काठमाडाैं । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार आजदेखि जापानको एउटा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ एसइई परिक्षा सुरु हुँदैछ ।
चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिंदै छन् । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८ सय ७ जना छात्र र अन्य सात जना परीक्षार्थी रहेका छन् ।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुनेछन् ।