काठमाडौँ । चन्द्रागिरिका गणेश बखती रियालिटी शो “एक्टिङ स्टार”को टप ८ मा प्रवेश गर्न सफल भएका छन् ।
नेपालमा पहिलो पटक सुरु भएको अभिनय कलामा आधारित रियालिटी शो “एक्टिङ स्टार” मा नेपाली रंगमञ्चका वरिष्ठ व्यक्तित्वहरू निर शाह, ऋचा घिमिरे र अनुप बराल जजको रूपमा रहेका छन् ।
सुरुवातमा ५ सय भन्दा बढी प्रतिस्पर्धीहरूले डिजिटल अडिसनमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए भने फिजिकल अडिसन हुँदै जजहरूको सूक्ष्म मूल्याङ्कनबाट छानिएका कलाकारहरूले विभिन्न चरण पार गर्दै टप २० वाइल्डकार्ड इन्ट्री हुँदै टप १० सम्म आइपुग्दा प्रतिस्पर्धा झनै रोचक र चुनौतीपूर्ण बन्दै गएको थियो ।
यहि क्रममा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकका स्थायी बासिन्दा गणेश बखती रियालिटी शो “एक्टिङ स्टार”को टप ८ मा प्रवेश गर्न सफल भएका हुन् ।
टप ८ मा प्रवेश गरेपछि थप चुनौती र प्रतिस्पर्धा बढ्ने र भोटको समेत आवश्यकता हुने भएकोले सम्पूर्ण चन्द्रागिरि नगरबासीहरू तथा सम्पूर्ण शुभचिन्तकहरूमा आगामी यात्राका लागि साथ सहयोग गरिदिन बखतीले अनुरोध समेत गरेका छन् ।
गाउँको साधारण परिवेशबाट अभिनयको संसारतर्फ लगनशीलता र मेहनतका साथ अघि बढेका बखतीले शुरुदेखि नै आफ्नो भिन्न प्रस्तुति, भावनात्मक अभिनय र गहिरो आत्मविश्वासका कारण निर्णायक तथा दर्शकको मन जित्दै आएका छन् ।
एपी वान टेलिभिजन र ओएसआर रियालिटीमा एकसाथ प्रसारणमा हुन थालेको रियालिटी शो “एक्टिङ स्टार” अबदेखि बिहीबार राती ९ बजे नियमित प्रसारणमा आउनेछ ।