काठमाडौं, चन्द्रागिरि । थानकोटस्थित प्राथमिक अस्पतालमा निर्माणाधीन मातृत्व वार्डको बिहीबार अनुगमन गरिएको छ।
आमा तथा नवजात शिशुको स्वास्थ्य सेवालाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण भइरहेको उक्त वार्डको प्रगति तथा पूर्वाधार अवस्थाबारे स्थलगत अवलोकन गरिएको हो।
दक्षिण कोरियास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बेटर वर्ल्ड नेपाल कन्ट्री अफिसको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको मातृत्व वार्डले सञ्चालनमा आएपछि गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुलाई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा मातृत्व वार्ड निर्माणको प्रगति, भौतिक पूर्वाधार, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन, सेवा सञ्चालनको तयारी तथा भावी सेवा प्रभावकारिताबारे जानकारी लिइएको थियो। साथै मातृ तथा शिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी, जनशक्ति व्यवस्थापन र सेवा गुणस्तर सुनिश्चित गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
अस्पताल अनुगमनमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी, बेटर वर्ल्ड नेपाल कन्ट्री अफिसका प्रतिनिधिहरू, अस्पताल प्रशासन तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले निर्माणाधीन मातृत्व वार्ड समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। वार्ड सञ्चालनमा आएपछि प्रसूति सेवाका लागि टाढाका अस्पताल पुग्नुपर्ने बाध्यता कम हुनुका साथै चन्द्रागिरि तथा आसपासका क्षेत्रका सेवाग्राहीले सहज रूपमा मातृ तथा शिशु स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनले मातृत्व वार्ड सञ्चालनपछि सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य तथा प्रसूति सेवाको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ।