काठमाडौं । “स्वच्छ वातावरण, स्वस्थ समाज: हाम्रो प्रतिबद्धता, हाम्रो अभियान” भन्ने मूल नारासहित चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित किसिपिडी क्षेत्रमा आज वृहत् सरसफाइ कार्यक्रम सुरु गरिएको छ।
किसिपिडी ब्याडमिन्टन क्लबको आयोजना तथा बागमती प्रदेश सरकार र चन्द्रागिरि नगरपालिका वडा नं. ५ कार्यालयको विशेष सहयोगमा सञ्चालन भएको कार्यक्रम आज बिहान ६ बजेदेखि सुरु गरिएको हो।
किसिपिडी ब्याडमिन्टन ग्राउण्डदेखि श्री जनकल्याण स्कुल आसपासको खोलासम्म सञ्चालन गरिएको सरसफाइ अभियान अन्तर्गत खोला किनार तथा सार्वजनिक क्षेत्रहरूमा रहेको फोहोर व्यवस्थापन गरी वातावरण सफा, स्वच्छ र हराभरा बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं ५ का वडाध्यक्ष राजेन्द्र महर्जनले स्वच्छ वातावरण निर्माणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
“आफैँ हाताहाल गरौँ, स्वच्छ ठाउँ सुन्दर ठाउँ बनाऔँ” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीयबासी, युवा, समाजसेवी तथा विभिन्न सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।