काठमाडौं/चन्द्रागिरि । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि चन्द्रागिरि नगरपालिकालाई विशेष प्राथमिकतामा राख्दै महत्वपूर्ण कार्यक्रम अघि बढाएको छ।
प्रदेश सरकारले चन्द्रागिरिलाई स्वास्थ्य क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित जिल्लास्तरीय आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय, डिजिटल हेल्थ पोइन्ट, सुरक्षित खानेपानी, हरित तथा स्वच्छ वातावरण र ‘एक जिल्ला, एक स्वस्थ शहर’ अवधारणासँग जोडेर समग्र स्वास्थ्य विकासको योजना अघि सारेको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा सञ्चालनमा रहेको आयुर्वेदिक अस्पताललाई विस्तार गरी काठमाडौं जिल्लास्तरीय आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयका रूपमा विकास गर्ने निर्णय गरेको छ।
साथै, ‘एक जिल्ला, एक स्वस्थ शहर’ अवधारणाअन्तर्गत काठमाडौं जिल्लाका लागि चन्द्रागिरि नगरपालिकालाई स्वस्थ शहरका रूपमा छनोट गरिएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले शोणितपुर खबरसँग कुरा गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार काठमाडौं जिल्लाको चिकित्सालय भने हालसम्म आफ्नै भवन अभावमा भाडाको भवनबाट सञ्चालन हुँदै आएको छ।
मन्त्री थापाले बागमती प्रदेशको कुल जनसंख्या ६२ लाखभन्दा बढी रहेको र त्यसको करिब ३३ प्रतिशत अर्थात् झण्डै २० लाख जनसंख्या काठमाडौं जिल्लामै केन्द्रित रहेकाले स्वास्थ्य सेवाको विस्तार र सुधार आवश्यक रहेको बताए।
मन्त्री थापाका अनुसार चन्द्रागिरि नगरपालिकाले मातातीर्थस्थित आयुर्वेदिक अस्पताल विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराइसकेको छ। सोही आधारमा हाल भाडाको भवनबाट सञ्चालन भइरहेको काठमाडौं जिल्लास्तरीय आयुर्वेदिक अस्पताललाई मातातीर्थमा स्थानान्तरण गरी स्तरोन्नति गर्ने तयारी गरिएको हो।
मातातीर्थ आयुर्वेदिक अस्पताललाई दीर्घरोगीहरूको उपचार तथा व्यवस्थापनमा केन्द्रित गर्दै थेरापी सेवा, क्षारसूत्र उपचार, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक उपचार पद्धतिहरू उपलब्ध गराइने उनले बताए।
यसैबीच, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत अघि सारेको ‘एक जिल्ला, एक स्वस्थ शहर’ अवधारणा अन्तर्गत काठमाडौं जिल्लाका लागि चन्द्रागिरि नगरपालिकालाई छनोट गरिएको छ। स्वास्थ्य मन्त्रालय र चन्द्रागिरि नगरपालिकाबीच छिट्टै समझदारीपत्र (एमओयू) सम्पन्न गरी कार्यक्रमको कार्यान्वयन आगामी श्रावण महिनादेखि सुरु गर्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिए।
मन्त्री थापाले स्वस्थ शहर अवधारणा केवल स्वास्थ्य सेवा मात्र नभई समग्र जीवनशैलीसँग जोडिएको बताए। यस अन्तर्गत सुरक्षित खानेपानी, सरसफाइ, हरित वातावरण, प्रदूषण नियन्त्रण, डिजिटल हेल्थ पोइन्ट स्थापना, स्वास्थ्यमैत्री पूर्वाधार विकास, स्वास्थ्य शिक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित सबै क्षेत्रलाई एकीकृत रूपमा समेटेर चन्द्रागिरिलाई स्वास्थ्यको क्षेत्रमा विकास गर्ने लक्ष्य रहेकोे बताए ।
स्वास्थ्य क्षेत्रका यी कार्यक्रमहरू चन्द्रागिरिमा ल्याउन बागमती प्रदेशसभा सदस्य विन्दु श्रेष्ठको विशेष पहल रहेको र चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायत जनप्रतिनिधिहरूले आवश्यक सहजीकरण, समन्वय र पूर्वाधार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको मन्त्री थापाले बताए।
त्यस्तै, मातातीर्थ आयुर्वेदिक अस्पताललाई थप सेवा सुविधासहित जिल्लास्तरीय अस्पताल बनाउने तथा एक जिल्ला, एक स्वस्थ शहर अवधारणा अन्तर्गत चन्द्रागिरिलाई छनौट गरिएको विषयमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यी कार्यक्रमहरूको कार्यान्वयनसँगै चन्द्रागिरि नगरपालिका बागमती प्रदेशको स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा स्थापित हुने अपेक्षा बढेको बताए । यसबाट चन्द्रागिरिसहित काठमाडौं जिल्लाका २० लाख भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने गिरीले उल्लेख गरे ।