काठमाडौँ । कीर्तिपुर, श्रावण २२, २०८२ — कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित क्वा:र महर्जन सांस्कृतिक बाजं खलद्वारा सञ्चालित डेढ महिने बाजा प्रशिक्षण कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले परम्परागत बाजाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय पहिचानलाई जगेर्ना गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो।
धाः बाजा गुरु सबिन डंगोलको प्रशिक्षणमा सञ्चालित कार्यक्रमले सहभागीहरूलाई सांगीतिक सीपमा मात्र होइन, संस्कृति र समुदायप्रतिको जिम्मेवारीमा समेत सचेत गराएको आयोजकको भनाइ छ।
खलका अध्यक्ष (कजि) पूर्णबहादुर महर्जनका अनुसार प्रशिक्षणमा विभिन्न उमेर समूहका युवाहरूको सहभागिता उत्साहजनक थियो। उनले भविष्यमा अझ व्यापक रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा प्रशिक्षार्थीहरूको सामूहिक बाजा प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। उपस्थित स्थानीय बासिन्दा, अभिभावक, र सांस्कृतिक अभियन्ताहरूले खलको यो प्रयासको प्रशंसा गरेका थिए।
कार्यक्रममा किर्तीपुर वडा नं. ६ का वडा अध्यक्ष खिरमान सिंह बस्नेत र समाजका थकाली जुजुभाई महर्जनले पनि मन्तव्य राख्नुभएको थियो ।
महर्जन बाजं खलले आफ्नै स्रोत र प्रयासमा यो कार्यक्रम सम्पन्न गरेको हो।