विज्ञापन
No data was found

'जुनू रानाका जूनजस्ता कविताहरू'

सायद –
अस्तित्वको सबैभन्दा ठूलो संकट
आफू हुनुका तमाम चेतनाहरू
नष्ट हुनु हो !

सायद –
अस्तित्वको सबैभन्दा ठूलो प्रमाण
आफुले आफैलाई खोजेर भेटाउनु हो !

प्रवासमा बसेर
देशको कविता लेखिरहेकी ।

कवितामा , समता , समान्ता र विद्रोह लेखिरहेकी ।

“रातो नदी” कविता कृति मार्फत
नेपाली साहित्यमा उभिन आइपुगेकी ।

“जुनू राना”को जूनजस्ता ३ कविता –

आजको “शनिबार – साहित्यबार”मा
प्रस्तुत गरिएको छ ।

लालसा

समयले जिन्दगीको बाटो खन्दै हिंड्छ
म त्यही बाटो हिंडिरहेकै छु
विवशता या भौतिकताको मोहले
म जहाँ जहाँ पुगौं
कानमा देश बजिरहन्छ ।

विज्ञापन

हिउँ परेपछि पैयुँखोलाको चिसो पानीले जस्तै
समुद्रलाई चुनौती दिन्छ
लाग्छ म त्यहीँ छु
घरीघरी लाग्छ
म काठमाडौंको साँघुरो गल्लीमै छु
जन्मभूमिको यादले छोड्दैन
कुनै कडा मदिराको मात जस्तो
कानमा देश बजिरहन्छ ।

विज्ञापन

गाउँको कान्लामा रुझेका पहेंलै
कन्ठ फूलहरू
बारीमा झुलेका आशका बालाहरु
खेतमा लहराएका वर्ष धान्ने भरोसाहरु
एकोहोरो टङ टङ
तालबराही मन्दिरको घन्टी जस्तो
सराङकोटको याद बल्झिने
कानमा देश बजिरहन्छ ।

यो पराइ देश
माईतीबाट फर्केकी
नवविवाहिताको निमित्त
कर्म घर विरानो बनेजस्तै
यी विदेशको गल्ली र चोक
अत्यास लाग्दो विरानो लाग्छ
कानमा देश बजिरहन्छ ।

आगोको तह

तिमीसँग भएको
थोरै हिउँद सापटी लिएर
मैले यो हृदयको आकाशमा
सँधै उदाइरहने सूर्यलाई स्पर्श गर्नुछ
र सन्तुलनमा राख्नु छ
त्यहाँ बगिरहने
आगोको नदीलाई ।

जसरी
आफुभित्र समाहित गरेको छ
“आगोको तह”
मैले जस्तै पृथ्वीले पनि

यसरी
अकाट्य समानता छ
यो सुर्य र पृथ्वीसँग
मेरो अस्तित्वको !

तिम्रो उपस्थिति

एउटा आकाश हृदयमा खुल्छ
र त्यो आकाशमा तिमी
‘सूर्य’ बनेर बसेका छौ ।

एउटा एट्लान्टिक
हृदयमा फैलिएको छ
त्यो एट्लान्टिकको गहिराईमा
सुरम्य ब्रह्माण्ड बनेर
तिमी बसेका छौ ।

एउटा चोमोलोङ्मा
यो मुटु समीप अग्लिन्छ
त्यो उचाइको सर्वोच्चता
तिमी बनेका छौ ।

एक अनुभुती जो
हृदयमा सुसाइरहन्छ
त्यो सुसाइको लय तिमी बनेका छौ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