विज्ञापन

'थानकोटमा राङ्गाको टाउको लुकाउने जात्रा '

काठमाडौंको पश्चिमतर्फ रहेको चन्द्रागिरिको काखमा पूर्वोत्तर लम्पसार, शान्त र सुन्दर स्वरूपमा रहेको पौराणिक एवम् ऐतिहासिक शोणितपुरलाई हिजोआज थानकोट नामले चिनिन्छ । दानवराज वाणसुरको कथासँग सम्बद्ध शोणितपुर नगरीलाई भाषावंशावली अनुसार सुप्रभानगरी पनि भनेको पाइन्छ ।

विज्ञापन

यही शोणितपुर नगरीमा प्रचलित पञ्चाङ्गको तिथिअनुसार परम्परागत विभिन्न जात्रापर्वहरू अद्यापि मनाउँदै आएको पाइन्छ । तिनै जात्रापर्वहरूमध्ये अन्यत्र नभएको अनौठो, अपत्यारिलो र रोचक किसिमको जात्रा पनि यहाँ मनाउने गर्छन् । नेपालभाषामा छ्याछि“ तु“ तु“, नाय्खिं बाजाको तालमा म्येय्या छ्योँ कुबिइगु (राङ्गाको टाउको बोक्ने) नाउँको यो जात्रालाई आजभोली राँगाको टाउको लुकाउने जात्रा पनि भन्ने गरेको छ ।

विज्ञापन

यो जात्रा कहिलेदेखि शुरू भएको भन्ने एकिन तिथिमिति हालसम्म कतै भेटाउन सकेको छैन । जनश्रुति अनुसार उहिले नरभक्षी राक्षसलाई मारेपछि त्यस दुष्ट राक्षसलाई मारेका थिए । त्यसैले उनको खिल्ली उडाउँदै हर्सोल्लासकासाथ विजयोत्सव मनाई लोकमनोरञ्जन एवम् लोकपर्वको रुपमा यो जात्रा मनाएका थिए । हालसम्म पनि यो जात्राको परम्परागत प्रचलनलाई जीवन्त तुल्याउँदै आएका छन् ।

जे होस् यो जात्राले स्थानीय नेवार समुदायलगायत अन्य जातिबीचमा पनि निकै लोकप्रिय रोचक र उत्तेजक मानिने गर्छ । यस जात्रालाई उहिले लोकमनोरञ्जन र महत्वपूर्ण साँस्कृतिक जात्राको रूपमा मान्ने गरेको पाइन्छ ।

आजका पुस्तामा पनि परम्परागत त्यस धारणामा परिवर्तन आएको छैन । साँस्कृतिक पर्व मनाउन अरू थप उत्साह र सक्रिय सहभागिताको भावना बढेको पाइन्छ । किनभने यस जात्राको उद्देश्य नै समाजका दुष्ट र बदमासहरूलाई सार्वजनिक रूपमा दिइने दण्ड वा सजायको प्रतीकात्मक स्वरूप मानेका छन् । नराम्रा प्रवृत्तिप्रति गाउँलेहरू नै एकजुट भएर समाजबाट सदा–सदाका लागि अन्त्य गराउन पछि पर्दैनन् भन्ने सङ्केत र सन्देश दिनु नै यो जात्राको मुख्य अभिप्राय रहेको छ ।

यस प्रकार राँगाको टाउको लुकाउने जात्राले एकातिर दुष्टको अन्त्य गर्ने र अर्कोतिर साँस्कृतिक मनोरञ्जनको मिठाससमेत प्रदान गरेको पाइन्छ । यही अवधारणाकासाथ थानकोटका युवा पुस्तामा प्रत्येक वर्ष गाईजात्रा पर्व मनाउन रोमाञ्चक प्रस्तुति गर्न उत्सुक रहेको पाइन्छ । यो जात्रामा हाँस्ने, हँसाउने र साँस्कृतिक धरोहरलाई जोगाई राख्न भरमग्दुर प्रयास हुने गर्छन् ।

