नेपालमा हालसम्म २७ प्रकारको विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
यसमध्ये मंसिर २० गते मात्रै निक्कै घातक मानिएको तीन विषादी पाराक्वाट–पाराक्वाट डाइक्लोराइड, क्लोरोपाईरिफस र फोरेटको नेपालमा आयात, निर्यात, उत्पादन, संश्लेषण, बिक्री, भण्डारण, ओसारपसार र बिक्री बितरण गर्न प्रतिवन्ध लगाइएको छ । यो तीन घातक विषादीवाहेक बाँकी २४ वटा गत आर्थिक बर्षसम्ममा प्रतिवन्ध लागेको थियो ।
फोरेटलाई यसअघि नै प्रतिवन्ध लगाइए पनि सरकारले राजपत्रमा प्रकाशित नगरेकाले अहिले फेरि प्रतिबन्धित गरी राजपत्रमा प्रकाशित गरिएको छ ।
विषादीविज्ञ डा.शर्माका अनुसार अहिले प्रतिबन्ध लागेको पाराक्वाट–पाराक्वाट डाइक्लोराइड र क्लोरोपाइरिफस निक्कै घातक विषादी हो । यो विषादी पछिल्लो समयमा आत्महत्या गर्नेहरुले प्रयोग गर्न थालेको र वातावरणमा समेत नकारात्मक प्रभाव पार्न थालेकाले प्रतिवन्ध लगाइएको हो ।
प्रतिबन्धित भएका अन्य विषादीहरुमा क्लोरडेन, डिडिटी, डाईअल्ड्रिन, ईन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करीक्लोराइड, मिथाइलपाराथिएन, मनोक्रोटोफस, इण्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्वारिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्वोसल्फान र एलम्यूनियमफोस्फाइड ३ ग्राम टेब्लेट हुन् ।