काठमाडौँ । नवरात्रको सातौँ दिन आज हिन्दुहरुको घरघरमा फूलपाती भित्र्याएर मनाइँदैछ । आज गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।
फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ। गोपाल वंशदेखि नै फूलपाती भित्र्याउने प्रचलन रहेको पाइन्छ। नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्ल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ।
विसं १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो। काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए। गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ।
गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाडौँ ल्याइने प्रचलन रहे पनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २०औँ शताब्दीको मध्यतिरबाट काठमाडौँ लैजान रोकियो। विभिन्न समस्याका कारण गोरखाबाट फूलपाती ल्याउन नसक्ने भएपछि नवपत्रिकाका बिरुवालाई काठमाडौँबाट करिब ३० किमी पश्चिममा रहेको धादिङको छत्रे देउरालीमा सारियो।
विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालियो।
गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) बाट दुई मगर पुजारी सहभागी भइ ल्याउने प्रचलन छ। जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ।
शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ। उक्त फूलपाती भित्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिङ्गारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइ हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्याइन्छ।
सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ। फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गरेको पाइन्छ।