विज्ञापन
No data was found

'आँसु, संघर्ष र आत्मविश्वास'

 

विज्ञापन

 

विज्ञापन
  • डा. शान्ति भुर्तेल नेपाल
    चतिय, वाणगंगा ११ , कपिलवस्तु

पापा, यो छ वर्षको एकल यात्रामा अनगिन्ती संघर्षहरू सामना गरेको छु। जीवनका प्रत्येक मोडमा नयाँ चुनौतीहरू देखेँ, कहिलेकाहीँ थाकें, तर हजुरकै सम्झनाले फेरि उठ्न बल दियो। हजुरले हामीलाई छाडेर जानु भएयता, समाजको स्वरूप कति फरक लाग्छ ! समाजका बहुरुपी दृष्टिकोणहरू/ दृष्टिदोषहरू नियालीरहेको छु । अविराम उकालाहरू चढ्दैछु, बिस्तारै तर अविचलित। हरेक पाइला हजुरप्रतिको प्रेम र सम्झनाले भरिएको छ। समयसँगै जीवनका रंगहरू फिका लागे पनि, हजुरले सम्झना र बाबु आरभ र नानी आरभीको आभाले मलाई अघि बढ्न प्रेरित गरिरहेको छ।

आज पनि मलाइ राम्रो सँग याद छ,२०७५ साल चैत्र महिनाको ९ गते, बाबु आरभको भोलिपल्ट देखि कक्षा २ को अन्तिम जाँच । म त्यसको तयारीमा। हामी बिहान सबेरै सधै बुटवलको हिल पार्कमा प्रात भ्रमणमा (Morning Walk) जाने भए नि बाबुको जाँच भएकाले हजुर र अर्को भाइ जानु भएको थियो। फर्के पछि हजुरले गाउँ  चतिया वाणगंगा ११ कपिलवस्तु,अनि हाम्रो कपिलवस्तु तौलिहवा भएको स्कुल सन साइन स्कुल सम्म पुगेर बेलुकी फर्कन्छु भन्नुभयो। मैले अर्को हप्ता बाबुको जाँच सकिन्छ अनि सबै जाउँला आज किन एक्लै जाने भन्दै थिए। हजुरलाई निमकिन र चिया मनपर्ने, खाँदै कुरा गर्दै थियौ हामी । म नजानु भन्ने र हजुरले बेलुका नै फर्कन्छु भन्नु भयो मैले नजानु भनेर कसरी रोक्ने सक्थें र । गाउँमा थारुले चामल, तेल, आलु तरकारी तयार गरेर राखिदिएका छन् त्यो नि ल्याउछु भन्नु भयो। मलाइ के थाहा त्यो नै अन्तिम कुराकानी होला भनेर??? हुन त जन्म र मुत्यु लेखेर आएको हुन्छ भनिन्छ तर यति छिटो २१ महिनाको छोरी काखमा र बाबु ७ बर्षको छाडेर छुट्नुभयो एक्लै ।

त्यसपछिका मान्छे अनि समाज र आफन्तका वाणी त अहिले नि हिजो जस्तो लाग्छ पापा।

सँधै भरि घर आउने बितिकै खोज्ने नयनले मलाई खोजेको थिएन त्यो दिन।  खोजोस पनि कसरी? मेरो आफ्नै आँखा अगाडी आफ्नै मायाको शरीर सेतो कात्रोले ढाकिएको।  दिमाग सुन्य भयो । के भइरहेको छ थाहा नै छैन। अहिले त मलाइ यति गार्हो हुन्छ सम्झदा भने यो छ वर्षमा‌ के भोगिएन के सहिएन??

२०६९ साउन १० गते बुवा (ससुरा) अनि २०७४ वैशाख २० गते सन साइन स्कुल, तौलिहवाको प्रधानाध्यापक ममी (सासु ) अनि पापा हजुर । मान्छेले के मात्र भनेनन्, कतिले तीन जना भयो अब ५ जना हुन्छ भने। कसैले सम्पति लिएर पोइला‌ जान्छे भने, केटाकेटीको  बिचल्ली हुन्छ भने। हजुर अगाडि हुँदा राजा र बाबु भन्दै नाटक गर्ने र यो समाजमा एकदम राम्रो मान्छे देखिने एउटीले त मलाइ दोष दिई पापा, ससुरा खाइस्,  सासु खाइस्, लोग्ने खाइ सम्म भन्न भ्याए । कति सजिलो सँग तिनीहरूको मुखबाट यस्ता शब्दहरु निस्केका । दुःखमा सहानुभूति त कता हो कता, दुर्वचनको तीरले घोच्ने यो मान्छे जति स्वार्थी अरु को हुँदो रहेछ र । हजुरको अल्पायुमै भएको मृत्युवरणले मान्छेका घिनलाग्दा अनुहार देखियो, चिनियो ।

हो ,पापा सबैले बलेको आगो नै ताप्दा रहेछन् । समय नै रहेछ सबै कुराको ओखती। समय सँगै परिपक्वता र जिम्मेवारी सँगै पिडा नि कम हुँदैं जाँदो रहेछ। बिर्सन त कहाँ सकिन्छ र ।

महिला हक र अधिकार पनि भाषणमा सुन्न र सामाजिक सञ्जालमा बहस गर्नमा मात्र रहेछ। लोग्नेको मृत्यु पछि सम्पत्ति श्रीमतीको नाममा आउने भन्ने कुरा त्यति सहज रहेनछ। त्यो पनि फोन गर्दै कता कता सोध्दा रहेछन् । गाउँपालिकाबाट सिफारिस मालपोत कार्यालयमा पेश गर्दा त्यहाँको सरले मुखमा हेर्नु भयो । “नानी तिमीलाई त संरक्षक पनि राखेको छैन, यसरी तिमीले न बेच्न पाउँछौ न केहि परे बैँकमा राखेर ऋण लिन । बाबु/नानीको नाममा भए पनि संरक्षक सम्म त राख्नु आँफुलाई ।” फेरि म वाणगंगा ११ कपिलवस्तुको गाउँपालिकामा गए, त्यहाँको वडा अध्यक्ष चाहि सहयोगी हुनुहुन्थ्यो। सोमनाथ अर्याल उहाँलाइ धन्यवाद दिंदै सम्झन चाहे पनि। मैले सिफारिस दिनेलाई “यो लालपुर्जा हजुर राख्नुस् मलाइ यो चाँहिदैन, मेरो ठाउँमा हजुरका छोरी बुहारी कोही भएको भए यहि गर्नु हुन्थ्यो ? सहयोग नगर्नुस् तर दुःख नदिनु” भनेर लालपुर्जा त्यहि छोडेर म‌ निस्के । उस्ले तपाँईं डाक्टर तपाँईंलाई किन चाहियो जग्गा आफ्नो नाममा? त्यहि भएर यस्तो बनाएँ ।” भन्दै थियो। सँगै भिनाजु जानु भएको थियो अनि भिनाजु संरक्षक र बाबु/नानीको नाममा पास भयो।

त्यो पल थाहा भयो हामी छोरी मान्छेको जात ‘न घरको न घाटको ‘ हुँदो रहेछ। हजुरसँग पैसा लगेका जग्गाको कारोबार गरेकाले दिनु पर्ने पैसा आजसम्म दिएका छैनन्। घरभाडा ८/९ महिना हुँदा पनि कहिले कसलाई, कहिले कसलाई नभनी आउँदैन । कस्ता कस्ता मान्छेलाइ बिस्वास गर्नुभयो र सहयोग गर्नु भयो है हजुरले ? आज सम्झिदा पनि नरमाइलो लाग्छ। हजुरको सोझोपनको फाइदा कतिले उठाएका रहेनछन् बैकका स्टेटमेन्ट निकालेर हेर्दा थाहा भयो। जे जसो भए नि जहाँ हुनुहुन्छ हजुरको आत्माले शान्ति पाओस र सधै हामी माथि आशिर्वाद रहिरहोस्।

सम्झन्छु हरेक क्षेत्रको भाँडभैलो । कार्यक्षेत्रमा उस्तै वेथिति । अनि कार्यक्रम र तालिम? एउटा व्यक्तिलाई कति तालिम मार्फत के सुधार भयो? कार्यान्वयन पक्ष कस्तो रह्यो?  यसको विवरण राख्‍ने बर्षौ देखि बिरामीको अनुहार नदेखेको र डिउटी रोष्टर पनि जुनियरलाई दिएर डिउटी समयमा नै कार्यक्रम र तालिम मात्र चलाएर बसेकाहरूको विवरण निकालेर जिम्मेवारी फेरबदल गर्न सके पनि नेपाल सरकारले चाहेको परिणाम नजिक पुग्न सकिन्छ नत्र कागजी रुपमा‌ भत्ता खान र बजेट सकाउन गरिएका कार्यक्रमको के नै औचित्य रह्यो र।

“बुबा रामजी प्रसाद उपाध्याय नेपाल र आामा राधा नेपालका साथमा डा. धिरेन्द् नेपाल”

पापा मलाई सबैभन्दा घृणा तिनिहरू सँग लाग्छ जसको “विधवा /एकल” भन्ने बित्तिकै नजरीया बदलिन्छ । नेपालीको बानी, घर कहाँ , बालबच्चा कति ,  श्रीमान कता के??? शुरु शुरुमा त मैले सबै भन्थें तर भने पछि परिवर्तित ति नजरीया देख्दा मलाई मान्छेको यस्तो छेपारो प्रवृत्ति कहिल्लै मन परेन। पछि पछि त बाहिर हुनुहुन्छ वा दुर्गममा  कहिले त बुटबल हुनुहुन्छ भनेर ढाँटे, मलाइ त्यो बिचरा नजरले हेरेको मन पर्दैन र “म छु । एक्लो ‌छु नसम्झनु” भन्ने शब्दहरू पनि घृणा लाग्छ।

कति सजिलो सँग बिचरा बनाइदिन्छन् र साहारा दिए जस्तो गर्दै फाइदा लिन खोज्छन्। शुरु शुरुमा त नरमाइलो लाग्थ्यो। किन म??? घृणा लागेर आउँथ्यो। कतिको फोन नं ब्लक गरें । कतिलाई सामाजिक सञ्जालमा । अनि मेरै पो चरित्र हत्या गर्न लागे, अचम्म छ है हाम्रो समाज ! सामाजिक सञ्जालमा एक दम राम्रो र मायालु देखिने श्रीमान, अनि के के भन्दै मेसेज र कल गर्न भ्याउँछन्। औपचारिक शिक्षाले मात्र मान्छे शिक्षित हुँदो रहेनछ पापा, व्यवहारिक शिक्षा नै मलाई त ‘छोरा पढाउ र छोरी बचाउ अभियान’ नै शुरु गर्न पर्छ हुन्छ। म एक चिकित्सक हुँदाहुँदै त कति भोगियो त सहदै आइयो भने जो सक्षम छैनन् उनीहरूलाई कति गार्हो होला पारिवारिक रुपमा, सामाजिक अनि आर्थिक रुपमा। कस्तो होला है छोरीको जुनी जे गर्दा नि न घरको हुने न माइतीघर??? अच्चमको जात नै रहेछौ हामी छोरी यो समाजका लागि ।

अनि म‌ कार्यालय भित्र र बाहिर अरु कार्यालयमा महिला कर्मचारी सँग कार्यालयमा हुने यस्ता मानसिक र सामाजिक सञ्जालमा गरिने अभद्र व्यवहारको बारेमा खुलेरै कुरा गर्न नै शुरु गरे यो त यति बिकराल रहेछ म विधुबा भएर भन्दा पनि, बिहे नभएका, भएका, बच्चाका आमाहरु सबै रहेछन् यसको शिकार। कुनै तालिम वा गोष्ठीमा पठाउन नि नजिक भएकाले पाउने अरुले नपाउने, कति कार्यालयका आवास मै महिला कर्मचारीले असुरक्षित महसुस गरेको पाए। मैले त सम्बन्धित कार्यालयको प्रमुखलाई नै तिम्रो कर्मचारी यस्तो छ कि समाल नत्र रिपोर्ट नै गरिदिन्छु सम्म भने । पछि एकजना त सरुवा गराएर अर्को ठाउँमा गयो। कुनै स्वागत वा बिदाइका बेला समुहमा समात्ने फोटो  खिच्ने बहानामा, सुम्सुम्याउने लगायतका गतिविधिको बिरोध कसरी गर्ने र त्यसको प्रमाण कसरी दिने, तिनै अग्रज हुन्छन् । तर कुरा गर्न लागे पछि मान्छेको बानी त सुध्रदैन । एकजना मेडमले त मैले त झापड नै हानिदिए भन्नु भयो। आत्मबिश्वास बढेर आउँदो रहेछ र म लड्न सक्छु हुन्छ। अहिले त यस्ता कुरा सजिलो सँग व्यवस्थापन गर्न सक्छु तर शुरु शुरुमा त नरमाइलो लाग्थ्यो र चित्त धेरै नै दुख्थ्यो र धेरै रोइयो पनि।

पापा हजुरले देख्‍नु भएकै छ कस्तो छ हाम्रो स्वास्थ्य क्षेत्र। संविधानमा भने जस्तो जिम्मेवारी बाँडफाँड गर्ने, संघीयताको मर्म अनुसार समन्वय, सहकार्य र सहअस्तित्व व्यवहारमा कहिल्यै लागु भएन । जस्का कारण जनअपेक्षा अनुसारको न्युनतम लागतमा यथाशिघ्र गुणस्तरीय सेवा प्रदान गर्न सकिएको छैन। धेरै  जसो कार्यक्रम र तालिम केहि मान्छेमा सिमित हुन्छ र त कार्यान्वयनको पक्ष शुन्य नै देख्छु । परिणाम अपेक्षा बमोजिम हुदैन। एउटा मान्छे महिनौ पिच्छे तालिम र गोष्ठी कार्यक्रम नै कार्यक्रम, सँगैको अर्को कर्मचारी बर्षौ देखि न कार्यक्रम थाहा छ न तालिम। कस्तो छ है बिडम्बना।

यस्ता कुरामा परिवर्तन आउनलाई ति वर्षौ देखि राज गरेर बसेका ब्यक्ति कि त अवकाश लिन पर्यो कि त मर्न पर्यो अर्को ले अवसर पाउन।

जिम्मेवार पदमा बस्नेले‌ एकै ठाउमा वर्षौ बसेर सरकारी अस्पताल हात्तीको देखाउने दाँत, र आफ्नो निजी अस्पताल चलाउँदै बसेका चिकित्सकबाट सरकारले चाहेको परिणाम कहाँ पाउँछ ?

एकै ठाउँमा १० वर्ष बसेका सबै चिकित्सकलाई चलाएर हेरौ न। जसलाई स्वास्थ्यमा केहि गरौ हुन्छ उहाँहरू बस्नु हुन्छ । जसलाई निजी चलाउनु छ जागिर छोड्नु हुन्छ। रिक्त दरबन्दीमा लोकसेवा आयोग मार्फत कर्मचारी नियुक्त गरौ। नयाँले नि जागिर पाउनु हुन्छ। नयाँ जोशमा परिणाम नि राम्रो आउँछ। सरकारी र निजी केहि सिमित ब्यतिका हातमा छ अनि नयाँ आउने भाइबहिनी रोजगार विहिन भएका छन्।

खै पापा म त भावनामा बग्दै कता बाट कता पुगेछु।

महिला भएकै कारण मेरो तह वा जुनियर पुरुष पात्रले पाएको सेवा सुविधा मैले कहिले पाइन। मेरो शुरुको नियुक्ति लुम्बिनी प्रादेशिक अस्पताल । त्यहाँ म अगाडि स्थायी नियुक्तिमा‌ भएको‌ चिकित्सक हो बिरलै ओटी भित्र पस्नु भयो उहाले मेरो तहमै भएको पुरुष पात्रले पाएको सेवा सुविधा मैले सधै निष्ठापूर्वक काम कर्तव्य गर्दा पनि पाइन। समायोजन भइसक्दा पनि लडिरहे । सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा‌ पटक पटक  निवेदन पनि दिए, मलाई फकाएर तपाँइले पाउनु हुन्छ ढुक्क हुनु भनियो रमाना लिएर हिडे ?? त्यहाँ लड्दा नपाएको हिडे पछि के को पाउनु ।

अहिले पनि प्रशासनले गर्ने व्यवहार देख्दा एकदम दुःख लाग्छ। बिरामी र अस्पतालको मायाले आफ्नो काम कर्तव्य पालना गर्न पछि हट्न सकिदैन तर पाउने सुविधा केवल केहि मान्छेमा सिमित छन् । जागिर पनि निल्नु न उकेल्नु भएको छ। कति लड्नु जस्तो पनि लाग्छ। मरे पछि यी पापी सबैलाइ तेलको कराइमा पोल्दा म दङ्ग पर्दै यसो गरेका थियौ नि भनेर हेर्ने छु। माथि त चाकडी, मिडियाबाजी, नौटंकी केहि चल्दैन होला, पैसा खुवाउन पाइदैन होला, त्यहाँ त न्याय पाइएला नि भन्दै ‌चित्त बुझाउँछु, पापा।

पापा, हाम्रो समाज हेर्दा जति अगाडि बढेको देखिए पनि मानसिकता उहि बर्षौ देखिको छ। पुरुषले महिलाहरुलाई हेर्ने दृष्टिकोण नै ठिक छैन। सत्ययुगमा सिता माताले अग्नि परिक्षा दिए जस्तो  जिम्मेवार पदमा वसेका महिलाको उस्को योग्यताको आधारमा पुगे भन्ने सोच भन्दा नि यो कसरि पुगी भन्ने कुरा आउछन् ?

महिलाहरु र पुरुषमा यहाँ वादविवाद वा को सहि को गलत भन्ने धारणा राख्न खोजेको होइन केबल म र म जस्तै अरु महिला सहकर्मीसँग मैले कुरा गर्दै जादा उहाँहरूका भोगाइ नि मेरा जस्तै नै रहेछन् भन्ने भयो।

हाट बजारबाट फर्कदै गर्दा अटोरिक्सा ले मेडम भन्दै शुरुमा लिएर आएकोले पछि गफ गर्दै जाँदा ,नर्स भन्ने थाहा पाएपछि ‘ए तिमीहरू नर्स पो’  भन्न भ्याए छ। मेडम भनेको ड्राइभरले नर्स भन्ने थाहा पाएपछि सिधै तिमीमा झर्यो भनेर एकजना नर्स बहिनिले नराम्रो मान्दै भन्दा मेरो पनि मन खिन्न भएको थियो। कति सजिलो सँग हामीलाई मूल्याङ्कन गरिन्छ। कति सजिलोसँग जे पनि भन्न अनि चरित्रमा नै प्रहार गरिन्छ।

अहिले कुरा गर्दै छलफल गर्दै जाँदा सामाजिक सञ्जालको प्रयोग पनि सहि भन्दा गलत प्रवृत्ति हावी हुँदै गइरहेको देखिएको छ। एकल, बिधवा, वा पारपाचुके भइसकेका महिलाहरुलाई पछ्याउने अनि मायाको नाटक गरेर, तिमीले साथ नदिए मर्छु सम्म भन्दै भावनात्मक दबाब दिएर भावनात्मक रुपमा जोड्यो, अनि आर्थिक लगायत के के फाइदा लिन सकिन्छ लियो र पछि दोष लगाएर फरार हुने। यस्ता घटनाहरु केहि  सार्वजनिक भएका छन् धेरै गुपचुप नै छन्। सामाजिक सञ्जाल टिकटकमा एकदम दुखित, पिडित भएको भन्दै पोस्ट गर्ने अनि महिलालाई मात्र ट्यापमा पार्ने गिरोह सक्रिय भइरहेकाले हाम्रा दिदि बहिनि छोरी चेलीले आफ्ना जे कुरा पनि सामाजिक संन्जालमा राख्ने काम बन्द गरेर सामाजिक संजालको सहि उपभोग गर्नु पर्दछ। कति पुरुष त झन् कोहि विवाहित र बच्चासँगै हुँदा पनि आफु एक्लो छु भन्ने, कोहि श्रीमतीले धोका दिएको, कोहि पारपाचुके  भएको तर कागज आउन बाँकी मात्र भनेर झुट बोलेको र पछि सोध्न खोज्दा कि सबैतिर ब्लक गरेर अरु धेरै बिधुवा, एकल र छोडपत्र गरेका महिलालाई यस्तै यहि जालमा फसाइरहेको देखिएको सुनिएको छ। धेरै जसो एकल महिलालाई अझ बाँकी जीवन बच्चाबच्चीको संरक्षण र आफुले बुबा र आमाको कर्तव्य पालना गरेर खुसी नै जिवन बिताइरहेका हुन्छ।जे  नहुनु त्यो घटना भइसके पनि उनीहरु त्यो पल बिगतलाइ स्वीकार गरेर खुसी खुसी जिवन बिताइरहेका छन् ।  तर एक्लो भन्ने वितिक्कै ति महिलालाइ बिचरा देख्ने हाम्रो समाज अनि यहाँ अनि तिनै एकललाइ प्रयोग गरेर उनीहरुबाट आर्थिक लाभ लिने व्यवसाय नै बनाइहेका ति पात्र प्रति दया लागेर आउँछ।

सबभन्दा अचम्मको कुरा के भने, पुरुषलाई यति ठूलो छुट कसैले दियो ? महिलाहरू व्यक्तिगत, पारिवारिक, सामाजिक, मानसिक र भावनात्मक संघर्ष गर्दै आफ्ना बच्चाको भविष्यको लागि जुधिरहेका छन्। कतिपय पुरुष भने, शुरुमा ‘तिमी मेरो भगवान हौ’ भन्दै खुट्टा ढोगेर, ‘तिमी आएपछि मात्र म ठीक हुन्छु’ भनेर नाटक गर्दै, महिलालाई व्ल्याकमेल गर्ने । फोनमा कुरा गरेर, साथीलाई मागेजस्तो माग गर्दै महिलालाई भावनात्मक रूपमा फसाउँछन्। महिलाहरू जति सकेको सहयोग गर्छन्, जसले गर्दा उनीहरूको दीन-दुनिया सहारा हुन्छ। तर, यस पछि, त्यही पुरुष गायब हुन्छन्, नाटक गरिसकेपछि। ‘बोक्सीको घर ‘ फिल्ममा हाम्रो समाज कस्तो देखाइएको छ।त्यसतै नै छ। पुरुषले कति सजिलो सग मलाइ फसाइ, के के गरि कति सजिलो सँग दोष थुपारेर आफुचाहि पानी माथिको ओभानो बन्न पुग्छ।

जिम्मेवार पदमा रहेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा नगर्दा वा उनीहरूका अगाडि–पछाडि नहिँड्दा, चाकडी नगर्दा चरित्र हत्या गर्न कति सजिलो हुन्छ! अझ महिलाहरूको चरित्रमा दाग लगाउन त झन् सजिलै जो कोही तयार हुन्छ।

“उनी हाम्रो गुटकी होइनन्, कहाँबाट छिरिन्?” “हाम्रो पार्टीको सदस्य होइनन्।”

यस्ता भनाइहरू आम सुनिन्छन्। कर्मचारीले राजनीति गर्नु हुँदैन, तर राजनीतिज्ञहरूले भने कर्मचारीलाई चलाउने अधिकार जमाउँछन्। हामी आफ्ना काम नगरेर एकअर्काको क्षेत्रमा हस्तक्षेप गर्ने प्रवृत्तिले नै स्वास्थ्य क्षेत्रमा देखिएको अस्तव्यस्तता निम्त्याएको छ। प्रशासन, लेखा, प्रहरी र आर्मीमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि सिनियरलाई बाइपास गरी जुनियरलाई प्रमुख बनाउने चलन बन्द हुनुपर्छ। यदि यति मात्रै सुधार गर्न सकियो भने पनि हाम्रो स्वास्थ्य प्रणालीमा धेरै सुधार आउन सक्छ।

तर, यस्तो कहिले हुन्छ? तालुक निकायले कहिले यसतर्फ ध्यान दिने होला?

प्रत्येक दिन म आफ्नो देशमा बसेर गलत सावित भइरहेको छु। आत्मसम्मान जोगाएर काम गर्न गाह्रो भएको छ।

छक्कापञ्जा ५ फिल्म हेर्दा लाग्यो—यो त मेरै कथा पो रहेछ! कति लड्नु? कहिलेसम्म लड्नु?

अहिलेको यथार्थ यस्तो छ: कोही कालोलाई रातो भन्छ, अनि भगवानलाई प्रार्थना गर्छ कि सबैले त्यो कालोलाई रातो नै देखून्। तर, म झुटोको खेती गर्दिन। सत्यको पक्षमा उभिन्छु, चाहे जति नै बाधा आए पनि। वादविवाद गर्नुको कुनै अर्थ छैन, किनकि सत्यभन्दा झुटको लहर र भीड ठूलो देखिन्छ।

देशमै बसेर केही गर्नुपर्छ भन्ने निर्णय गलत लाग्न थालेको छ। कुनै तालिम वा कार्यक्रममा सहभागी हुन प्रमुखलाई खुसी पार्नैपर्ने अवस्था छ। नत्र “तेरा कुनै कागजमा हस्ताक्षर गर्दिन” भनेर रोक्ने छुट प्रमुखसँग छ। तर, तिनै प्रमुखका आसेपासेहरू चाहिँ कार्यलय समयमा नै अनावश्यक कार्यक्रम गर्दै घुमिरहन सक्छन्। स्वास्थ्य क्षेत्रमा प्रमुख चिकित्सककै साटो प्रशासनिक व्यक्तिलाई जिम्मेवारी दिने प्रवृत्तिले अकल्पनीय व्यवहार सहनुपर्ने अवस्था आएको छ।

यदि आज मेरा हजुरबुवा र आमा–बुवा हुनुहुन्थ्यो भने, म जुन मानसिक, भावनात्मक, र सामाजिक संघर्ष गरिरहेको छु, त्यो सहनुपर्दैनथ्यो। उनीहरू हुँदा तिनै व्यक्तिहरूले गर्ने व्यवहार, अहिले उनीहरू नहुँदा कति फरक भइसकेको छ ।

सबै पुरुष खराब हुँदैनन्। रगतको नाताभन्दा भावनात्मक नाता झनै ठूलो हुने रहेछ। म गोरखामा हुँदा, सुरक्षाकर्मीका केही अग्रजहरू र गोरखा फाउण्डेसनका सर मेडमहरू परिवारकै सदस्यजस्तै लाग्थे। उहाँहरूले व्यक्तिगत र व्यवसायिक रूपमा सही मार्गदर्शन दिनुभयो। म उहाँहरूप्रति सधैं आभारी छु।

मसँग २२ महिनाको नानी र ७ वर्षको छोरा थियो। एक्लै यी सबै जिम्मेवारी पूरा गर्न निकै कठिन भयो। तर समयसँगै आत्मबल बढ्दै गयो। अहिले छोरासँग साथीझैं कुरा हुन्छ, घर-व्यवहार सल्लाह गरेर अगाडि बढ्न सकिन्छ।

छोरी मान्छे एकल वा विधवा भएपछि माइती पक्ष नै मुख्य सहारा हुने रहेछ। हजुर गएपछि मलाई कहिलेकाहीँ फोन गरेर बुझ्ने, सल्लाह दिने एकजना मात्र हुनुहुन्छ। उहाँप्रति म सधैं आभारी छु। उहाँका कारण अभिभावकको माया महसुस गर्न पाएँ।

तर, समाजमा वास्तविक सहयोग गर्नेहरू थोरै नै हुन्छन्। धेरैजसो त घटनाबारे १-२ दिन मात्र चासो देखाउने अनि पछि चरित्र हत्या गर्ने, झन् दुख दिने प्रवृत्तिका हुन्छन्। बाहिरबाट सहयोग गरेजस्तो देखाउने तर भित्रभित्रै फाइदा लुट्ने प्रवृत्ति अझै पनि व्याप्त छ।

म एक चिकित्सक भएरै यति सहनुपरेको छ भने बेरोजगार, असक्षमहरूलाई कस्तो कठिनाइ भइरहेको होला? केही गर्न मन छ, तर कहाँबाट सुरु गर्ने? कस्तो बाटो अपनाउने?

तर, म चुप लाग्दिन। लेखेर, बहस गरेर, आफ्नो अनुभवहरू सार्वजनिक रूपमा साटेर निरन्तर आवाज उठाउने छु। यस संघर्षमा कोही साथी बन्ने छन् कि?

जीवनलाई सहज बनाउन मैले योग, ध्यान, र आत्मसाक्षात्कारतर्फ ध्यान दिएँ। कोभिडको पहिलो लहरदेखि नै Art of Living संस्थाका विभिन्न कार्यक्रमहरूमा संलग्न हुँदै गएँ। गुरु पवन नेपाल र चितवनका भइबहिनीहरूसँग जोडिन पाएँ। उहाँहरू परिवारझैँ लाग्छ, सुरक्षित महसुस गराउँछन्। कार्यक्रमहरूमा सहभागी हुँदा एकदम दिव्य आनन्द महसुस हुन्छ।

खुसी कुनै व्यक्ति, वस्तु, वा बाहिरी कुराबाट प्राप्त हुँदैन। आफैँलाई चिन्ने, आफ्ना जिम्मेवारी बहन गर्ने, र आत्मनिर्भर बन्ने हो भने जीवन सरल, सहज, र आनन्दमय बन्छ।

हजुरको अभाव सधैं खट्किन्छ। हामी सधैं हजुरलाई सम्झन्छौँ।

मेरो यो भोगाइ लेख्नुको कारण दुईवटा मुख्य उद्देश्य छन्। पहिलो, हामी सबैलाई सचेत गराउनु र दोस्रो, मलाई जस्तै धेरै महिलाहरूले यस्ता भोगाइहरू अनुभव गरेका छन्, ताकि अरू महिलाहरूले आफ्ना अनुभव साझा गर्न सकून् र उनीहरूले यस्ता कठिनाइहरूको सामना नपरोस्। मैले झन्डै ४-५ वर्षदेखि महिलाहरूका समुह र कार्यक्रमहरूमा यस्ता विषयहरू उठाउँछु। हाम्रो दायित्व हो कि एकल, विधवा, र डिभोर्सी महिलाहरूसँग सहानुभूति र सहयोग गर्ने। यसमा आर्थिक सहयोग मात्र होइन, मानसिक र भावनात्मक सहयोग पनि अत्यन्त महत्त्वपूर्ण छ।

पापा, हजुरको कमी त सधै हुन्छ तर हामीसँगै भएको नै आभास हुन्छ। मैले हजुरको दराज सबै जस्ताको तस्तै राखेको छु.. कहिले काहि बाबु नानी हामी भएर हेर्छौ हजुरको कपडा, जहाँ धेरै यादहरू छन्।  मृत्यु भएको मानिसको सामान राख्‍नु हुन्न भन्छन्.. मैले सम्पति खान हुने सम्झनाको लागि उहाँको चिज किन राख्‍न नहुने भन्छु। हजुर मात्र ‌नभएर बुबा ममी दुवैको दराज पनि जस्ताको तस्तै छ। भौतिक रुपमा हामी सँगै नभएपनि हजुर सँधै सँगै भएको महसुस हुन्छ। हजुरको गाडी चढेर हिड्छु, सँगै भएको आभास हुन्छ। कतिले बेच्न भन्छन् मलाई । एकदम गाह्रो हुन्छ। त्यो गाडीमा ‌हामीले कति समय सँगै हिडेका छौ मिठो नमिठो सबै सम्झना छ।

यताको पिर नलिनुस पापा, जिन्दगीको बाटोमा हिड्दा कैले फूल नै फूल हुन्छ भने कैले काँडा नै काँडा।  म लडिरहन्छु, एक्लै भए पनि हिडिरहन्छु, हजुर जहाँ भए पनि खुसि हुनुस् है। हजुर, बुबा, आमा हरेक दिन मेरो बलियो खम्बा हुनु भएको छ।  पितृको आशिर्वादलाई कसैले हाराउन सक्दैनन् भन्छन् हो त्यस्तै भएको छ,  हजुरहरू संगै नहुँदा पनि हजुरहरूको यादले घर भरिपूर्ण छ, हरेक दिन संगै भए जस्तो, हामी जता गए हामी संगै आए जस्तो। संधैभरी हजुरले सिकाउनु भएका कुरालाई साथ मै लिएर हिड्न सकुँ।  आशिर्वाद मागे है पापा, बुबा(ससुरा), ममी(सासु)।  हजुरहरू जहाँ भए पनि हजुरको आत्माले शान्ति पाओस् र आत्मसम्मान  जोगाएर सेवा प्रदान गर्न सकुँ, हामीलाई संधै आशिष दिइरहनु।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत