काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकका प्रावधान संशोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
प्याब्सन लगायतका संस्थाहरूले कम्पनी ऐन अनुसारका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग राख्दै आन्दोलनका कार्यक्रमअन्तर्गत खबरदारी सभा, स्कुल बसमा प्रदर्शन र १८ भदौमा पुनः सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
निजी विद्यालय सञ्चालकहरूले शिक्षा विधेयकमा भएका प्रावधान संशोधन नभए १८ भदौपछि अनिश्चितकालसम्मका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने प्रावधान, विद्यालयले उत्पादन नगर्ने सामग्री (पोशाक, किताब, यातायात, खाना–खाजा) अनिवार्य गर्ने व्यवस्था लगायतका धाराहरू खारेज गर्नुपर्ने माग गरिएको छ । साथै छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने र हाल कायम विभेदकारी प्रावधानहरू खारेज गर्नुपर्ने मागसमेत राखिएको छ ।
संयुक्त आन्दोलनका कार्यक्रम अन्तर्गत १३ भदौमा जिल्ला सदरमुकाम र काठमाडौँ उपत्यकामा खबरदारी सभा गर्ने, १६ भदौमा देशभर स्कुल बसमा कालो झण्डा र ब्यानरसहित र्याली प्रदर्शन गर्ने, १८ भदौमा पुनः बृहत खबरदारी सभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।