । त्यो सियोबाट कुनै निसाना वा कतै रोपेर खेल्ने गरिन्छ । निसाना चुकेर अथवा कतै ठक्कर लागेर सियो रोपिएन र ढल्यो भने त्यो निसाना ताक्ने व्यक्ति हार्ने खेल हो यो । यो खेल पनि केटाहरू नै बढी खेल्छन् ।
अरू पनि थुप्रै बालखेलहरू छन् । खास गरी हाम्रो पालामा बालबालिकाहरू खेल्ने मुख्य खेलहरू यिनै हुन् । यहाँ सबै खेलहरू उल्लेख गरिरहन सकिएन । मुख्यतया प्रचलनमा आएका खेलहरूको मात्र संक्षिप्त उल्लेख गरेको छु । अहिले त झन् नयाँ नयाँ किसिमका खेलहरू पनि सृजना भएका छन् ।
(साहित्यकार भीमनारायण श्रेष्ठद्वारा सम्पादन गरिएको दुर्गालाल महर्जनको ” मेरो जीवन वृतान्त” पुस्तकबाट)