विज्ञापन
No data was found

'कथाकार सीता पाण्डेको पुस्तक विमोचनदेखि पठनसम्मको अनुभूति'

 

विज्ञापन

 

विज्ञापन

– शमिश्रण धारा

भर्खरै तीनवटा पुस्तक पढेँ ।
पहिला पुस्तक विमोचन कार्यक्रम कै समीक्षा गरौँ जस्तो लाग्यो । २०८२ कार्तिक १ गते बाजेको सेकुवा, बत्तिस पुतली,काठमाडौमा, एक समारोहका बीच कवि,कथाकार सीता पाण्डेका दुई कृति तीन पुस्तक विमाेचन भएको थियो ।
कविता सङ्ग्रह “टुकुनि खुसी र म” अनि गैर आख्यानात्मक कृति “रङ्गिन जामा” ! साईलेन्ट भ्वाईस रङ्गीन जामाको अङ्ग्रेजी अनुवाद हो डा.तारानाथ शर्माद्वारा । पुस्तक रङ्गिन जामालाई किन साईलेन्ट भ्वाईस भनेर अनुवाद गरिएको होला भन्ने पनि लाग्यो ।

कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार कृष्ण धराबासीले गर्नुभएकाे थियो भने प्रमुख वक्ताहरूमा अन्य वरिष्ठ साहित्यकारहरू नगेन्द्रराज शर्मा, डा.गोविन्द भट्टराई, डा. ज्ञानु अधिकारी रहनुभएको थियो । तीक्ष्ण स्मरण शक्ति भएका सतासी वर्षका वरिष्ठ साहित्यकार पुष्कर लोहनी, डा.सुरेन्द्र के सी, दिनेश त्रिपाठी लगायतले शुभकामना मन्तव्य दिनुभएको सो कार्यक्रममा पुराना पुस्ताका साहित्यकार, कलाकार, समालोचक, सम्पादक, शिक्षाविद्, कानुनविद्, राजनीतिक विश्लेषक, लेखक, पत्रकारहरूको उपस्थिति थियो ।

साहित्यकार युवराज गौतमले सञ्चालन गर्नु भएकाे सो कार्यक्रममा पछिल्लो पुस्ताको प्रतिनिधित्व भने कथाकार,लेखक,समालोचक अनिता पन्थी र म समिश्रण धाराले गरेका थियौँ। कवि कथाकार सीता पाण्डेको पुस्तकबारे सबैले आआफ्ना धारणा राख्नुभयो। यति धेरै वरिष्ठ व्यक्तिहरूको उपस्थितिले पक्कै पनि कवि, कथाकार सीता पाण्डेको कृतिमाथि बलियो हस्ताक्षर रहेको अनुभव भयो। सामाजिक संजालमा, पत्रपत्रिका आदिमा यो कार्यक्रमकाे निक्कै चर्चा हुनेछ भन्ने लागेकाे थियो तर, कहिँकतै पनि यस कार्यक्रमबारे पढ्ने अवसर प्राप्त गर्न सकिएन।

केहिदिनपछि लेखक स्वयंले नै उक्त कार्यक्रमको बारेमा लेखेर फेसबुकमा पाेष्ट गर्नुभयो। यो विषयले कता कता नमिठाेगरि छाेयो। त्यहाँ उपस्थित त्याे वरिष्ठ व्यक्तिहरूको जमातले किन केही लेख्ने साहस नगरेको होला? के मन राखिदिन मात्रै उपस्थित भएका थिए हाेला त सबै ? त्यसैले म आफै एउटा पाठकको हैसियतले यी कुरा लेख्ने आँट गरेँ।

कार्यक्रममा केही कमजाेर पक्ष पनि महसुस भयो। सुरुमा त कार्यक्रम सञ्चालक काे हो भन्ने पनि स्पष्ट देखिएन लेखक आफै बोल्न अग्रसर भइरहनु भएको थियो। कार्यक्रम सञ्चालनको पूर्वतयारी त्यति राम्राे भएको जस्ताे लागेन। लिखित कार्यतालिका नभएर अल्मलिए जस्तो देखिन्थ्यो। गायक जीवन शर्मालाई गीत गाउन लगाउनु हुँदैन थियो किनभने त्यहाँ जानेले सीता पाण्डेको लागि भनेर गएका हुन। अर्का एकजनाले बाँसुरी बजाएर पनि केही समय लिनुभयो एउटाको कार्यक्रममा अरुले समय लिएको राम्राे भएन। पत्रकार टिकाराम यात्री, दिलभूषण पाठक आदिको समय त्यसरी खेर फालिदिनु हुँदैनथ्यो।