वास्तवमा हाँस्नु भनेकै शरीर स्वस्थ पार्नु हो । हाँस्नु जतिकै भनेकै असामाजिक चरित्रमा अशिष्टलाई अन्त्य गर्नु पनि हो । यो त्यही मान्यताकासाथ परम्परागत प्रचलनको सांस्कृतिक उत्सव हो । त्यसैले यो जात्राको प्रस्तुतीकरणबाट स्थानीय बासिन्दामा सधैँ सकारात्मक सन्देश सम्प्रेषित गरिरहेको अनुभव गर्न सकिन्छ । यो जात्राका चलन बारे व्याख्या गर्नु अगाडि यससँग सम्बन्धित किम्वदन्तीमाथि प्रकाश पारिँदा जात्राको परम्परागत मान्यता अझ स्पष्ट हुने निश्चय गर्न सकिन्छ ।

किम्वदन्तीअनुसार शोणितपुर नगरीको थानकोटमा तत्कालीन समयमा एउटा नरभक्षी राक्षस आएर गाउँलेलाई मादै खाने क्रम तीब्र भयो । जथाभावी मान्छे खाने क्रम बढ्दै गएपछि क्रमशः गाउँका बासिन्दा निख्रिँदै जान थाले । गाउँमा एक प्रकारको त्राश, सन्नाटा तथा आपत्ति सिर्जना भयो । दिनदिनै जथाभावी मान्छे खान थालेकाले नियन्त्रण गर्न नसके तापनि केही कम गराउन गाउँलेहरूले ती राक्षसको सामु दिनको एक जना मान्छे आफैं आहार बन्न आउने बाचा गरे ।

यसले गर्दा गाउँमा विद्यमान हाहाकारमा केही त कम भयो । तर दिनहुँ एक–एकजना राक्षसको आहार बन्न जानु त्यति सजिलो कुरा थिएन । ज्यानको माया त सबैलाई हुने नै भयो । त्यसमाथि विना दोष, विना र रोगमा घरपरिवार र आफन्त सबैलाई रूवाएर मृत्युको मुखमा जानु त्यति सजिलो कुरा थिएन । स्वस्थ आफ्नो ज्यान व्यर्थै दुष्ट राक्षसका लागि बलिदान दिनु कसैका निम्ति पनि स्वीकार्य थिएन ।

वसुदैव कुटुम्वकमको भावनाले रमाइलोसँग बसेका गाउँलेबीच अप्रत्याशित उत्पन्न त्राशदीपूर्ण सङ्कटले मर्माहत हुन थाले । यस असामाजिक र अशिष्ट राक्षसको शोषणबाट मुक्तिका लागि गाउँलेहरूले अनेक उपायको खोजी गरे । तर केही उपाय लागेन । अन्तमा उनीहरू भगवान आदिनारायण समक्ष विन्ति विसाउन पुगे ।

गाउँलेको पुकारसहितको चित्कारपूर्ण प्रार्थनाबाट स्थानीय आदिनारायण भगवानलाई दया लाग्यो । नगरवासीबाट आराध्यदेवका रूपमा पुजित आदिनारायणले भक्तजनको समस्या समाधानका लागि ती राक्षसबाट मुक्तिको उपाय खोजे । त्यही खोजाइको क्रममा नरभक्षी राक्षसलाई सधैँका लागि गाउँबाट लखेट्नको लागि उसलाई कठोर सजायँ दिन भगवान आदिनारायणबाट प्रतीज्ञा भयो ।

त्यसपछि आराध्यदेव भगवान आदिनारायणबाट आफ्ना भक्तजनको जीवन रक्षा गर्न र गाउँमा पुनः सुख शान्ति फर्काउन आराध्यदेव शिवको आराधना गरेर भ्यागुतोेको रूपधारणा गरे । एक दिन नरभक्षी राक्षसको आहार हुन भ्यागुतोे रूपी भगवान राक्षस सामुन्ने उपस्थित भए । आफ्नो आहार  भ्यागुतोे ? त्यसमा पनि पेट नै नभरिने देखेर राक्षस क्रोधित बने ।

