काठमाडौं । फागुन २२ गते बिहीबार चन्द्रागिरि नगरपालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिइ फर्काइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चन्द्रागिरि नगरपालिकाका लागि फागुन १ गते सरुवा गरेका प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरपालिकामा हाजिर नगराइ फर्काइएको विषय अहिले सर्वत्र चासोको विषय बनेको छ ।
चन्द्रागिरि नगरपालिकाका तात्कालिन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल बढुवा भएर गएको ३ हप्ता भन्दा बढी समय बितिसक्दा पनि चन्द्रागिरिले नयाँ प्रशासकीय अधिकृत नपाउँदा कर्मचारी र जनप्रतिनिधिबिचको विवाद सतहमा देखिएको छ । हेर्दा सामान्य लागेपनी चन्द्रागिरिमा प्रशासकीय अधिकृत तोकिएका लामिछाने एमाले निकट रहेकाले उनलाई पदभार नसुम्पी मेयर घनश्याम गिरीले आलटाल गरिरहेको विश्लेषकहरूको बुझाई छ ।
चन्द्रागिरि नगरपाकिकामा दोस्रो कार्यकाल अन्तर्गत नगर प्रमुखको जिम्मेवारी सम्हालिरहेका मेयर गिरीले अबको आफ्नो बाँकी कार्यकाललाई “रणनीतिक” रूपमा उपयोग गर्न खोजेको वा आफ्नो कार्यकालमा भएका “त्रुटिहरू” सच्याउन “अनुकूल” अधिकृत ल्याउन कसरत गरिरहेको विश्लेषण गरिएको छ । साथै, नगर प्रमुख गिरीले औपचारिक, अनौपचारिक मञ्च, साथीभाई भेटघाट तथा पार्टी बैठकहरूमा सार्वजनिक रूपमै चन्द्रागिरि नगरपालिकाको प्रशासकीय प्रमुखमा भुवनेश्वर लामिछानेलाई कुनै पनि हालतमा हाजिर हुन नदिने बताउँदै आएका छन् ।
चन्द्रागिरि नगरपालिकाका एक कर्मचारीका अनुसार फागुन २२ गते बिहीबार हाजिर हुन आएका भुवनेश्वर लामिछाने र मेयर घनश्याम गिरीबिच केही समय छलफल भएको र लगत्तै लामिछानेले आफू नगरको “अवस्था” बुझ्न मात्रै आएको भन्दै नगरपालिकाबाट बाहिरिएको बुझिएको छ ।
चन्द्रागिरि नगरपालिकाबाट हाजिर नगराइ फर्काइएका प्रमुख प्रशासकीय अधिकृतको सम्बन्धमा शोणितपुर खबरले नगर उपप्रमुख बसन्ती श्रेष्ठसँग जिज्ञाशा राख्दा उनले भुवनेश्वर लामिछानेप्रति मेयर घनश्याम गिरि आश्वस्त हुन नसकेको तथा कतै न कतै फरक पार्टीको भएकोले लामिछानेलाई नस्वीकारेको होकि भन्ने आफुलाई लागेको बताइन् । यद्यपि, प्रशासकीय अधिकृत जुनसुकै पार्टी, विचारको भएपनि छिट्टै नगरको प्रशासनिक गतिरोध अन्त्य भएको हेर्न चाहेको उनले बताइन् । स्थानीय शिक्षक, कर्मचारीहरूको तलब लगायत नगरको दैनिक कामकार्वाही समेत ठप्प प्रायः रहेको अवस्थामा “यो” “त्यो” नभनी प्रशासकीय प्रमुखलाई अविलम्ब काम गर्न दिनुपर्ने उपप्रमुख बसन्ती श्रेष्ठले बताइन् ।
राज्य संयन्त्रको सबैभन्दा संवेदनशील अंगका रूपमा स्थानीय तहलाई लिने गरिन्छ । गहन दायित्व वहन गर्नुपर्ने स्थानीय तहहरूमा आफू अनुकूल प्रमुख प्रशासकीय अधिकृत आउँदा स्वागत र बिदाई गर्ने तर प्रतिकूल भएमा हाजिर समेत गर्न नदिने प्रवृतिले स्थानीय तहहरूको दैनिक सेवा प्रवाहमा गम्भीर असर परिरहेको साथै यस्तो प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने जानिफकारहरू बताउँछन् ।