काठमाडौँ । चन्द्रागिरि हिल्सको लापरबाहीका कारण टेकानपुरस्थित ऐतिहासिक महाँलक्ष्मी चौर धरापमा परेको छ ।
काठमाडौं फनपार्क प्रा.लिको नाममा केबलकार लगायत विभिन्न व्यवसाय सञ्चालन गर्नेगरी चन्द्रगिरि नगरपालिका (साविक थानकोट गा.वि.स तथा साविक था.महादेवस्थान गा.वि.स) अन्तर्गत आवस्यक स्वीकृति, सिफारिस लिएर विभिन्न स्थानिय मागहरू शसर्त, निशर्त पालना गर्नेगरी स्थापना गरिएको हालको चन्द्रागिरि हिल्सले विगतका आफ्ना सबै वाचाहरू बिर्सिएर स्थानिय सरोकार र सामाजिक उत्तरदायित्वको सवालमा गम्भीर कुठाराघात गरेको गुनासो बढेको छ ।
स्थापनाकालमा विभिन्न आश्वासन र प्रतिबद्धता सहित संचालकहरू चन्द्र ढकाल, अम्बिका पौडेल, प्रोजेक्ट म्यानेजर दिलिप श्रेष्ठहरू परियोजनाबाट प्रत्यक्ष प्रभावित मकवानपुरको चित्लाङ्ग, चखेल, काठमाडौंको थानकोट, था. महादेवस्थान लगायत स्थानीय निकाए र गाउँ, टोलहरूमा गएर विभिन्न सहमति, सम्झौताहरू गरेको तर ती सबै सहमति, सम्झौताहरू डस्टबिनमा मिल्काएको स्थानियहरूले आरोप लगाएका छन् ।
चन्द्रागिरि हिल्सले स्थापनाकालमा केबलकार सञ्चालन भएपछि स्थानीय सामाजिक जीवनमा आर्थिक उन्नतिको नयाँ “ढोका” खुल्ने भनेर “गफ” लाएको र अन्ततः स्थानीयले “धोका” पाएको स्थानीयहरूले बताउन थालेका छन् ।
चन्द्रागिरि हिल्सकै लापरबाही अकर्मण्यताका कारण टेकानपुर- महाँलक्ष्मी चौर लथालिङ्ग हुन थालेको छ । चन्द्रागिरि नगरपालिका वडा नं ४ मा रहेको आदिबासी बलामी समुदायले परापूर्वकालदेखी आफ्नो धार्मिक, साँस्कृतिक गतिविधि गर्दै आएको सो महाँलक्ष्मी चौरमुनिबाट हिल्सले ढल निकासका लागि हिम पाईप बिछ्याएको छ । यद्यपि, २ वर्षदेखी बर्खाको पानीले चौरमा क्षति पुर्याएको र बनाइएका संरचनाहरू बिग्रीएका छन् । जसका कारण त्रिभुवन पार्क र टेकानपुर महाँलक्ष्मी चौरमा गम्भीर असर गरेको छ । हिल्सलाई पटकपटक यस विषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।
नेपालकै दोस्रो र उपत्यकाको पहिलो केबलकारको रूपमा प्रचार गरि व्यापार गरिरहेको चन्द्रागिरि हिल्स जाने गणेशमान सिंह राजमार्गमै रहेको उक्त महाँलक्ष्मी चौरको बेहाल स्थानीय जनप्रतिनिधिहरूले समेत अनदेखा गर्दै आइरहेका छन् । स्थानीयहरूका अनुसार हिल्सको प्रभावमा परेका निश्चित व्यक्ति, जनप्रतिनिधि र टोले दादाहरूका कारण स्थानीय सरोकारका विषयमा चन्द्रागिरि हिल्सको ज्यादती कायम रहेको स्थानीयहरूले आरोप लगाएका छन् ।
चौरका विषयमा पटकपटक चन्द्रागिरि हिल्सको व्यवस्थापकहरूलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको, संचालहरू सम्पर्कमै नआउने गरेको अवस्थामा उस्तै परे आफूहरू कठोर कदम चाल्न बाध्य हुनुपर्ने स्थानीयले बताएका छन् ।