२९ वर्षको उमेरमै दिवङ्गत भएका कवि प्रचण्ड भाष्करको कविता सङ्ग्रह “कच्ची रोडसँगैका पक्की चोटहरू” सार्वजनिक हुनेभएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका वडा नं २ स्थित शर्मालीमा २०५१ सालमा जन्म लिएका प्रचण्ड भाष्करले माध्यमिक तहसम्मको शिक्षा नागार्जुन माध्यमिक विद्यालय बैतडीबाट आर्जन गरी उच्च शिक्षाका लागि कञ्चनपुर आएका थिए ।
आफ्नो जीवनकालको छोटो अवधिमै डोट्याली र नेपाली भाषाका कविता लेखनको माध्यमबाट आफुलाई नेपाली साहित्यमा चिनाउन सफल भाष्कर एक असल काव्य प्रेमीसमेत थिए ।
कवितामा जीवनको यथार्थ लेख्ने र जीवनको यथार्थमा कविता देख्ने कवि प्रचण्डलाई घाँटीको क्यान्सर भएपछि उनको काठमाडौं र भारतको दिल्ली सहित विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।
उनको उपचारका क्रममा उनलाई प्रेम गर्ने कवि, साहित्यकार, आफन्त, ईष्ट, मित्रहरूले स्वत: स्फूर्त उनको सहयोगका लागि आर्थिक संकलन अभियान चलाएर उनलाई बचाउन हर सम्भव प्रयास गरिएपनी अन्ततः क्यान्सर कै कारण उनले यो धर्तीलाई छाडेर गए ।
अल्पायुमै अस्ताएका उनै प्रचण्ड भाष्करका छरिएर रहेका जीवनजन्य सृजनाहरूलाई बटुलेर अर्का युवा कवि दोस्ताज महेशले तयार पारे “कच्ची रोडसँगैका पक्की चोटहरू” कविता सङ्ग्रह !
जेष्ठ १० गते शनिबार दिउँसो १:४५ बजे सार्वजनिक गरिन लागेको उक्त कविता सङ्ग्रह फगत एक पुस्तक मात्र नभई हरेक त्यो पुस्ताको जसले साहित्यलाई जीवनको परिभाषामा अनुदित गर्ने प्रयास गरे, व्याख्या र वर्णन भन्दा अलिपर जसले साहित्यलाई जीवनको अस्तित्व मानेर स्विकार गरे, ती तमाम “प्रचण्ड भाष्कर”हरूप्रती सम्झना र श्रद्धाञ्जलि हुनेछ !