काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटका भीमनारायण श्रेष्ठ साइबर अपराधको जालोमा परेका छन् ।
माघ ११ गते दिउँसो साढे ११ बजेतिर अपरिचित नम्बर ९८२६३७४८६२ बाट बैंकको के.वाई.सी. अपडेट र मोबाइल बैंकिङ नवीकरण अनलाइन बेशमा अपडेट गर्नुपर्ने भन्दै आफुलाई फोन आएको साथै, व्हाट्सअपमा फोन गर्छु उठाउनु भनेर फेस आईडी लिएको त्यसपछि फोन गरेर “मोबाइल बैंकिङ अपडेट भयो होला हेर्नू, मोबाइल बैंकिङ खोल्नू, पासवर्ड सहि छकी छैन चेक गर्नू साथै, मेसेज बक्स खोली हेर्नू” भन्दै उताबाट आग्रह गरेको र एकछिनमा मेसेज बक्स खोली हेर्दा नेपाल बैंकको खाताबाट ५० हजार रुपैयाँ निकालीसकेको श्रेष्ठले बताए ।
आफ्नो खाताबाट ५० हजार निकालिएको विषयमा कुरा गर्दैगर्दा थप ५० हजार निकालिएको देखिएपछि शंका लागेर तत्काल नेपाल बैंकको शाखा कार्यालयमा पुगि व्यवस्थापकसँग छलफल गर्दैगर्दाको क्रममा मेसेज हेर्दा पुनः ५०, ५० हजार रुपैयाँ गरि १ लाख रुपैयाँ निकालीसकेको उनले बताए ।
श्रेष्ठले शोणितपुर खबरलाई दिएको जानकारी अनुसार उनको नम्बरबाट ई.सेवा खोलेर ४ ओटा अलग अलग नम्बर मार्फत २ लाख रुपैयाँ उनको खाताबाट ट्रान्सफर गरिएको पाइएको हो ।
आफ्नो खाताबाट रकम निकालिएपछि बैंकको परामर्श अनुसार बैंक खाता र मोबाइल बैंकिङ समेत रोक्का गरि प्रहरी वृत्त थानकोटको समन्वयमा साइबर ब्युरोमा निवेदन दर्ता गरिसकेको श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठको भनाइ अनुसार फोन गर्ने पुरुष रहेको र हिन्दी “लवज” मा कुरा गरेको खुलेको छ ।