काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।
आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिन्छ । साथै तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो । आज सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ डिग्रीसम्म पुग्नसक्ने सम्भावना रहेको छ भने सबैभन्दा कम तापक्रम राति जुम्लामा ६ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।
काठमाडौं उपत्यकामा भने आज ३१ देखि ३३ डिग्रीसम्म पुगेको जनाइएको छ ।