– सुवास गोतामे
तामाङले बेलिविस्तार लगाएपछि प्रहरीले अभिलेख खोतलेर हेर्दा उनीविरुद्ध नाबालिकाको परिवारले २०७२ फागुन ५ गते जाहेरी दिएको खुल्यो ।
तत्कालीन समयमा तामाङ फरार रहेकाले उनीविरुद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम सजाय कायम गरी पाऊँ भन्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धानको मिसिल बुझाएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा तामाङलाई फरार कायम गर्दै २०७३ असोज ३ गते मुद्दा दायर गर्यो ।
अदालतले २०७५ मंसिर ६ गते तामाङको हकमा यकिन वतन खुली आएमा मुद्दा जगाई कारबाही किनारा गर्ने गरी तामेलीमा राख्ने आदेश दिएको थियो ।
तामाङले प्रहरीमा आत्मसमर्पण गरेपछि प्रहरीले सरकारी वकिलमार्फत उनलाई अदालतमा उपस्थित गरायो । अदालतले तामाङलाई पुर्पक्षका लागि कारागार पठायो । तामाङ अहिले कारागार कार्यालय जगन्नाथदेवलमा छन् ।
प्रहरीसँगको बयानमा तामाङले उक्त घटनापछि आफू भागेर भारतको असम राज्यस्थित गुवाहिटी गएको र त्यहाँ ७ वर्ष नोकरी गरेर बसेको खुलाएका छन् । भारतबाट फर्केर सुनसरी र उदयपुरमा लुकेर बसेको तामाङले बयानमा खुलाएका छन् । उनी श्रीमती र बालबच्चालाई छाडेर १० वर्ष भागेका थिए । तर, प्रहरीमा आत्मसमर्पण गर्न पुग्दा उनले साथमा रहेको छोरालाई लिएर गएका थिए ।
‘तपाईं किन अपराध स्वीकारेर आउनुभएको ?’ भन्ने प्रश्नमा तामाङले भने, ‘मलाई रातभरि निद्रा लागेन, मैले गल्ती गरेको छु जस्तो लाग्यो, छटपटी भयो, बेचैनी भयो, त्यही भएर कानूनले तोकेको सजाय भोग्छु भनेर आएको हुँ ।’
१० वर्षपछि काठमाडौं फर्किएका तामाङको छटपटी देखेरै परिवारले पनि प्रहरीमा आत्मसमर्पण गर्न सुझाव दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरीले खोजी गरिरहे पनि दबाबविनै आरोपी प्रहरीमा आत्मसमर्पण गर्नु आफैंमा नौलो घटना भएको बताए ।
‘काले तामाङ १० वर्षअघि गरेको अपराधमा आफूलाई सजाय गरिदिन माग गर्दै प्रहरीमा उपस्थिति भएको सुनेपछि म छक्क परें,’ अधिकारीले भने, ‘अपराध गरेर भाग्ने, लुक्ने एउटा जमात छ । तामाङ आफूले गल्ती गरेको आत्मबोध भएरै प्रहरीमा उपस्थित भएको हुनुपर्छ । हामीले सम्मानित अदालतमा पेश गर्दा उनलाई पुर्पक्षको लागि कारागार पठाइएको छ ।’