उनको क्रोधलाई झन बढावा दिँदै भ्यागुतोेले राक्षसको घमण्डलाई झन चुनौति दिन थाले । आफूलाई खान राक्षसलाई पटक–पटक अनुरोध गरे । फुच्चे भ्यागुतोेको चुनौतिबाट रीसले चुर हुँदै राक्षसले भ्यागुतोेलाई क¥यामझ्याप्प पार्न खोज्यो । तर भ्यागुतोेलाई खानु त के कुरा समात्नलाई पनि ठूलै शक्ति प्रयोग गरे । तर पनि सकेन ।

भ्यागुतोे उफ्रिदै पछि सर्दै धापिलो ठाउँमा पुग्यो । भ्यागुतोे समाउने प्रयत्नमा राक्षस त्यही धापको दल्दलेमा जाक्किन पुग्यो । यो खवर वायुवेगमा नगरवासीमा छायो । मान्छे मारेर खाने राक्षसलाई बचाउँन कोही मान्छे तयार थिएनन् । बरू सारा गाउँले मिलेर त्यस दुष्ट नरभक्षीलाई ढुङ्गामुडाले हान्न थाले । त्यतिले पनि चित्त नबुझी उसको टाउको काटिदिए ।

त्यो टाउको बोकेर नाच्दै, गाउँदै गाउँ परिक्रमा गर्न गाउँलेहरू एकजुट भए । यता भ्यागुतोे रूपी भगवान आदिनारायण पनि खुशी भई पूर्ववत् रूपमा फर्की आराध्यदेव शिवलिङ्गलाई शिरमा राखी सवैबाट पूजित भई रहे । यसैले थानकोटस्थित आदिनारायण भगवानको शिरमा शिवलिङ्ग रहेको भनाइ पाइन्छ ।

आफ्ना पतिको त्यो हालत देखेर राक्षसनी पनि रूदै चिच्याउँदै त्यहाँ आइपुगिन् । तीनलाई पनि गाउँलेहरूले समातेर पाता फर्काइ बाँधे । ती राक्षसनीलाई पनि बेरूप बनाएर दुईजनाले पाखुरामा समातेर सिस्नोपानीले पिट्न थाले । आफन्तलाई जिउँदै खाएर सताउनेलाई यसरी सजाय दिन पाएकामा विगतका शोक सम्झिँदै सारा गाउँवासी उत्तेजित भए ।

गाउँलेहरुले ती राक्षसको टाउको बोकेर गाउँको टोलटोलमा घुम्दै रमाइलो गर्न थाले । त्यसपछि गाउँको किनारामा रहेको सिलाफः पुखु (सिलाफल पोखरी) तीन फन्को घुमेर पोखरीको दक्षिण–पूर्वी कुनाबाट त्यो टाउको पोखरीमा फालिदिए । ती राक्षसनीलाई पनि संगसगै त्यही पोखरीमा फालेर मारिदिए । त्यसपछिबाट गाउँमा त्राश, सन्नाटा र आपत्ति विस्तारै हराउँदै गयो । यसरी गाउँमा शान्ति सुव्यवस्था कायम भएको अनुभव गर्न थाले ।

अर्को वर्षदेखि नगरवासीले त्यस राक्षस राक्षसनीको अन्त्य भएको खुसियाली मनाउन थाले । त्यसपछि प्रत्येक वर्ष गाईजात्राको दिन साँझपख ती राक्षसको प्रतीक राङ्गाको टाउको काँधमा बोकेर जात्रा गर्दै उत्सव मनाउन थाले । परम्परागत यो उत्सव कालान्तरमा साँस्कृतिक चाडपर्वको रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

नरभक्षी राक्षसबाट छुटकारा दिलाएकाले ती भ्यागुतोेको सम्मान गर्न थाले । श्रावण शुक्ल पूर्णिमा (जनाइ पूर्णिमा) को दिनमा व्याँजा नकेगु (भ्यागुतोेलाई भात खुवाउने) भनेर चौरासीव्यञ्जन खानेकुरा तयार गरेर भ्यागुतोलाई भात खुवाउन थाले । यसरी भ्यागुतोेलाई भात खुवाइने प्रचलन भएको जनविश्वास छ । प्रसङ्गवस भ्यागुतोेलाई भात खुवाउने विषयको केही कुरा उठान गरेको मात्र हो । यसको चर्चा छुटृै आलेखमा हुने छ ।

गाईजात्राको दिनमा राङ्गाको टाउको बोक्ने जात्रा थानकोटस्थित कोतघरबाट निकाल्ने गर्छ । उक्त दिन लगभग दिउँसोतिर ‘नाय्खिं च्वय्किइगु’ भनेर एउटा ‘ख्यालः’ टोली कोतघरबाट निकाल्ने गर्छ । यो ‘नाय्खिं च्वय्किइगु’ कामको लागि स्थानीय खड्गी र कुसुले (कपाली) जातिकासाथै अन्य हास्यव्यङ्ग्य प्रस्तुत गर्न सक्ने व्यक्तिहरू सम्मिलित भएका हुन्छन् ।

विगतमा नेवाः समाजमा कुनै विशेष सार्वजनिक सूचना प्रवाह गर्नु परेमा नाय्खिं च्वय्काः (नाय्खिं बाजा बजाएर) टोलटोलमा पताःसिं (कटुवाल) गरेर खवर पु¥याउने गर्थे । यसमा पनि नाय्खिं च्वयकिइगु गरेर बेलुकातिर सिलाफः पोखरीमा राङ्गाको टाउको खसाल्ने र खोज्ने जात्रा हेर्न सार्वजनिक सूचना प्रवाह गरेको मानिन्छ  ।

हास्यव्यङ्ग्य प्रस्तुतिकासाथ कोतघरबाट निस्किने ‘छ्याछिँ तुँ तुँ ….’को तालमा बजाइने नाय्खिं बाजाको तालमा ताल मिलाउँदै नाच्दै निस्केको टोली निर्धारित देवमार्ग परिक्रमा गरेर कोतघरमा नै फर्कन्छन् । यसरी नाय्खिं च्वय्किइगु टोलटोलमा पुगेर त्यो जात्रा हुने कुराको सूचना व्यङ्ग्यात्मक तवरले अभिनय गर्दै प्रवाह गर्छन् । नाय्खिं बजाउनेले ‘अ…रे…..क्…..क चाहिला वयाः, हुँ भाजु÷मय्जुया नां छु खः थेँ ?’ भनेर दर्शकदीर्घातर्फ सङ््केत गरेर आफ्नै टोलीभित्र कसैसंग व्यङ्ग्यात्मक प्रश्न गर्छन् । अनि त्यसै मौकामा उनको कान नजिक ‘ट्वाएए…..’ गरेर ‘म्वाय्ली’ फुकिदिन्छ । प्रत्यूत्तरमा उनले पनि हठास् मै ‘झ्वकमनिइम्ह’ भनेर सराप्दै नाय्खिंको लठ्ठीले म्वाय्ली फुक्नेको टाउकोमा घोचिदिन्छ ।

त्यस गरी नाय्खिं बजाउनेले आफ्नै तरिकाबाट आफूले सङकेत गरेका व्यक्तिको व्यङ्यात्मक नाउँ उच्चारण गरेर हसाउँने काम गर्छ । अनि दर्शकदीर्घातर्फ हेर्दै सिलाफःमा जात्रा हेर्न निम्तो गर्ने अभिनय गर्छन् । जस्तै  ‘सकलें भाजु मय्जुपिं न्यनादिसँ……। दुपिनि दुथें मदुपिनि अथें, तःग्वःगु मल्ता न्हय्गः, चिग्वःगु मल्ता न्हय्गः, छुचुंमरि न्हयुपा, मुतूचा क्वाति न्हय्खोला त्वनां दुपिनि धिकय् धाकय् पुना, मदुपिनि ज्वाय्ज्वाय् तिसा वसः पुनां हन्चाबहःनि सिलाफः पुखुलिइ जात्रा स्वः झासँ न्हाय् ….. ’ भन्छन् ।

(सकल पुरुष महिलाहरु सुन्नु होस् ….. । हुनेहरु हुने गरी नहुनेहरु त्यसै गरी, ठूलो खुर्सानी सात वटा, सानो खुर्सानी सात वटा, गहुँको रोटी सात वटा, मुतूचा क्वाति सात कचौरा खाएर, हुनेखानेहरुले झुम्रेझाम्रे लगाएर, नहुनेहरुले गरगहनाले सजिएर बेलुका सिलाफल पोखरीमा जात्रा हेर्न आउनुस है ….)

यस्तो सूचना प्रवाह गरिरहेको बेलामा बीचबीचमा कहिले नाय्खिंको ‘भुस्याः’ त कहिले ‘म्वाय्ली’ उनको काननिर बजाएर उनको भनाइ खलबली पारिदिन्छ । अनि उनले त्यही झोंकमा ‘झ्वकमनिइम्ह’ भनेर सराप्दै नाय्खिंको लठ्ठीले उनिहरूको टाउकोमा घोच्ने अभिनय गर्छन् । यस्तै गरी निर्धारित क्षेत्र परिक्रमा गरेपछि कोतघरमा पुगेर विसर्जन गर्ने प्रचलन छ ।

थानकोटमा परापूर्वकालदेखि नै कोतघरबाट सरकारी पूजाआजाको व्यवस्था गर्ने प्रचलन रहेको छ । त्यसैले यो राङ्गाको टाउको बोक्ने जात्रा पनि कोतघर चलाउने सांस्कृतिक पर्वको रुपमा लिएको रहेछ । त्यसको आवश्यक व्यवस्था कोतघरका पूजारी टोलीबाट गर्ने प्रचलन रहेको छ ।

यसरी नाय्खिं च्वय्किइगु कार्यक्रम सकिनासाथ राँगाको टाउको बोक्ने जात्रा सुरू हुन लागेको सङ्केत गर्छ । हुनत, नाय्खिं च्वय्किइगु टोलीलाई मनोरञ्जनकासाथ हेर्ने मान्छेको पनि उत्तिकै उत्सुकतापूर्ण भीड लाग्ने गर्छ । यिनै उत्सुकता र खुसियालीको विश्राम हुँदानहुँदै कोतघरबाट बाजागाजासाथ राङ्गाको टाउको बोक्ने जात्रा सुरु हुन थाल्छ ।

नरभक्षी राक्षसको प्रतीक मानिएका राङ्गाको टाउको बोकेर एकजना व्यक्ति व्यङ्ग्यात्मक पारामा ताण्डव नृत्य गर्दै कोतघरबाट निस्कन्छ । उक्त व्यक्तिलाई जोकरको रूपमा सिङ्गारिएको हुन्छ । त्यसैले उसलाई देख्नासाथ रमिते दर्शकहरू नहाँसी बस्न सक्दैनन् । उनको कपाल, अनुहार, शरीरभरि रङ्गीविरङ्गी रङ्गले पोतिएका हुन्थे ।

ती टाउको बोक्ने मान्छे सर्वाङ्ग भएको आभास दिलाउन मकैको खोइला वा पाकेको रुखकटहरको भित्रि डाँठलाई दुईवटा भोगटेको बीचमा राखेर (यौनाङ्गको आकृतिमा) बाँधेको  डोरी त्यसको कम्मरमा बेह्रिदिएको हुन्छ ।

