काठमाडौं । देशका थोरै भूभागमा मंगलबार र बुधबार (वैशाख १५–१६) भारी वर्षाको पूर्वानुमान छ । यो साताभरि नै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
“वैशाख १५ गते (मंगलबार) र १६ गते (बुधबार) कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ,” विभागले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यी दुई दिन कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ । अर्थात्, यी दुई दिन देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव देखिएको विभागले जनाएको छ ।
सोमबार (वैशाख १४) समेत देशका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ । यस दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।