काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष परिपत्र जारी गर्दै अवैध रूपमा निर्माण गरिएका संरचनाहरू भत्काउन देशभरका सीडीओलाई परिपत्र जारी गरेकाे छ ।
गृह मन्त्रालयको यो निर्देशनले विशेषगरी स्थानीय तहहरूले सुरु गरेको अतिक्रमण हटाउने अभियानलाई थप प्रशासनिक र सुरक्षा बल प्रदान गर्ने देखिएको छ।
मन्त्रालयले पठाएको पत्रमा स्थानीय प्रशासनलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न भनिएको छ।
कतिपय स्थानमा अतिक्रमण हटाउने क्रममा स्थानीय बासिन्दा वा सरोकारवाला समूहबाट विरोध र सुरक्षा चुनौती सिर्जना हुने गरेको सन्दर्भमा मन्त्रालयले शान्ति सुरक्षा कायम राख्दै संरचना हटाउन सुरक्षाकर्मीको उचित परिचालन गर्न सीडीओहरूलाई निर्देशन दिएको हो।
मन्त्रालयले संरचना हटाइसकेपछि ती क्षेत्रहरू पुनः अतिक्रमण हुन नदिनका लागि निरन्तर अनुगमन र निगरानीको संयन्त्र बनाउन समेत प्रमुख जिल्ला अधिकारीहरूलाई सचेत गराएको छ।