अब लागौँ पुस्तकतिर –
२०४५ सालमा प्रथम पटक प्रकाशित कथा सङग्रह “बन्धकी खुसीहरू”,कविता सङ्ग्रह “टुकुनी खुसी र म” साथै, “रङ्गिन जामा” एकैसाथ सँगसगै पढेँ। कथाकार त बन्धकी खुसीहरूमा निक्कै सबल पाएँ । त्यो बेलानै उहाँको कथा लेख्ने शिल्प बेजाेड रहेछ । मसँग पुरानै संस्करण थियो त्यसैले लाग्यो यो कथा सङ्ग्रह पुन:प्रकाशन गरेपनि हुने भनेर, यसमा समावेश सबै कथाहरू निक्कै राम्रा लागे । एकपटक सुरु गरेपछि कथाले नै खुरुखुरु हिंडाईरहने, राेकिन मनै नलाग्ने, थकाई लाग्ने समय आउनुपूर्वनै कथा सकिई सकेको हुन्थ्यो । एउटा कथा पढिसकेपछि अर्को कथा पढ्न उर्जा प्राप्त हुने विशेषता मैले बन्धकी खुसीहरूमा पाएँ ।

अब पालो कविताको,
कविता हृदयले लेख्नुभएको रहेछ, यसको भावपक्ष निकै सुन्दर छ तर कलात्मकतामा चाहिँ केही कमी रहेको महसुस गरेँ। छाेटाे कवितामै आफ्ना विचार भावना पोख्न सकिने ठाउँमा कविले कवितालाई अनावश्यक लम्ब्याएको जस्तो लाग्यो । हुन त कविताले विश्लेषण अपेक्षा राख्दैन । उहाँलाई जुनजुन कुराले हृदयमा च्वास्स छोएको छ त्यहि भावलाई कवितामा पाेख्नुभएको छ। सरल शिल्पमा लेखिएका कविता सबैलाई उत्कृष्ट नलाग्न सक्छ तर ज-जसलाई यसले छुन्छ ती सबैका लागि प्रिय कविता हुन्छ नै । विदेशमा रहनेलाई भेटहुँदा कहिले फर्किने भनेर प्रश्न गर्दा कति चोट लाग्दाे रहेछ, आफ्नै जन्मभूमिमा पाहुना जस्ताे हुनुपर्दा कति पीडा हुनेरहेछ भन्ने कुरा कविले कविता मार्फत व्यक्त गर्नु भएको छ।

अब रङ्गिन जामाको पालो,
गैर आख्यानात्मक यो कृति एउटा बुलन्द नारी आवाज हो। फरक समाजको परिकल्पना हो । यौनलाई केन्द्रमा राखेर लेखिएको यो पुस्तकले नारीहृदय र पुरुष दृष्टिकोण र यथार्थता बीच भिन्नता उजागर गरेको छ ।

यौनको विषयमा प्रस्टसँग बहस गर्ने क्षमता राख्ने सीता पाण्डेको कलम धेरै मजबुत छ। आफ्ना यौन अनुभूति प्रस्टसँग बाहिर ल्याउन सक्नुनै उहाँको विशेषता हो । यौन जीवनको अभिन्न अङ्ग भैकन पनि यसलाई सङकोचको विषय बनाउने यो समाजप्रति लेखकको एउटा विद्राेह पनि हाे। नारी पुरुष बिचको भेदभावको विरोध अनि पुरुषका नारीप्रतिको उपभोगवादी दृष्टिकोणप्रति पनि लेखकले लेखन मार्फत आवाज उठाउनु भएको छ।

उहाँले बहुविवाह हैन बहुपत्नी र बहुपतिको विषय उठान गर्नुभएको छ।यसै सन्दर्भमा एकठाउँमा लेख्नुहुन्छ “म भौतिक रूपमा त्यति सम्पन्न र समृद्ध भइदिएकी भए, कमसेकम एक दर्जन पुरुषहरूसित खुसीसाथ विवाह गर्थेँ।उनीहरूलाई सुनको सिक्री, ब्रासलेट,रिङ लगाईदिन्थेँ, फ्रिज, टेलिभिजन उपलब्ध गराईदिन्थे,अनि घरमै मिनीबार खोलिदिएर पप्लु र म्यारिजका लागि चार वण्डल तास छाडेर गेटमा ताल्चा लगाई दिन्थे। अनि, त्यसको चाबी पर्समा राखेर कुनै रोमान्टिक गीत गाउँदै निर्धक्क कतै हिडिदिन्थेँ। त्यसाे गर्न सकेकी भए आहा! कति रमाईलो हुन्थ्यो होला एक दर्जन श्रीमानहरूले एक जनालाई अधैर्यपूर्वक प्रतीक्षा गरिरहेको। अनि मन लागेको कुनैपनि बेला घर आउँथे, तिनीहरू मध्ये आज तिम्रो पालो भन्दै कुनै एउटालाई लिएर अर्को कोठातिर लान्थेँ भने बाँकीको अनुहार र हालत कस्तो हुन्थ्यो होला?” यो लेखकको निकै कडा व्यङ्ग्य हो। उहाँले यस्ता धेरै विषयहरू उठाउनु भएको छ यो पुस्तकमा ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत