काठमाडौं । राष्ट्रिय लाखे नाच प्रदर्शनीमा भष्मासुर नाच (नागचा नृत्य) समेत प्रस्तुत हुने भएको छ ।
पछिल्लो समय निक्कै नै प्रशंसा र लोकप्रियता बटुलिरहेको (नागचा नृत्य) नागचा प्याखँ भष्मासुर र महादेवको रोचक कथामा आधारित नृत्य हो ।
पौराणिक मान्यता अनुसार भष्मासुरले महादेवको कठोर तपस्या गरी महादेवलाई प्रशन्न गरी वरदान मागेको थियो । त्यो वरदान थियो जसको टाउकोमा भष्मासुरले छुन्छ त्यो त्यही क्षणमा भष्म हुने र त्यो वरदानको शक्तिको परीक्षण गर्न उसले महादेवकै टाउको छुन खोज्छ ।
महादेवबाट वरदान प्राप्त गरेका भष्मासुरले महादेवलाई नै लखेट्छन् र महादेव डरले भाग्छन् । त्यही बेला विष्णु भगवानले मोहिनीको रूप धारण गरी भष्मासुरलाई मायामोहमा फसाँछन् । मोहिनीको मोहमा फसेको भष्मासुरले मोहिनीले नाचे झैं नाच्दै गर्दा आफ्नै टाउको छुन्छ र भष्म हुन्छन् ।
यहि कथामा आधारित भष्मासुर नाच (नागचा नृत्य) लाई भाद्र १४ गते चन्द्रागिरि नगरपालिका वडा नं ९ मच्छेगाउँको भलिबल ग्राउण्डमा हुने राष्ट्रिय लाखे नाच प्रदर्शनीमा देखाइने भएको नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् ।
उक्त नाच प्रदर्शनीमा मोहिनीको मोहक नृत्यमा नृत्य गरेर सामाजिक सञ्जाल लगायत सर्वत्र चर्चा र प्रशंसा पाइरहेकी प्रजीता श्रेष्ठ मोहिनीको भूमिकामा नृत्य गर्न चन्द्रागिरि नगरपालिका आउने भएकी छिन् ।