काठमाडौं । चम्पाकेश्वर महादेव र त्यस सम्बन्धी जात्राको पौराणिक वाणासुरकालिन समयको सन्दर्भ समेत जोडिएको पाईन्छ !
गोपालवंश अर्थात गोपाली जातिको उत्पत्ति भएको स्थान (प्राचीन शोणितपुर वाणासुरको राजधानी) चन्द्रागिरिको थानकोट लगायत क्षेत्रलाई मानिन्छ !
उषा – अनिरुद्रका कथाहरू , वाणासुरकालिन विभिन्न ईतिहास , सन्दर्भ , सन्धानहरूको निचोडमा देखिएका आधारहरूले तत्कालीन भगवान कृष्णसँगै आएका “ग्वाला” हरू नै गोपाल , गोपाली हुन् भन्ने धारणा स्थापित छ ।
विशेषत: यिनै गोपालीहरूको बस्ती मध्येको थाहा नगरपालिका वडा नं १० विसिंखेलमा चम्पाकेश्वर महादेवको भव्य जात्रा हुने गरेको छ ।
विसिंखेलस्थित चम्पाकेश्वर मन्दिरमा पाटन आदिभूमी भएका नेवार ब्राह्मण “राजोपाध्याय” खलकका पुजारीले पूजा गर्ने चलन रहिआएको छ ।
चम्पाकेश्वर महादेवको पूजाका लागि जाँड र ककः बजी चढाइन्छ । त्यस्तै , दिनभरिको जात्रा पश्चात् बेलुकी ‘ट्वाक प्याखँ” नचाइन्छ ।
चम्पाकेश्वर मेलामा गोपाली गुठियारहरूले किरा परेको जाँड र ‘ककः बजी’ प्रसादको रूपमा खाने गर्दछ्न् । त्यसो गर्नाले विभिन्न दुसाध्य रोग समेत नाश हुने जनविश्वास रहिआएको छ ।
प्रचलित किंवदन्ती अनुसार
प्राचीनकालमा शोणितपुरका राजा वाणासुर एकदिन शिकार खेल्न आफ्ना परिवार र सेनाहरूसमेत चन्द्रागिरि (चन्दनागिरी) वन हुँदै हालको विसिंखेलको वनमा आइपुगेको र उक्त वनको रुखमा फुलिरहेको चाँपको फूल राजकुमारी (उषाले ?) देखेपछि त्यो फूल टिपिदिन कर गरेकी यद्यपि , रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा अदृश्य हुने गरेपछि राजालाई रिस उठेछ । त्यसपछि कलाँटु (कल्टो) गाउँका काठको काम गर्ने मानिसहरूलाई बोलाएर सो रुख काट्न आदेश दिएपछि रुख काट्ने क्रममा रूखबाट रगत आएको र त्यस स्थानमा एउटा ज्योति लिङ्ग उत्पन्न भएपछि कलाँटु (कल्टो) का गमालहरूले उक्त लिंग आफ्नो गाउँमा लिएर गएछन् ।
भोलिको बिहान त्यस गाउँमा कतै भाले नबासेकोले त्यहाँका स्थानीयहरूले के अनर्थ हुन लागेछ भनी क्षमा पुजा गरेको र “आकाशवाणी” मार्फत “गोपालीहरूको बसोबास भएको टौखेलमा “मलाई” लगेर राख्नु” भनेको हुनाले जात्राको दिन टौखेल गाउँबाट शिवको लिङ्ग ल्याउने र जात्रा पश्चात् पुनः सो शिवलिङ्ग टौखेल मै फिर्ता लैजाने परम्परा रहेको छ ।
फोटो : तीर्थराज बलामी








