काठमाडौँ । थानकोट बक्सिङ क्लबले सी.बी.सी. ( CBC) फाईट नाईट २०८२ को आयोजना गर्ने भएको छ ।
थानकोट बक्सिङ क्लबको मुख्य आयोजना तथा नेपाल बक्सिङ फेडरेशन, चन्द्रागिरि बक्सिङ एसोसिएसन र चुन्देवी स्पोर्ट्स क्लबको सह-आयोजनामा यहि भाद्र २९ गते हुने “सि.बि.सि. फाईट नाईट” प्रतियोगिता (AIBA) र नेपाल बक्सिङ संघको नियमानुसार खेलाइने भएको हो ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू ३ मिनेटका ५ राउण्ड तथा ३ मिनेटका ३ राउण्ड हुनेछन् भने प्रत्येक राउण्डको बीचमा १ मिनेटको आराम दिईनेछ ।
विभिन्न तौल समूहमा खेलाइने उक्त बक्सिङ प्रतियोगितामा सहभागी हुन चाहने महिला तथा पुरुष खेलाडीहरूको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
त्यस्तै, प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले अनिवार्य रूपमा निलो र रातो ड्रेस तथा अन्य सामाग्रीहरू आफैले व्यवस्था गर्नुपर्ने, यातायात खर्च खेलाडी तथा प्रशिक्षक स्वयंले व्यहोर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
साथै, प्रत्येक क्लबबाट एक तौलमा १ जना मात्रै खेलाडी सहभागी गराउने, भाद्र २८ गतेसम्म सम्पूर्ण खेलाडीहरूको नाम दर्ता गरिसक्नुपर्नेछ भने खेलाडीहरू भाद्र २९ गते खेलस्थलमा आईपुग्नुपर्ने बताइएको छ ।
सहभागी हुन चाहने प्रत्येक खेलाडीहरूले २ प्रति पासपोर्ट साईजको फोटो र जन्मदर्ता खुल्ने सक्कल प्रमाणपत्र ल्याउनुपर्ने, अनिवार्य रूपमा बक्सर रिकर्ड बूक ल्याउनुपर्ने साथै बक्सर रिकर्ड नेपाल बक्सिङ संघबाट २ सय रुपैयाँ शुल्क तिरेर लिन सकिने आयोजक संस्थाका अध्यक्ष कविन्द्र महर्जनले जानकारी दिएका छन् ।
चन्द्रागिरि नगरपालिकाको वडा नं १ दहचोकस्थित टनेल हाईट रेस्ट्रोमा हुने औपचारिक प्रतियोगिता हुनुअघि साँझ ६ बजेदेखि ८ बजेसम्म तौल तथा मेडिकल जाँच हुने बताइएको छ ।