त्यस्तै अर्को एकजनालाई पक्सीँ (राक्षसनी) नाउँकी महिलाको रुपमा एकजना पछिपछि निस्कन्छ । तिनले सारी, चोलो लगाएको हुन्छ । बायाँ हातले कलः (मसिनो चोयाले बुनेको हातमा झुण्ड्याउने पूजाथाली) समातेर सारीको मुजो समातेको हुन्छ । त्यस्तै दायाँ हात निधारमा आँखामा घाम छेके जस्तै गरी राखी लङ्गडो भएर हिँडेकी हुन्छ । ती पक्सीँलाई दुईजनाले पाखुरामा समातेर राङ्गाको टाउको बोकेर ताण्डव नृत्यमा रहेकाको अघिपछि हिँडाइरहेको हुन्छ ।

ती पाखुरा समाउने व्यक्तिहरूको पहिरन पनि उस्तै । दर्शकका लागि हाँसोलाग्दो खालको नै हुन्छ । अनुहार पनि विरूप पारेका ती व्यक्तिहरूले हातमा सिस्नोका मुठ्ठा लिएका हुन्छन् । अझ नायुखिँ बाजाको ‘छ्याछिँ तुँ तुँ, छ्याछिँ तुँ……………’ ताल र म्वाय्लीको ‘त्वाय् त्वाय् त्वाय् त्वाय्’ आवाजको साङ्गीतिक गुञ्जनले रोमाञ्चक थपिरहेको हुन्छ । दर्शकहरूको हाँसो, ताली र चिच्याहटले जात्राको वातावरणलाई थप रोमाञ्चकता थपेर मनोरञ्जन दिलाइरहेको हुन्छ ।

ती टाउको बोक्ने व्यक्ति नाच्दै उफ्रँदै पक्सींलाई समय समयमा सम्भोग गरेको हाउभाउमा ताण्डव मच्चाइएको अभिनय प्रस्तुत गर्ने रहेछ । यसरी ती टोली गाउँ परिक्रमा गर्दै सिलाफः पोखरीमा पुग्छन् । त्यो पोखरी तीन चक्कर घुमेर पोखरीको दक्षिण पूर्वी कुनाबाट त्यो राङ्गाको टाउको पोखरी फालिदिन्छ । साथै पक्सींलाई त्यहींबाट पोखरीमा खसालिदिन्छ ।

त्यसरी पोखरीमा फालिएको राङ्गाको टाउकालाई पोखरीमै लुकाउने र खोज्ने समूह बीचको प्रतिस्पर्धात्मक लुकामारी खेल अत्यन्तै रोमाञ्चक हुने गर्दछ । लुकाउने समूहले लुकाइसकेको जनाउ दिएपछि भेट्टाउने समूह पोखरीमा प्रवेश गर्छन् । निकै समयसम्म खोज्ने खेल कायमै रहिरहन्छ । रमिते दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले उनीहरूको उछिनपाछिनको खेल एउटा पृथक आन्दोलनको प्रस्तुतिकै रूपमा देखापर्दछ ।

कुनबेला, कहाँनिर राँगाको टाउको कसले फेला पार्न सक्छ भन्ने उत्सुकताले रमितेहरु पोखरीको वरिपरि बसेर उत्तेजित भइरहेका हुन्छन् । त्यही उत्तेजना र प्रतीक्षालाई शान्तपार्दै अन्त्यमा एकजनाले राँगाको टाउको फेला पार्छ । अनि उनलाई पोखरीबाट निस्कने बेलामा उनको स्वागतार्थ नाय्खिं बाजा टोलीबाट ‘सिइबाजँ’ बजाउने प्रचलन छ । नेवाः सामाजिक जनजीवनमा सिइबाजँ बजाउनु भनेको शव मसानघाटमा लगिँदा बजाइने नाय्खिँ बाजाको ताल हो ।

त्यसपछि पनि सी बाजँ बजाउँदै त्यो राङ्गाको टाउको फेला पार्नेले बोकेर कोतघरमा बुझाउनु पर्ने प्रचलन छ । त्यसो त लुकाएको टाउको खोज्ने समूह (खड्गी जाति) ले फेला पार्न नसकेमा जरिवाना तिनुपर्ने चलन पनि रहेको छ । उनीहरूको गुठीद्वारा त्यसको व्यवस्था गर्नुपर्ने प्रचलन रहेछ । तिनै गुठीका गुठियारले त्यो भेट्टाएको राङ्गाको टाउकाको मासु भाग लगाएर लगेपछि भोज खाएर रमाइलो गर्ने चलन रहेछ ।

यस्तो अनौठो र रोमाञ्चक प्रस्तुतिकासाथ प्रदर्शन हुने यो सांस्कृतिक जात्रा कोतघरबाट आरम्भ गरेर झ्यालम्पाटी, च्वछेँ,  सिकःछेँ, याकःछेँ, चाफल्चा हुँदै नासः टोलमा पुग्छन् । त्यसपछि बाकुननि, ताहाःफः, लाय्ब टोल परिक्रमा गर्दै ध्वाखासि पुगेर सिलाफः पुखू (सिलाफल पोखरी) तर्फ जान्छन् ।

त्यहाँको पोखरीमा माथि उल्लेख गरिए अनुसारको प्रक्रियामा त्यो राङ्गाको टाउको खसालेपछि बल्ल अब राक्षस समाप्त भयो भनेर खुसी हुन्छन् । गाउँबासीलाई सताउँदै मान्छे खाने दुष्ट राक्षस, राक्षसनी नाश भएको खुसियालीमा स्थानीयबासी हाँसोठट्टा गरी रमाइलो गर्दछन् ।

यसरी नरभक्षी राक्षसबाट मुक्ति पाएको खुसियालीमा यो पर्व मनाउन थालेको भन्ने किम्बदन्ती पाइन्छ । यस किसिमको अनौठो र रोमाञ्चक प्रस्तुतिकासाथ हुने यो जात्रा थानकोटको नितान्त मौलिक सांस्कृतिक पहिचान हो ।

भगवान आदिनाराणबाट भ्यागुतोे रुप धारण गरेर भक्तजनको रक्षा गरेकाले यो जात्राको क्रममा भ्यागुतोेको प्रमुख भूमिका रहने गरेको पाइन्छ । नरभक्षी राक्षसको अन्यायबाट सारा गाउँबासीलाई मुक्ति दिलाएकाले उनै भ्यागुतोेकै सम्झना र सम्मानमा नित्य चोखोकासाथ चौरासी व्यञ्जन भोजन तयार गरी भ्यागुतोेलाई भात खुवाएर यो जात्रा मान्ने परम्परा रहेको छ । भ्यागुतोेलाई भात खुवाउने विषयको बेग्लै आलेखमा चर्चा हुनेछ ।

आजभोली यो जात्रालाई ‘राँगा टाउको लुकाउने जात्रा’ भनिए तापनि भ्यागुतोे रुपी आदिनारायणको आदर र सम्मान गरिएको पर्वको रुपमा पनि लिन सकिन्छ ।

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम

अतिक्रमित संरचना हटाउन गृहको कडा निर्देशन: सुरक्षा प्रबन्ध मिलाउन देशभरका सीडीओलाई परिपत्र

चन्द्रागिरि नगरपालिका वडा नं १० द्वारा कफी तालिम सम्पन्न

प्रहरीले  ८ दिनमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार बढी व्यक्ति पक्राउ

जलजला जिप दुर्घटना: मृतकको संख्या २० पुग्यो

चन्द्रागिरि पत्रकार संघद्वारा पत्रकार श्रेष्ठका दिवंगत पिताप्रति श्रद्धाञ्जलि व्यक्त