काठमाडौं । आजबाट विनाशकारी भूकम्प गएको १० वर्ष पूरा गरी ११ वर्षमा लागेको छ । वैशाख २०७२ (२५ अप्रिल २०१५) का दिन गोरखा बारपाक भएर भूकम्प थियो ।
७.६ रेक्टर स्केलको उक्त विनाशकारी भूकम्प बिहान ११ बजेर ५६ मिनेटमा गएको थियो। भूकम्पपछि वैशाख १३ र वैशाख २९ गते शक्तिशाली परकम्पहरू समेत गएको थियो। यस प्रकोपले काठमाडौँ उपत्यकासहित देशका १४ जिल्लालाई अति प्रभावित बनाएको थियो।
भूकम्पका कारण करिब ९ हजार मानिसको ज्यान गएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। लाखौँ मानिस घरबारविहीन भई विस्थापित भएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका थिए। यस विनाशकारी घटनाले धरहरा, काठमाडौं दरबार स्क्वायर लगायतका सयौँ ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्याएको थियो।
विशेषगरी सिन्धुपाल्चोक जिल्ला, दोलखा जिल्ला, काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौँ जिल्ला, ललितपुर जिल्ला, भक्तपुर जिल्ला, नुवाकोट जिल्ला, रामेछाप जिल्ला, ओखलढुङ्गा जिल्ला, गोरखा जिल्ला, धादिङ जिल्ला, मकवानपुर जिल्ला, सिन्धुली जिल्ला, रसुवा जिल्ला र सोलुखुम्बु जिल्लामा ठूलो क्षति पुगेको थियो।