काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुमा महिलाहरूमा देखिने विभिन्न स्वास्थ्य समस्याको पहिचान तथा व्यवस्थापनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ कार्यालयका अनुसार महिलाहरूमा हुने स्तन क्यान्सर, अब्स्ट्रेटिक फिस्टुला, आङ खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापनका लागि नगरस्तरीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
शिविरमा ३० वर्षमाथिका महिलाहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन सक्नेछन् । वडा कार्यालयले बलम्बु क्षेत्रका सबै महिलाहरूलाई उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
शिविर जेठ १३ गते बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । शिविर बलम्बु स्वास्थ्य चौकी, चन्द्रागिरि–१२ बलम्बुमा सञ्चालन गरिने जनाइएको छ ।
साथै, शिविरमा सहभागी हुन चाहने महिलाहरूले सोही दिन दिउँसो २ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।