काठमाडौं । सुरक्षा गार्डको हात काटेर सिन्धुली, घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंक लुटिएको छ ।
स्थानीय प्रहरीका अनुसार हिजो बेलुकी ६:३० बजेतिर लुटेराहरू आएर गार्डलाई सुरुमा आक्रमण गरेको र गार्डले रोक्न खोज्दा उनको हात काटिदिएको साथै, पेस्तोल र खुकुरी देखाएर नियन्त्रणमा लिई बैंक लुटिएको हो ।
सिन्धुली गाउँपालिकाको भवनमा रहेको नेपाल एसबिआई बैंकको शाखाबाट लुटेराहरूले कर्मचारीहरूलाई बन्धक बनाएर बैंक लुटेपछि गाउँमा हल्लाखल्ला भएको र गाउँलेहरूले हारगुहार गर्दा प्रहरीहरूले लुटेराहरूको पिछा गरेको र लुटेराहरूले चढेर आएको गाडी जंगलमै छाडेर भागेको बताइएको छ ।
लुटेराहरू भाग्ने क्रममा लुटेको मध्ये एक बोरा पैसा गाडीमै छोडिदिएको र बोकेको अरु पैसा पनि भाग्ने क्रममा ठाउँ ठाउँमा फाल्दै भागेकाले जंगलको बाटोमा नोटका बिटाहरू यत्रतत्र छरिएको अवस्थामा त्यो पैसा स्थानीयले प्रहरीको जिम्मा लगाएको बताइएको छ ।
हाल, प्रहरीले बैंक लुट्नका लागि प्रयोग भएको गाडी र सवारी चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।