काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जनासम्म कर्मचारी खटाउने गरी तयारी थालेको हो ।
अहिले देशभर कुल २३ हजार ११२ मतदान केन्द्र तय गरिएका छन् । यी सबै केन्द्रमा कर्मचारी खटाउँदा करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले कर्मचारी व्यवस्थापनबारे जानकारी दिँदै भने, ‘निजामती कर्मचारीले पुगेसम्म उनीहरूलाई नै प्राथमिकता दिइनेछ, तर अपुग भएको खण्डमा सामुदायिक विद्यालयका शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीलाई समेत जिम्मेवारी दिइनेछ ।’
आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ निर्वाचन अधिकृतको कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्व सम्भव भएसम्म जिल्ला न्यायाधीशले गर्नेछन् भने निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिव स्तरका कर्मचारी रहनेछन् । त्यस्तै, जिल्ला र प्रदेश स्तरका कार्यालयमा क्रमशः शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले नेतृत्व गर्ने गरी तयारी भइरहेको प्रवक्ता भट्टराईले बताए ।