काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।
भवन उट्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्दै नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।
प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ४ करोड ४६ लाख १८ हजार १ सय ९७ रूपैयाँ २२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न गरिएको हो ।
उद्घाटन समारोहमा नेपाली सेनाका उपरथी, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो ।