काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयहरुलाई जेठ पहिलो हप्ताभित्रै छात्रवृत्ति विवरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।
महानगरले एक सूचना जारी गरी महानगर अन्तर्गत सञ्चालित निजी विद्यालयहरुलाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित र शहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा जेठ पहिलो साताभित्रै आवेदन लिएर छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे ।
शैक्षिक सत्र २०८२ मा कक्षा १ देखि १० सम्म विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशतमा छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ । छात्रवृत्तिकाे सूचना विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनका अभिभावकबाट आवेदन लिई जेठ पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकाे महानगरकाे शिक्षा शाखाले जनाएको छ ।
कक्षा १ देखि कक्षा १० मा छात्रवृत्ति उपलब्ध गराउँदा अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ अनुसार जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपीडित र शहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने उल्लेख छ।