काठमाडौं । सर्वोच्च अदालतले एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा ओली र लेखकलाई रिहाइ गर्न आदेश दिएको हो । शर्मा र पोखरेलको इजलासमा रिटको सुनुवाइपछि रिहाइ गर्न आदेश भएको छ ।
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले दायर गरेको रिट सर्वोच्चले सो आदेश जारी गरेको छ ।
प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै दायर भएको रिट सर्वोच्चले रिहा गर्न आदेश गरेको हो ।
गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने क्रममा प्रहरीले ओली र लेखकलाई गत चैत १४ गते पक्राउ गरेको थियो ।
दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जीलाई समर्थन गराई पटक–पटक म्याद थपको समेत अनुमति पाएको हो ।
प्रहरीले ओली र लेखक दुवैको बयान समेत लिने कार्य सम्पन्न गरिसकेको भए पनि थप अनुसन्धानको कार्य बाँकी नै रहेको भन्दै आइतबार मात्र जिल्ला अदालतबाट ५÷५ दिनको म्याद थप लिएको थियो ।
यससँगै ओली र लेखक चैत २६ गते रिहा हुनेछन्। इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।