“डिपफेक” सामाग्रीको प्रयोगले निर्वाचन प्रक्रियामा भ्रम सिर्जना गर्ने र तथ्य विपरित समाचार सम्प्रेषण हुने खतरा बढ्दै गएको छ ।
पछिल्लो समय “डिपफेक”को चर्चा निकै हुने गरेको छ । सूचना प्रविधिको दुनियाँमा हामीले जे देखिरहेका छौं, त्यो शत प्रतिशत सत्य हुन्छ भन्ने छैन । जसरी सामाजिक सञ्जालमा भ्रामक तरिकाले समाचारहरू सम्प्रेषण गरिन्छ, त्यसैगरी भिडियोहरू पनि भ्रामक तरिकाले सम्प्रेषण गरिन्छ ।
आर्टिफेसियल इन्टेलिजेन्स (एआई) वा अन्य एपको सहयोगमा कुनै व्यक्तिको अनुहार, बोली र हाउभाउ दुरुस्तै हुने गरी भिडियो बनाउने यही प्रविधिलाई “डिपफेक” भनिन्छ । जसमा वास्तविक भिडियो र नक्कली भिडियो कुन हो भन्ने पहिचान गर्न निकै गाह्रो हुन्छ । यसको चरम दुरुपयोग हुँदा पछिल्लो समय सेलिब्रेटीहरूको करिअरमासमेत गम्भीर असर पर्न थालेको छ भने आसन्न निर्वाचनको प्रक्रियामा समेत असर पार्ने देखिएको छ ।
“डिपफेक” प्रविधिले कसरी काम गर्छ ?
डिपफेक एआईले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुनै दोस्रो व्यक्तिको फोटो, अडियो वा भिडिओ बनाउने काम गर्छ । जसका लागि दुई ओटा एल्गोरिदमको सहायता आवश्यक पर्छ ।
पहिलो जेनेरेटर र अर्को हो डिस्क्रिमिनेटर । जेनेरेटरले नक्कली कन्टेन्ट बनाउने । र, डिस्क्रिमिनेटरले उक्त नक्कली कन्टेन्ट कत्तिको सक्कली जस्तो देखिन्छ भन्ने पहिचान गर्छ ।
अर्थात् जबसम्म फेक फोटो वा भिडियो सक्कली जस्तो लाग्दैन तबसम्म डिस्क्रिमिनेटरले त्यसलाई ठिक बनाउँछ ।
यही जेनेरेटर र डिस्क्रिमिनेटर एल्गोरिदमको संयोजनलाई जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (जीएएन) भनिन्छ । जीएएनले डिप लर्निङको प्रयोग गरी नक्कली कन्टेन्ट तयार पार्छ । फोटो मात्र नभइ भ्वाइस पनि डिप फेक प्रविधिद्वारा तयार पारिन्छ ।
कसरी चिन्ने ?
सबैभन्दा पहिला अनुहार र कानको आकारमा ध्यान दिन जरुरी छ । त्यसका लागि तपाईँले अन्य कुनै असली भिडियोसँग तुलना पनि गर्न सक्नुहुन्छ ।
आँखाको माथि आँखीभौँको क्रियाकलापलाई पनि चेक गर्न सकिन्छ भने आँखाको गतिविधिलाई ध्यानसँग हेर्दा केही फरक पाइन्छ ।
भिडियोसँग आवाज सही तरिकाले मिलेको छ कि छैन,तिनीहरूको शरीरको रङ्गबाट कस्तो छ भन्ने ध्यान दिँदा पनि यो पत्ता लगाउन सकिन्छ ।
सामान्यतया यस्ता भिडियोहरूमा अनुहार र शरीरको रङ्ग मेल खाँदैनन् । यसबाहेक भिडियो ग्लिचको माध्यमबाट पनि नक्कली भिडिओ पहिचान गर्न सकिन्छ ।