काठमाडाैं । नेपालभाषा एवं नेपालीभाषा साहित्यका आधुनिक कवि, वरिष्ठ पत्रकार एवं व्यंग्यकार सुरेश किरण मानन्धरको १३ औं दिनको पुण्य तिथिमा उहाँको स्मृतिमा गत शनिवार काठमाण्डौंको नेपाः बैंक्वेटमा श्रद्धाञ्जलीसभा आयोजना गरियो ।
नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू र नेपालभाषा टाइम्सको संयुक्त आयोजनमा गरिएको उक्त सभामा नेपालभाषा एकेडेमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले स्वर्गीय मानन्धरको व्यक्तित्वको बारेमा आप्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा मंकाः खलःया अध्यक्ष रमेशमान पिया, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपालभाषा टाइम्स पिथना प्रा.लि. का अध्यक्ष रमेशकाजी स्थापितले स्वर्गीय मानन्धरको विविध व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेवाः पासा पुचः अमेरिकाका प्रमुख सल्लाहकार विजय श्रेष्ठले पुचःको शोक वक्तव्य प्रस्तुत गर्नुभएको हो भने स्वर्गीय मानन्धरको परिवारलाई पुचःले दुई लाखको नगद सहयोग पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के.सुन्दर, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगीब बनेपाली, कवि प्रतिसरा साय्मि, रजनी मिलालगायत विविध क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्वर्गीय मा. सुरेश किरण मानन्धरले मह अदालत (रेडियो नाटक श्रृंखला), मह चौतारी (टेलिसिरियल), पद्मरत्न तुलाधर नेवाः न्ह्यलुवाः पद्मरत्न तुलाधरया जीवनी, थौं घण्टाघरं जिके र्ई न्यनाच्वन, यँयाः (इन्द्रजात्रा, सहलेखन) आदि कृति प्रकाशित छन् । स्वर्गीय मानन्धरलाई पारिजात सिर्जनशील पुरस्कार २०५६, राष्टिय प्रतिभा पुरस्कार २०५७, जरिमैँया पुरस्कार २०६८, गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०७०, लहना धर्म–मोति नेपालभाषा पत्रकारितन सिरपाः ने.सं.११३५ आदि पुरस्कारद्धारा विभूषित गरिएको पाइन्छ ।
वि.सं. २०४१ सालदेखि २०५१ साल सम्म नेपालभाषाको दैनि पत्रिका विश्वभूमि, वि.स..२०५१ सालदेखि २०७२ सालसम्म नेपालभाषाको दैनिक पत्रिका सन्ध्या टाइम्स र वि.सं. २०७३ सालदेखि २०८१ सम्म नेपालभाषाको दैनिक पत्रिका नेपालभाषा टाइम्समा सम्पादकको रुपमा कार्यरत स्वर्गीय मानन्धरले ५० भन्दा बढी पत्रकारिता सम्बन्धी तालिम, तथ्यांक संकलन तालिममा सक्रिय हुनुभएको देखिन्छ ।
कविता वाचन गरेर कविलाई श्रद्धाञ्जली
कविताया लाय्कूको आयोजनामा गन आइतबार मंकाः खलःको भवनमा आधुनिक कवि मा. सुरेश किरणको स्मृतिमा उनकै कविता वाचन गरी शोकसभा गरियो । सभामा नेपालभाषा एकेडेमीका चान्सल मल्ल के. सुन्दरले स्वर्गीय मानन्धरको पत्रकारितामा कसरी प्रवेश भयो भन्न सन्दर्भमा बोल्नुभएको थियो ।
कार्यक्रममा प्रतिसरा साय्मि, सुशील राजोपाध्याय, रहेना नकःमि, नारद बज्राचार्य, राजभाई जकःमि, मञ्जु नकःमि, बिनिता बज्राचार्य, लक्ष्मी माली, रमि प्रिया, रजनीमिलले स्वर्गीय मानन्धरका कविता वाचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष ज्योतिप्रभा तुलाधरको शोक मन्तव्य संस्थाका उपाध्यक्ष बिनिता शाक्यले वाचन गर्नुभएको उक्त शोकसभामा नेपालीभाषाका कवि अभय श्रेष्ठले स्वर्गीय मानन्धरका विविध साहित्यिक विधाका बारेमा चर्चा गर्नुभएको थियो । सभामा नेपालभाषा एवं नेपालीभाषाका विविध क्षेत्रका व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको थियो ।