काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान सम्बन्धी निर्णयको कार्यान्वयनमा जटिलता देखिएको छ ।
संघीय संरचना अन्तर्गत कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक प्राधिकार प्राप्त गरेको स्थानिय तहको कार्यविधि, निर्देशिका अनुसार चन्द्रागिरि नगरपालिकाले २०८१ साल चैत्र २८ गते शिक्षक दरबन्दी मिलान सम्बन्धी गरेको निर्णय हालसम्म कार्यान्वयन हुन नसक्दा कतिपय विद्यालयको शैक्षिक गतिविधिमा समस्या उत्पन्न भएको छ ।
नेपाल सरकारको नीति अनुरुप समग्र चन्द्रागिरि नगरपालिकामा प्राथमिक तह अन्तर्गत १ सय ३८ जना मात्रै शिक्षकको दरबन्दी हुनुपर्ने भएपनि विभिन्न राजनैतिक लगायत कारणले विगतमा २ सय बढी संख्यामा कार्यरत रहेकोमा हाल अझै १ सय ६६ जना शिक्षकहरू सोही दरबन्दी अन्तर्गत स्थानिय स्कुलहरूमा पढाइरहेका छन् ।
शिक्षक दरबन्दी मिलानको मर्म अनुसार कुनै स्कुलमा विद्यार्थीको संख्या बढी रहेको छ भने कम विद्यार्थी संख्या भएको स्कुलबाट शिक्षक झिकाइ बढी विद्यार्थी संख्या भएको स्कुलमा दरबन्दी थप गरि मिलान गर्ने गरिन्छ ।
चन्द्रागिरि नगरपालिकाले पनि सोही बमोजिम विद्यार्थी संख्या कम भएका चुनदेवी मा.वि., विष्णुदेवी मा.वि., मंगलमा.वि., विद्या मन्दिर मा.वि. तथा जनविकास मा.वि.का शिक्षकहरू झिकाइ विद्यार्थी संख्या बढी भएका कंकाली मा.वि., प्रभात मा.वि. विष्णुदेवी शिक्षा सदन मा.वि., बलम्बु मा.वि. चुनदेवी आधारभूत विद्यालय तथा भीम मा.वि.मा दरबन्दी थप गरि शिक्षक मिलान गर्ने निर्णय गरेको थियो ।
चन्द्रागिरि नगरपालिकाको निर्णय अनुसार चुनदेवी मा.वि.बाट ३ ओटा, विष्णुदेवी मा.वि.बाट १, मंगल मा.वि.बाट १, विद्यामन्दिर मा.वि.बाट १ तथा जनविकास मा.वि.बाट १ गरि जम्मा ७ ओटा दरबन्दी झिकेर कंकाली मा.वि.मा २ ओटा, प्रभात मा.वि.मा १, विष्णुदेवी शिक्षा सदन मा.वि.मा १, बलम्बु मा.वि.मा १, चुनदेवी आधारभूत विद्यालयमा १ तथा भीम मा.वि.मा १ ओटा गरि ७ ओटा दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।
दरबन्दी मिलान अन्तर्गत नगरले गरेको निर्णय मुताबिक झिकाइएका शिक्षकहरू थप गरिएको विद्यालयमा समयमै हाजिर हुन जानुपर्नेमा हालसम्म जम्मा ४ जना शिक्षकहरूले मात्रै हाजिरी जनाएको र ३ जना शिक्षकहरू अझै हाजिर हुन आनकानी गरिरहेको पाइएको छ ।
चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार यो रिपोर्ट तयार पारुन्जेलसम्म चुन्देवी मा.वि.बाट प्रभात मा.वि.मा सीता कुमारी भण्डारी, चुन्देवीबाटै कंकाली मा.वि.मा उषा पोखरेल, मंगल मा.वि.बाट चुन्देवी आधारभूत विद्यालयमा अजिता ढकाल र विष्णुदेवी मा.वि.बाट विष्णुदेवी शिक्षा सदन मा.वि.मा वसन्त बस्नेतले हाजिरी जनाएका छन् ।
यद्यपि, चुन्देवी मा.वि.बाट भीम मा.वि.मा जानुपर्ने तारा सिंह, विद्यामन्दिर मा.वि.बाट बलम्बु मा.वि.मा जानुपर्ने पवित्रा भुषाल र जनविकास मा.वि.बाट कंकाली मा.वि.मा जानुपर्ने आशा पुनले अझै सम्बन्धित विद्यालयमा हाजिरी जनाएका छैनन् ।
दरबन्दी मिलान गरि पठाउने निर्णय गरिएका शिक्षकहरू जानुपर्ने विद्यालयमा हाजिर हुन नगइ तलब भत्ता भने हाजिर हुन नगएकै विद्यालयबाट बुझिरहेका छन् ।
दरबन्दी मिलान अन्तर्गत उल्लेख गरिएका विद्यालयहरू मध्ये चुन्देवी माध्यामिक विद्यालयमा लामो समयसम्म हालका नगरपमुख घनश्याम गिरीले समेत अध्यापन गरेका थिए ।