काठमाडौं। अमेरिका र इजरायलले करिब २ महिनादेखि इरानमाथि गरेको सैन्य कारबाही समाप्त भएको घोषणा गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्धको आक्रामक सैन्य कारबाही समाप्त भएको घोषणा गरेका हुन्।
ह्वाइट हाउसमा मंगलबार आयोजित ब्रिफिङमा उनले करिब दुई महिना चलेको ‘अपरेसन एपिक फ्युरी’को चरण पूरा भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अपरेसन एपिक फ्युरी समाप्त भएकोबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई जानकारी गराएका छन्। अब अमेरिका रक्षात्मक अवस्थामा सरेको स्पष्ट पारे।
उनका अनुसार अबको मुख्य ध्यान इरानी बन्दरगाहहरूको नाकाबन्दी लागू गर्ने तथा विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमा व्यावसायिक आवतजावत पुनः सुचारु गराउनेमा केन्द्रित हुनेछ।
यद्यपि, इरानले अमेरिकी सेना वा जहाजमाथि आक्रमण गरे कारबाही गरिने उनले बताए। विदेशमन्त्री रुबियोले होर्मुज जलमार्गमा जारी द्वन्द्वका कारण हालसम्म १० जना सर्वसाधारणको मृत्यु भएको पनि पुष्टि गरे।–एजेन्सी