काठमाडौँ । १८ वर्षदेखि ३५ वर्ष सम्मकालाई युवा मान्नेगरि सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेको छ ।
यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष कायम रहेको थियो भने हाल जारी गरिएको नयाँ युवा नीतिमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई “युवा मानिनेछ” भनेर उल्लेख छ ।
२०७८ सालमा गरिएको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको सङ्ख्या ४२.५६ प्रतिशत थियो भने अब नयाँ युवा नीति अनुसारको युवाको जनसंख्या निकाल्न जनगणना गरिने बताइएको छ ।
बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ बर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।
उसो त संयुक्त राष्ट्र संघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ । त्यस्तै, भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ ।
राष्ट्रिय युवा परिषद्ले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानूनी रूपमा भने १६ देखि ४० वर्ष नै हुने भएकोले “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्ने जनाएको छ ।
प्रचलित प्रावधान अनुसार प्रत्येक पाँच–पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० वर्षपछि नीति संशोधन गरिएको हो ।