काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपाली युवा टोलीले आज एसियाली पावरहाउस उत्तर कोरियाको सामना गर्दैछ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने यो खेललाई नेपालको ‘अग्निपरीक्षा’का रूपमा हेरिएको छ । उत्तर कोरियाली टोली केवल एसियन कपको पूर्वविजेता मात्र नभई यू-२० विश्वकप नै जितिसकेको एक अत्यन्तै बलियो प्रतिद्वन्द्वी हो । उत्तर कोरियाले आफ्ना सुरुवाती खेलहरूमा साउदी अरेबियालाई १५-० र आयोजक भुटानलाई १०-० को फराकिलो गोलअन्तरले पराजित गर्दै आफ्नो दबदबा कायम राखेको छ ।
प्रतियोगिताको नियमअनुसार समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछ भने उत्कृष्ट तीन उपविजेताले पनि अर्को चरणमा स्थान बनाउनेछन् । तर, बलियो गोलअन्तरका कारण नेपाललाई छनोटको सम्भावना बलियो बनाउन आजको खेल जित्नैपर्ने दबाब छ ।