विज्ञापन
No data was found

'नारायणप्रसाद पोखरेलका तीन कविता'

छन्द कवितामा सिद्धहस्त, प्रकृतिका पारखी, शाश्वत सत्यको अभिव्यक्ति, स्वसंस्कृतिका अनुरागी  कवि नारायणप्रसाद पोखरेलका महाकाव्य, खण्डकाव्य, स्मृति काव्य आदि करीब दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् ।  गोरखा जिल्लाको मनकामना गा.वि.स. बनौतीमा पिता पद्मविलास पोखरेल र माता हेमकुमारी पोखरेलबाट वि.सं. २०२० सालमा जन्मिएका नारायणप्रसाद पोखरेल लामो समय गोरखामै शिक्षक पेसामा आवध्द रहेका थिए । गोरखा जिल्लाका गाउँमै बसेर काव्य साधनामा तल्लिन कवि पोखरेलका तीन कविताहरू आजको शनिवार साहित्यबारमा ।

  • नारायणप्रसाद पोखरेल

विज्ञापन

नानी बनाना भन

पातो पित्तलतुल्यको म गुरुबा नानीहरू हौ सुन

विज्ञापन

नौलो पाठ पढाउँदै छु दिलका दोकान खोली सुन !

मेटाओ पहिचान जीर्ण घरको ल्याओ पराईपन

केरा नाम सुनिन्न नूतन नयाँ नानी बनाना भन !

काटी केक विशेष जन्मदिनको उल्लास सम्झाउन

बत्ती झ्याप्प निभाउँदै घरघरै ताली बजाए सुन

भन्छन् फेरिनुपर्छ चिन्तन सुन्यौ आयो जमाना नयाँ

केरा खानु हुँदैन नाम नभनी नानी बनाना भन !

अङ्‌ग्रेजीमय भैसक्यो मुलुक यो के गर्नु खै दोमन

नेपालीलय छन्दका लिपि भुली लेख्‍ने गरे रोमन

 नेपाली किन पढ्‌नु संस्कृति गयो जाओस् पुरानोपन

केरा, स्याउ र सुन्तला नभन बा ! नानी बनाना भन !

भाषानाल निदाल धर्म सकियो थोत्रो भयो रे घर

यो नेपाल पुरानु भो अब नयाँ ने-फाल भन्ने गर

कक्षामा घरगाउँमा सहरमा अंग्रेजजस्तै बन

केरा भन्नु हुँदै हुँदैन नि नयाँ नानी बनाना भन ।

इच्छा जान अमेरिकातिर भए खुट्‌टो उचाली बस

जिब्रो ओठ बिगार रे वदनमा फुस्रो खरानी घस

हाँस्दा इङ्ग‌लिसबाट हाँस र रुँदा ठ्‌याक्कै उतैको बन

केरा भन्न सुहाँउँदैन नि नयाँ नानी बनाना भन ।

आमा बा जिउँदै मरे नभन भो मम्मी र ड्‌याडी भन

हिँड्छन् सज्जन त्यै भएर मुडुला टोपी फुकालीकन

खाओ इङ‌लिसबाट खानु छ भने नेपाल नङ्‌ग्‌याउन

केरा होइन सभ्य बन्नु छ भने नानी बनाना भन !

को चोर को सज्जन ?

भन्छन् ज्यूनु वृथा छ मानव जुनी किर्ना जुकाझै बनी

पर्दाभित्र छिपेर रक्त पसिना प्यूँछन् तिनै तन्तनी

लुट्‌ने कर्म गरे मरे सरह रे भन्दै छ लुट्‌दै धन

औँल्याएर यही भनूँ म कसरी को चोर को सज्जन ?

कालो हैन भनी प्र‌माणित गरी घोटेर कालो कसी

काला सुन्दर देखिए सतहमा पोतेर सेतो मसी

सेतो देखिन त‌‌ड्पिएर कतिको कालो गरायो मन

कस्तो भ्रान्ति मडारियो मगजमा को चोर को सज्जन ?

पासा फाल्न फसाउनै सकुनिझैँ खासा सिकेका कला

साँचो बोल्छु ‌भनी युधिष्टिर बनी बिल्ला भिरेका भला

आँखा चिम्म गरेर मन्त्र जसरी जप्तै छ कालो धन

ठग्ने गर्छ भने चिनिन्छ कसरी को चोर को सज्जन ?

जो बाल्मीकि भए प्रसिद्ध पहिले सुधेर रत्नाकर

को बाल्मीकि भए प्रसिद्ध अहिले ? सुध्रेन रत्नाकर

छन् बाल्मीकि कि छद्म भेष पहिरी कस्दैछ पद्मासन

छैनन् भन्नु कि छन् चिनिन्न सजिलै को चोर को सज्जन ?

मोरीझैँ मन मिल्नुपर्छ महझैँ मीठो गरौं सिर्जना

भन्दै चुस्तछ सन्तका श्रम सधैं आलस्यको तिर्सना

लाऊन् चट्ट ललाटमा विगुत वा घोटी कुनै चन्दन

टीका छोप्न कलङ्‌क लाउँछ भने को चोर को सज्जन?

ब्वाँसा सज्जन भैसके अब छ को भित्र्याँस चोर्नेहरू

गर्दै छन् उपदेश देश अमिलो जस्तै निचोर्नेहरू

चौरै चोर र चोरकै बिगबिगी छैनन् कुनै सज्जन

भन्छन् लाज पचाउँदै नकचरा को चोर को सज्जन ?

आचार संस्कार खै ?

आँखा चिम्म गरेर स्वार्थ-रहमा चुर्लुम्म डुब्दै छु म

ज्ञानी को छ मझै भनी मगजमा मैलो थुपार्दै छु म

जानें जागिर खान मात्र खिइँदै खाएर के सार भो ?

हाहामा दगुरे तथापि भनियो यो दिव्य संसार हो ।

कस्तो पाठ पढाइयो कि पढियो पत्तो नपाए सरि

राती झैँ चुकमन्ध देख्छु दिउँसै छन् भ्रान्ति आँखा भरी

आफैँ भित्र छ अन्धकार भुमरी बाँडे उज्यालो कति

भन्दै गर्व गरेँ, गिरे सतहमा कैले सुधारें मति ?

द्रोणाचार्य बने वृहस्पति बने चर्चा लिएँ नामले

आफैँ दङ्‌ग परी म सज्जन भनेँ कस्तो बनें कामले ?

चेलाका अनुहार हेर्छु उभिई चाणक्यमै देखिए

ऐनामा प्रतिविम्ब खै विदुरको होलान कतै छेकिए

मेरो देश र वीरभद्र गरिमा माटो पढाएँ जति

घोकाएँ जननी र जन्मघरको गाथा महत्ता कति

कोरा कागजका बुँदा पढ भनें फोस्रो परीक्षा लिन

आफैँ फेल भएँ अझै भनिरहें उत्कृष्ट चेला किन ?

बिर्सी मूलथलो कता बहकिएँ कित्ता र भित्ता चुनी

झोले भै दगुरी वरिष्ट गुरुजी भन्ने म हो बैगुनी 

कस्तो शान दिएँछु बेथिति बढ्‌यो आचार संस्कार खै ?

लज्जाबोध भएन हो म गुरुजी भन्दै छु आँफै अझै ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत