काठमाडौं । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग वरिपरी विभिन्न क्षतिमा सरकारले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
ठेक्केदार कम्पनीको लापर्बाहीका कारण भएको क्षतिमा त्यहि कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा सरकारले गैरकानूनी रुपमा आफैंले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्दा प्रभावित स्थानीयबासीको हकमा ठेक्केदार कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले तत्कालीन समयमा १० करोड रुपैयाँबराबरको प्रिमियर इन्स्योरेन्स कम्पनीमा तेस्रो पक्ष बीमा गराएको थियो ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य सुरु गर्दा सुरुङमार्ग खन्न र व्लास्टिङ्ग गर्ने क्रममा वरिपरीका ९३ वटा घर चर्केको स्थानीयवासीको भनाइ छ । ठेक्केदार कम्पनीले निर्माण कार्य सुरु गर्दा ९३ मध्ये १८ वटा घर पूर्णरुपमा क्षति भएको थियो र ७५ घरमा आंशिक क्षति पुगेको सुरुङमार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले जानकारी दिए ।
गत चैत ३ गतेदेखि स्थानीयवासीले आयोजना स्थलको निर्माण कार्य ठप्प पारी चैत ३१ गतेसम्म आन्दोलन गरेका थिए ।
सरकारले सुरक्षाकर्मी परिचालन गराएर बैशाख १ गतेदेखि काम सुचारु गराएपनि स्थानीयवासीको आन्दोलनका कारण घर फर्केका करिब ६० प्रतिशत कामदार काम गर्न फिर्ता नआएकाले निर्माण कार्य सुस्त गतिमा भइरहेको एक अधिकारीले जानकारी दिएका छन् ।
यो आन्दोलनका कारण सुरुङ मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा निर्माण कार्य सम्पन्न गर्न थप समय लाग्ने भएको छ ।
आयोजनाअनुसार अहिलेसम्म फ्लाईओभरतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ । यस्तै पेभमेन्टतर्फ इभाक्युसन टनेलको तलको ढलानतर्फ २ हजार ८ सय मिटरमध्ये १ हजार १ सय ५६ मिटरमा ढलान सम्पन्न भएको छ ।
यस्तै एप्रोट सडक, र्याम्प, र अन्य सडकतर्फ ९ हजार ९ सय ५६ मिटरमध्ये ६ हजार ५सय ६२ मिटरमा काम सम्पन्न भएको छ । यसरी हेर्दा ८६.३६ प्रतिशत भौतिक र ७६.६८ प्रतिशत वित्तीय प्रगति भएको छ ।