काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको आयोजनामा चन्द्रागिरि पार्टी प्यालेस, सतुङ्गलमा “महिला नेतृ, शुभचिन्तक भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
आज सम्पन्न कार्यक्रमको अध्यक्षता नगर उपसभापति तथा महिला विभाग प्रमुख करुणा श्रेष्ठले गरेकी थिइन् भने, जिल्ला सभापति तथा काठमाडौं–१० का उम्मेदवार प्रदीप बिस्ट, केन्द्रीय गुनासो विभागका उपप्रमुख तथा काठमाडौं–९ का उम्मेदवार टेकबहादुर पोखरेल, नगर सचिव मधुकर बस्नेत लगायत क्षेत्रीय सदस्य, नगर पदाधिकारी तथा वडा सभापतिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा महिला नेतृहरूको परिचय, अनुभव आदानप्रदान तथा संगठनको भावी रणनीतिमा योगदान कसरी पुर्याउन सकिन्छ भन्नेबारे व्यापक छलफल गरिएको बताइएको छ ।
त्यस्तै, संगठनात्मक सुदृढीकरणका लागि आजै महिला नेतृहरूलाई विभिन्न संयोजकको जिम्मेवारीसमेत तोकिएको छ । रास्वपाले तोकेको संयोजकहरूमा वडागत संगठन सुदृढीकरण संयोजक मन्दिरा थापा, सदस्यता विस्तार संयोजक रिना थापा, प्रचार–प्रसार संयोजक सुमित्रा खनिया, प्रशिक्षण तथा अभिमुखीकरण संयोजक शकुन्तला ढुंगाना, कार्यक्रम समन्वय संयोजक संजु कार्की, युवा तथा किशोरी संवाद संयोजक रमा महर्जन, सल्लाहकार समूह संयोजक बिमला अधिकारी, आर्थिक प्रशासन संयोजक बिमला पौडेल आचार्य रहेको जनाइएको छ ।
भेट्घाट कार्यक्रममा रास्वपा चन्द्रागिरि नगरपार्टीका सचिव मधुकर बस्नेतले महिला सहभागिता बिना पार्टी सुदृढ नहुने भएकोले आजको कार्यक्रमले नारी सशक्तिकरणको दिशामा नयाँ ऊर्जा थपेको बताएका थिए ।