काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन बन्दसत्र आज बिहान १० बजेबाट सुरु हुने भएको छ ।
महाधिवेशन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया अझै बाँकी रहेको र बिहानको खाजा समय समेत व्यवस्थापन गर्नुपर्ने भएकाले बन्दसत्र दुई घण्टा पछि सारिएको हो ।
प्रचार प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए अनुसार, बिहान ८ बजेबाट प्रतिनिधि दर्ता तथा खाजाको कार्यक्रम सुचारु हुनेछ भने त्यसपछिको समय अर्थात् १० बजेबाट मात्रै बन्दसत्रको औपचारिक सुरुवात हुनेछ ।
महाधिवेशनमा सहभागी हुन देशैभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति देखिएको छ । आइतबार बिहान सवा ८ बजेबाट सुरु भएको दर्ता प्रक्रिया अन्तर्गत हालसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन् ।
आयोजकले सहजताका लागि सातवटै प्रदेशका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै डेस्क खडा गरेर दर्ता प्रक्रिया अघि बढाएको छ । आज बिहान ८ बजेबाट प्रतिनिधि दर्ता सुरु भइसकेकाे छ ।